वन संरक्षणमा उत्कृष्ट तनहुँका सामुदायिक तथा कबुलियती वन सम्मानित

दमौली । डिभिजन वन कार्यालय तनहुँले वन दिवस २०८२ को अवसरमा जिल्लाका उत्कृष्ट सामुदायिक तथा कबुलियती वन उपभोक्ता समूहलाई नगद पुरस्कार र प्रमाणपत्रसहित सम्मान गरेको छ।

वन संरक्षण, सम्वर्द्धन तथा व्यवस्थापनमा उत्कृष्ट कार्य गर्ने वन उपभोक्ता समूह छनोट गरी पुरस्कार प्रदान गरिएको सहायक वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो। कार्यालयको २०८३ असार २२ गते बसेको २४१औँ बैठकको निर्णयअनुसार उत्कृष्ट वन समूह छनोट गरिएको हो।

सामुदायिक वनतर्फ देवघाट गाउँपालिका–५ स्थित सीता सामुदायिक वन उपभोक्ता समिति प्रथम हुँदै रु. ७ हजार र प्रमाणपत्र प्राप्त गरेको छ। व्यास नगरपालिका–६ को सपनकोट ओडारे सामुदायिक वन उपभोक्ता समिति दोस्रो हुँदै रु. ५ हजार र प्रमाणपत्र तथा शुक्लागण्डकी नगरपालिका–४ को तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वन उपभोक्ता समिति तेस्रो हुँदै रु. ३ हजार र प्रमाणपत्र प्राप्त गरेको छ।

त्यस्तै, कबुलियती वनतर्फ शुक्लागण्डकी नगरपालिका–१० को लामितारा पाखामूल कबुलियती वन समूह प्रथम हुँदै रु. ८ हजार र प्रमाणपत्र प्राप्त गरेको छ। शुक्लागण्डकी नगरपालिका–६ को लालिम बगर कबुलियती वन समूह दोस्रो हुँदै रु. ६ हजार र प्रमाणपत्र तथा ऋषिङ गाउँपालिका–३ को बाबुराङ्दी कबुलियती वन समूह तेस्रो हुँदै रु. ४ हजार र प्रमाणपत्रबाट सम्मानित भएको छ।

डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटका अनुसार सामुदायिक तथा कबुलियती वनमार्फत वन क्षेत्रको संरक्षण, सम्वर्द्धन र व्यवस्थापनमा स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेकाले उनीहरूलाई प्रोत्साहित गर्न पुरस्कारको व्यवस्था गरिएको हो।

पुरस्कार वितरण कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरै, सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मीलगायतले शुभकामना व्यक्त गर्नुभएको सहायक वन अधिकृत अरुण पराजुलीले जानकारी दिनुभयो। डिभिजन वन कार्यालयले आगामी दिनमा पनि उत्कृष्ट वन उपभोक्ता समूहलाई प्रोत्साहन गर्ने यस्ता कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

यसअघि तनहुँका केही वन समूह तथा निजी वनधनीले राष्ट्रियस्तरका पुरस्कारसमेत प्राप्त गरिसकेका छन्। म्याग्दे गाउँपालिका–२ स्थित उमाचोक सामुदायिक वन उपभोक्ता समूह यस वर्षको प्रतिष्ठित गणेशमान सिंह सामुदायिक वन राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ।

त्यस्तै, म्याग्दे गाउँपालिका–२ कै डुनडाँडा कबुलियती वन समूह ‘क’ कबुलियती वन राष्ट्रिय पुरस्कार तथा बन्दीपुर गाउँपालिका–१ का मानकाजी श्रेष्ठको निजी वन निजी वन राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेको वन तथा भू–संरक्षण कार्यालय तनहुँका प्रमुख दिवाकर पौडेलले जानकारी दिनुभयो।

स्थानीय समुदायको सक्रिय सहभागितामा वन संरक्षण, जैविक विविधताको संरक्षण तथा वन स्रोतको दिगो उपयोगमा जिल्लाका वन उपभोक्ता समूहले उल्लेखनीय योगदान दिँदै आएका छन्। राष्ट्रिय तथा जिल्लास्तरका पुरस्कारले वन संरक्षणमा समुदायको सहभागिता अझ बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker