देवघाटमा ‘कालीगण्डकी करिडोर केन्द्रित पशुपंक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन

देवघाट : तनहुँको देवघाट क्षेत्रमा दूध उत्पादन वृद्धि तथा पशुपालनलाई व्यावसायिक र आधुनिक बनाउने उद्देश्यले ‘कालीगण्डकी करिडोर केन्द्रित पशुपक्षी तथा मत्स्य उत्पादन प्रवर्द्धन कार्यक्रम’ सञ्चालन गरिएको छ । भेटेरीनरी अस्पताल तथा पशुसेवा कार्यालय तनहुँले चालु आर्थिक वर्षमा २० लाख रुपैयाँ बराबरका विभिन्न कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यालयको ९० प्रतिशत तथा गोहीटार कृषि सहकारी संस्था, देवघाटको १० प्रतिशत साझेदारीमा सञ्चालन गरिएको उक्त कार्यक्रमले स्थानीय कृषकमा उत्साह थपेको छ । कार्यक्रममार्फत पशुपालनलाई व्यवस्थित, उत्पादनमुखी र व्यवसायिक बनाउने लक्ष्य लिइएको कार्यालयका प्राविधिक रुद्रसिंह ठकुरीले जानकारी दिए ।
कार्यक्रमअन्तर्गत सहकारी मार्फत तीन वटा ठूला नयाँ गोठ निर्माण गरिएको छ भने चार वटा साना नयाँ गोठ निर्माण गरिएका छन् । यसैगरी, १९ वटा पुराना गोठ मर्मत गरी सुधार गरिएको छ । गोठ सुधारसँगै पशुपालनका लागि आवश्यक वातावरण निर्माण हुँदा कृषकलाई सहज भएको बताइएको छ ।
व्यावसायिक गाईभैँसी पालनसम्बन्धी तालिम सञ्चालन गरी कृषकलाई आधुनिक पशुपालन, पशुको आहार व्यवस्थापन, रोग नियन्त्रण तथा स्वच्छ दूध उत्पादनबारे व्यावहारिक ज्ञान प्रदान गरिएको ठकुरीले जानकारी दिए ।
पशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सञ्चालन गरिएको स्वास्थ्य शिविरमार्फत गाईभैँसीका लागि आवश्यक भिटामिन, मिनरल तथा जुकाको औषधि वितरण गरिएको उनले बताए । नियमित स्वास्थ्य परीक्षण र औषधि वितरणले पशुमा रोगको जोखिम कम हुनुका साथै उत्पादन क्षमतामा वृद्धि हुने विश्वास गरिएको छ ।
दुग्ध व्यवसायलाई थप व्यवस्थित बनाउन सहकारीमा आबद्ध दुग्ध व्यवसायी तथा गाईभैँसी पालक कृषकलाई ७० वटा ‘स्टेनलेस स्टिल’का दूध बोक्ने क्यान वितरण गरिएको छ भने गाईभैँसीलाई आरामदायी राख्नका लागि विशेष म्याटसमेत उपलब्ध गराइएको छ । ठकुरीले कार्यक्रमले कृषकमा व्यावसायिक पशुपालनप्रति आकर्षण बढाएको बताउनुभयो । उहाँका अनुसार गोठ निर्माण, तालिम, पशु स्वास्थ्य सेवा तथा आवश्यक सामग्री वितरणले दूध उत्पादनमा सकारात्मक प्रभाव देखिन थालेको छ ।
‘कृषकलाई आधुनिक प्रविधिसहित व्यावसायिक पशुपालनतर्फ लैजान कार्यक्रम निकै प्रभावकारी बनेको छ’, उउनले भने, ‘स्वच्छ दूध उत्पादन र पशुको स्वास्थ्य सुधारमा कार्यक्रमले महत्त्वपूर्ण योगदान पु¥याएको छ ।’
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker