सम्पादकीय : गाउँमै स्वास्थ्य सेवा – पूर्वाधारसंगै विश्वासको विस्तार

भौतिक पूर्वाधारको विकासलाई विकासको आधार मानिन्छ । तर सडक, पुल वा भवन निर्माण मात्र विकासको अन्तिम लक्ष्य होइन । ती पूर्वाधारले नागरिकको जीवनमा कति सहजता ल्याए, सेवा प्रवाहलाई कति प्रभावकारी बनाए र जीवनस्तरमा कति सकारात्मक परिवर्तन गरे भन्ने पक्ष अझ महत्वपूर्ण हुन्छ । तनहुँको भानु नगरपालिका–३ खहरेमा आधुनिक स्वास्थ्य चौकी सञ्चालनमा आउनु यस्तै महत्व बोकेको उपलब्धि हो । ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा अझै पनि चुनौतीपूर्ण विषय बनेको छ । सामान्य ज्वरो, चोटपटक, गर्भवती महिलाको नियमित परीक्षण वा बालबालिकाको उपचारका लागि समेत नागरिकले घण्टौं यात्रा गर्नुपर्ने अवस्था धेरै ठाउँमा कायमै छ । समयमै उपचार नपाउँदा सामान्य रोग पनि जटिल बन्ने, आर्थिक भार बढ्ने र कतिपय अवस्थामा अकालमै ज्यान गुमाउनुपर्ने दुःखद अवस्था देखिन्छ । यस्तो अवस्थामा गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुनु कुनै सामान्य उपलब्धि होइन ।
भानु स्वास्थ्य चौकी सञ्चालनमा आएपछि तनहुँ, गोरखा र लमजुङका सीमावर्ती क्षेत्रका हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । विशेषगरी भानु नगरपालिकाका आठवटै वडा, गोरखाको पालुङटार नगरपालिका र लमजुङको राइनास नगरपालिकाका बासिन्दाले अब सामान्य स्वास्थ्य सेवाका लागि टाढाका सहर धाउनुपर्ने बाध्यता धेरै हदसम्म हट्नेछ । यसले समय, खर्च र दुःख तीनै कुराको बचत गर्नेछ । स्वास्थ्य सेवा केवल उपचारसँग मात्र सम्बन्धित हुँदैन । यसले नागरिकको आत्मविश्वास, सामाजिक सुरक्षा र समग्र जीवनको गुणस्तरसँग पनि प्रत्यक्ष सम्बन्ध राख्छ । गाउँमै स्वास्थ्य संस्था सक्षम हुँदा गर्भवती महिला, ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी सबैभन्दा बढी लाभान्वित हुन्छन् । नियमित खोप, मातृ तथा शिशु स्वास्थ्य सेवा, प्रयोगशाला सेवा र आधारभूत उपचार सहज भएपछि रोगको पहिचान र उपचार दुवै प्रभावकारी बन्नेछन् ।
यस स्वास्थ्य चौकीको अर्को महत्वपूर्ण पक्ष स्थानीय समुदायको योगदान हो। आधुनिक भवन निर्माणका लागि स्थानीय छ परिवारले करोडौं रुपैयाँ मूल्य बराबरको जग्गा निःशुल्क उपलब्ध गराउनु समाजसेवाको उत्कृष्ट उदाहरण हो । अहिले समाजमा निजी स्वार्थ हाबी हुँदै गएको चर्चा भइरहेका बेला स्वास्थ्य जस्तो सार्वजनिक हितको क्षेत्रमा व्यक्तिगत सम्पत्ति त्याग्नु अनुकरणीय कार्य हो । यस्ता नागरिककै योगदानले विकासका धेरै काम सम्भव भएका छन् । स्थानीय तहले उनीहरूको सम्मान गर्नु पनि उत्तिकै सकारात्मक सन्देश हो । यसले समाजमा सहयोग र सहभागिताको संस्कृतिलाई थप बलियो बनाउँछ । डुम्रे–बेँसीसहर सडकखण्डसँगै स्वास्थ्य चौकी हुनु अर्को महत्वपूर्ण पक्ष हो । यो सडकमा दैनिक सयौं सवारीसाधन आवतजावत गर्छन् । दुर्घटना हुँदा घाइतेलाई तत्काल प्राथमिक उपचार उपलब्ध गराउन सकिने अवस्था सिर्जना हुनु आफैंमा ठूलो उपलब्धि हो । दुर्घटनापछि प्रारम्भिक उपचार समयमै हुन सके धेरैको ज्यान बचाउन सकिन्छ । त्यसैले यो स्वास्थ्य चौकीले स्थानीय नागरिक मात्र होइन, यात्रुका लागि पनि सुरक्षा केन्द्रको भूमिका निर्वाह गर्नेछ ।
तर भवन बनेर मात्र स्वास्थ्य सेवा गुणस्तरीय बन्दैन । भवनभित्र आवश्यक जनशक्ति, औषधि, उपकरण, प्रयोगशाला सेवा र नियमित व्यवस्थापन पनि उत्तिकै आवश्यक हुन्छ । धेरै ठाउँमा सुविधा सम्पन्न भवन निर्माण भए पनि चिकित्सकको अभाव, औषधिको कमी वा उपकरण सञ्चालन नहुँदा नागरिकले अपेक्षित सेवा पाउन सकेका छैनन् । भानु स्वास्थ्य चौकीमा यस्तो अवस्था आउन दिनु हुँदैन । यहाँ आवश्यक स्वास्थ्यकर्मी, पर्याप्त औषधि, आधुनिक उपकरण र नियमित बजेट व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्छ । स्थानीय सरकारले पनि भवन उद्घाटनमै सीमित नभई सेवाको गुणस्तर सुधारमा निरन्तर ध्यान दिनुपर्छ । स्वास्थ्य सेवा नागरिकको आधारभूत अधिकार हो । त्यसैले पूर्वाधार निर्माणसँगै सेवा विस्तार, जनशक्ति व्यवस्थापन र नियमित अनुगमनलाई समान महत्व दिन आवश्यक छ । स्वास्थ्यकर्मीलाई सेवामुखी वातावरण र नागरिकलाई सहज पहुँच सुनिश्चित गर्न सके मात्र यस्ता पूर्वाधारको वास्तविक उद्देश्य पूरा हुन्छ ।
नेपालले ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य हासिल गर्ने हो भने गाउँमै गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा पु¥याउनु अनिवार्य छ । नागरिक आधारभूत सेवाका लागि सहर धाउनुपर्ने अवस्था रहिरहँदा समृद्धिको सपना पूरा हुन सक्दैन । त्यसैले भानु स्वास्थ्य चौकीजस्ता पूर्वाधार अन्य स्थानीय तहका लागि पनि अनुकरणीय नमूना बन्नुपर्छ । भानु–३ खहरेमा आधुनिक स्वास्थ्य चौकी सञ्चालनमा आउनु एउटा भवन उद्घाटन मात्र होइन, ग्रामीण स्वास्थ्य सेवामा नयाँ आशा जागेको संकेत हो । अब आवश्यक छ– यसलाई दक्ष जनशक्ति, पर्याप्त स्रोतसाधन र प्रभावकारी व्यवस्थापनबाट अझ सक्षम बनाउने । तब मात्र नागरिकले गाउँमै गुणस्तरीय स्वास्थ्य सेवा पाउने अधिकार व्यवहारमा स्थापित हुनेछ र विकासको वास्तविक अनुभूति पनि हुनेछ ।










