आस्था, इतिहास र विश्वासको धरोहर : इशानेश्वर महादेव

जनक श्रेष्ठ/लमजुङ

लमजुङ : बिहानको उज्यालो पूर्ण रूपमा फैलिन नपाउँदै मध्यनेपाल नगरपालिका–७ करापुटारस्थित इशानेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको चहलपहल सुरु हुन्छ । कसैको हातमा दूध र बेलपत्र हुन्छ, कसैले पञ्चामृत बोकेका हुन्छन् भने कसैको मनमा सन्तान प्राप्ति र मनोकामना पूरा हुने विश्वास हुन्छ ।

वर्षभर दर्शनार्थीको आगमन भइरहने यस धार्मिकस्थलमा साउने सोमबार र महाशिवरात्रिका अवसरमा भने श्रद्धालुको विशेष घुइँचो लाग्ने गर्दछ । लमजुङको करापुटारमा अवस्थित इशानेश्वर महादेव मन्दिर धार्मिक आस्था, ऐतिहासिक महत्व र सांस्कृतिक विश्वास बोकेको महत्त्वपूर्ण तीर्थस्थलका रूपमा परिचित छ ।

विशेषगरी सन्तान प्राप्तिको कामना लिएर आउने भक्तजनको ठूलो विश्वासका कारण यो मन्दिर विशेष धार्मिक आस्थाको केन्द्र बनेको छ । शिव आराधनाको पुरानो परम्परा रहेको यस मन्दिरमा महाशिवरात्रिका अवसरमा रातभर जाग्राम बसेर ‘ठाडो बत्ती’ बाल्ने चलन छ । लामो समयसम्म सन्तान नभएका दम्पतीले श्रद्धापूर्वक ठाडो बत्ती बाल्दा सन्तान प्राप्त हुने तथा अन्य मनोकामना पूरा हुने धार्मिक विश्वासका कारण देशका विभिन्न स्थानबाट भक्तजन यहाँ आउने गरेका छन् ।

मन्दिरका पुजारी वामदेव सोतीका अनुसार इशानेश्वर महादेवप्रतिको भक्तजनको विश्वास निकै गहिरो छ । उहाँका अनुसार महाशिवरात्रिका अवसरमा यहाँ ठाडो बत्ती बाल्ने परम्परालाई विशेष महत्वका साथ पालना गरिन्छ । ‘सन्तान प्राप्त भएपछि महादेवलाई देखाउन पुनः आउने भक्तजन पनि धेरै हुनुहुन्छ’, उहाँ भन्नुहुन्छ । स्थानीय जनश्रुतिअनुसार इशानेश्वर महादेवको सम्बन्ध गोरखाका राजा कृष्ण शाहको कथासँग पनि जोडिन्छ । लामो समयसम्म सन्तान नभएका राजा कृष्ण शाहले महाशिवरात्रिका दिन यहाँ आएर ठाडो बत्ती बालेर पूजा गरेपछि पुत्र प्राप्त भएको र छोराको नाम रुद्र शाह राखिएको विश्वास गरिन्छ ।

तनहुँको बन्दीपुर गाउँपालिका–३ की सृजना पौडेलले सन्तान प्राप्तिको कामनासहित २०७५ सालको महाशिवरात्रिमा इशानेश्वर महादेवमा आएर ठाडो बत्ती बाल्नुभएको थियो । उहाँका अनुसार त्यसपछि २०७६ मंसिरमा छोरा जन्मिएको थियो । ‘मैले २०७५ सालमा शिवरात्रि पर्वमा आएर ठाडो बत्ती बालेकी थिएँ, त्यसपछि २०७६ मंसिरमा छोरा जन्मियो’, उहाँले बताउनुभयो । गोरखाकी विपना थापाको अनुभव पनि यस्तै छ। सन्तान प्राप्तिको कामना लिएर श्रीमान्सहित इशानेश्वर आउनुभएकी उहाँले महाशिवरात्रिका अवसरमा ठाडो बत्ती बाल्नुभएको थियो । पछि छोरा जन्मिएपछि उहाँ सन्तानसहित पुनः मन्दिर दर्शन गर्न आउनुभएको थियो ।

इशानेश्वर महादेव मन्दिरको इतिहास धार्मिक विश्वास र स्थानीय जनश्रुतिसँग गहिरोसँग जोडिएको छ । यस क्षेत्रको व्यवस्थित संरक्षण, प्रचार–प्रसार र विकासका लागि संस्थागत पहल हुँदै आएको इशानेश्वर क्षेत्र विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार इशानेश्वर महादेव मन्दिर क्षेत्रको विकास र व्यवस्थापन गर्ने उद्देश्यले विसं २०६५ मा इशानेश्वर महादेव मन्दिर क्षेत्र विकास समिति गठन गरिएको थियो । त्यसपछि ट्रस्ट समिति गठन गरी मन्दिरको प्रचार–प्रसार, संरक्षण तथा विकासका कामलाई अघि बढाउँदै आएको उहाँ बताउनुहुन्छ ।

