बन्दीपुर अस्पतालमा सेवा विस्तार : थाइराइड परीक्षणदेखि निःशुल्क यातायातसम्म

बन्दीपुर : तनहुँको बन्दीपुर अस्पतालले सेवाग्राहीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले स्वास्थ्य परीक्षण तथा यातायात सेवा विस्तार गर्ने भएको छ । अस्पतालले भदौ १ गतेदेखि थाइराइडसहित विभिन्न विशिष्टीकृत ल्याब परीक्षण सेवा सुरु गरेको छ भने अस्पतालसम्म आउन–जान सेवाग्राहीको सहजताका लागि ई–भी माइक्रो गाडी सञ्चालन गर्ने तयारीसमेत गरेको छ ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकको निर्णयअनुसार भदौ १ गतेदेखि थाइराइड फङ्सन टेस्ट, भिटामिन–डी र भिटामिन–बी–१२ परीक्षण सेवा सञ्चालनमा ल्याइएको अस्पतालका प्रमुख अनिल गिरीले जानकारी गराए ।

उनका अनुसार थप चार प्रकारका परीक्षण सेवा पनि छिट्टै सुरु गर्ने तयारी भइरहेको छ । जसमा सिए–१२५, PSA, ß–hCG र Anti–TPO परीक्षण रहेका छन् । सिए–१२५ पाठेघरको मुखको क्यान्सरसम्बन्धी परीक्षणका रूपमा र पियसए प्रोस्टेटसम्बन्धी परीक्षणका रूपमा अस्पतालले उल्लेख गरेको छ ।

ल्याब परीक्षण सेवा विस्तार भएपछि बन्दीपुर तथा आसपासका क्षेत्रका सेवाग्राहीलाई सामान्य स्वास्थ्य परीक्षणका लागि अन्यत्र जानुपर्ने बाध्यता कम हुने अस्पतालको अपेक्षा छ । स्थानीय तहमै थप परीक्षण सुविधा उपलब्ध हुँदा समय र खर्च बचत हुनुका साथै स्वास्थ्य सेवामा पहुँचसमेत सहज हुने विश्वास गरिएको छ ।

डुम्रे–बन्दीपुर ई–भी सेवा

यस्तै, अस्पतालले स्वास्थ्य सेवाको पहुँच विस्तारसँगै सेवाग्राहीलाई अस्पतालसम्म पुग्न र फर्किन सहज बनाउन ई–भी माइक्रो गाडी भाडामा लिएर सञ्चालन गर्ने तयारी गरेको छ । विशेषगरी ज्येष्ठ नागरिक, गर्भवती महिला तथा अपाङ्गता भएका व्यक्तिलाई लक्षित गरी यातायात सेवा सञ्चालन गर्न लागिएको अस्पतालका प्रमुख डा. गिरीले जानकारी दिए ।

प्रस्तावित सेवाअनुसार दैनिक बिहान ७ बजे डुम्रेबाट बन्दीपुर अस्पताल आउने र बेलुकी ७ बजे बन्दीपुर अस्पतालबाट डुम्रेसम्म गाडी सञ्चालन हुनेछ । सेवाग्राहीको आवश्यकता र उपलब्धताअनुसार पृथ्वीराजमार्गमा बन्दीपुर गाउँपालिकाको दुवैतर्फको सीमासम्म सेवा पु¥याउने व्यवस्था गरिने भएको छ ।

दिनको समयमा करिब एक–एक घण्टाको अन्तरालमा गाडी सञ्चालन गर्ने योजना अस्पतालको छ। यातायात सेवामा ज्येष्ठ नागरिक, गर्भवती तथा अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सेवा दिइनेछ भने अन्य सेवाग्राहीका लागि तोकिएको भाडामा ५० प्रतिशत छुट उपलब्ध गराउने व्यवस्था गरिने अस्पतालले जनाएको छ ।

अस्पतालले उक्त सेवा सञ्चालनका लागि ई–भी माइक्रो गाडी भाडामा लिन दररेटसहितको प्रस्ताव माग गर्ने निर्णय गरेको छ। सेवा प्रदायकसँग सम्झौता गरी अस्पतालले मासिक रूपमा एकमुष्ठ भाडा रकम भुक्तानी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

स्वास्थ्य परीक्षण सेवा विस्तार र यातायात सुविधा थप गर्ने तयारीले बन्दीपुर अस्पताललाई स्थानीयस्तरमै सहज स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाका रूपमा विकास गर्न सहयोग पुग्ने अपेक्षा गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।

उनका अनुसार विशेषगरी अस्पतालसम्म पुग्न यातायातको समस्या रहेका ज्येष्ठ नागरिक, गर्भवती, अपाङ्गता भएका व्यक्ति तथा ग्रामीण क्षेत्रका सेवाग्राहीलाई नयाँ व्यवस्थाबाट प्रत्यक्ष लाभ पुग्ने गरी सेवा विस्तार गरिने छ । ल्याब परीक्षण र यातायात सेवा विस्तारको उद्देश्य सेवाग्राहीलाई उपचारका लागि सहज पहुँच, समयको बचत तथा स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्नु मुख्य उद्देश्य रहेको अध्यक्ष थापाले बताए ।

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker