विविध कार्यक्रमसहित २१२औं भानु जयन्ती मनइने

भानु : आदिकवि भानुभक्त आचार्यको २१२औं जन्मजयन्ती यस वर्ष तनहुँको भानु नगरपालिका–४ स्थित चुँदीरम्घामा तीन दिने विशेष कार्यक्रममार्फत मनाइने भएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिका अध्यक्ष रामकुमार श्रेष्ठका अनुसार असार २७, २८ र २९ गते कविता प्रतियोगिता, रामायण वाचन प्रतियोगिता, काव्य–सन्ध्या, प्रभातफेरी तथा औपचारिक कार्यक्रम आयोजना गरिनेछ।
भानुभक्तको जन्मस्थललाई राष्ट्रिय गौरवको धरोहरका रूपमा स्थापित गर्ने उद्देश्यसहित समितिले कार्यक्रम तय गरेको हो । यही तयारीका सन्दर्भमा समितिको कार्यालय चुँदीरम्घामा अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न बैठकमा भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी, वडाध्यक्षहरू, वरिष्ठ लेखा अधिकृत नवराज लौडारी लगायतको उपस्थिति रहेको कार्यकारी अधिकृत एवं सदस्यसचिव कृपाहरी लौडारीले जानकारी दिए ।
नगर प्रमुख त्रिपाठीले राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासोका कारण भानुभक्तको जन्मस्थललाई सप्तधामका रूपमा विकास गर्ने योजना अगाडि बढाइएको बताए । उक्त कार्यक्रममार्फत भानुभक्तको योगदानको स्मरण गर्दै साहित्यिक चेतना अभिवृद्धि गर्नुका साथै युवापुस्तालाई प्रेरणा दिने उद्देश्य लिइएको आयोजक पक्षको भनाइ छ ।