उहाँका अनुसार इशानेश्वर महादेवको परिचय, इतिहास र धार्मिक महत्व समेटिएको पुस्तकसमेत प्रकाशन गरिएको छ । सरकारबाट समेत यस क्षेत्रको धार्मिक महत्वलाई समेटेर प्रचार–प्रसारमा सहयोग भएको उहाँ बताउनुहुन्छ । स्वस्थानी व्रतकथामा उल्लेख भएका धार्मिक प्रसङ्गसँग समेत इशानेश्वर क्षेत्रलाई जोडेर हेर्ने गरिएको घिमिरे बताउनुहुन्छ। सतीदेवीको अङ्ग पतन भएको स्थानका रूपमा यस क्षेत्रलाई धार्मिक आस्थासँग जोड्ने गरिएको उहाँको भनाइ छ । ‘इशानेश्वर क्षेत्र शिव र सतीको प्रेमको प्रतीकका रूपमा समेत विश्वास गरिदै आएको छ’, उहाँ भन्नुहुन्छ ।

‘पछि मानिसहरू यहाँ आएर वसोवास गर्न थाले । खेती गर्ने क्रममा शिवलिङ्ग भेटिएको विश्वास गरिन्छ । त्यसपछि इशानेश्वरको महिमा फैलिँदै गएको हो’, उहाँ भन्नुहुन्छ । इशानेश्वर महादेव मन्दिरको निर्माण विभिन्न कालखण्डमा हुँदै आएको छ । स्थानीय स्रोतका अनुसार १४१४ सालमा तत्कालीन लमजुङका राजा वीरनारायण शाहको पालामा मन्दिर निर्माण भएको विश्वास गरिन्छ । समयक्रममा विभिन्न राजा, स्थानीय समुदाय र सम्बन्धित निकायको सहयोगमा मन्दिर संरक्षण तथा विकासका काम हुँदै आएका छन्। २०७२ सालको भूकम्पबाट मन्दिरमा क्षति पुगेपछि पुरातत्व विभागको सहयोगमा पुरानै शैली कायम राख्दै पुनर्निर्माण गरिएको इशानेश्वर क्षेत्र विकास समितिका पूर्वअध्यक्ष रामचन्द्र घिमिरे बताउनुहुन्छ । उहाँका अनुसार पुरातत्व विभागको करिब रु एक करोड २० लाख ६८ हजार सहयोगमा मन्दिर पुनर्निर्माण गरिएको छ । मन्दिर परिसरमा गौरीशङ्कर मन्दिर र १०८ शिवलिङ्ग निर्माण गरिएको छ । घिमिरे भन्नुहुन्छ, ‘मन्दिरदेखि करिब साढे दुई सय मिटर माथिसम्म सिँढी निर्माण गर्ने योजना छ ।’

इशानेश्वर क्षेत्र विकास समितिका वर्तमान अध्यक्ष गुणराज घिमिरे मन्दिरको धार्मिक महत्वलाई अझ विस्तार गर्दै संरक्षण, प्रचार–प्रसार र थप पूर्वाधार विकासमा समितिले निरन्तर काम गर्दै आएको बताउनुहुन्छ । पुरातत्व विभागको सहयोगमा मन्दिर पुनर्निर्माण गरिएको र भक्तजनबाट प्राप्त सहयोग तथा चन्दाबाट पनि विभिन्न संरचना निर्माण तथा व्यवस्थापनका काम हुँदै आएको छ । उहाँका अनुसार मन्दिर क्षेत्रमा धार्मिक तथा सांस्कृतिक गतिविधिलाई व्यवस्थित गर्न भविष्यमा गुरुकुल सञ्चालन गर्ने योजना रहेको छ ।

स्थानीय धार्मिक मान्यताअनुसार इशानेश्वर क्षेत्रमै देउवा दुरा र पञ्चबहादुर गुरुङले गीतमार्फत ठाडो भाकाको सुरुआत गरेको विश्वास गरिन्छ । महाशिवरात्रिका अवसरमा हरेक वर्ष करिब डेढदेखि दुई लाखसम्म भक्तजन तथा दर्शनार्थी आउने गरेका छन् । साउने सोमबारमा पनि टाढाटाढाबाट भक्तजन आउने र विशेष पूजा–आराधना हुने गरेको उहाँ बताउनुहुन्छ ।

मध्यनेपाल नगरपालिकाका उपप्रमुख सीता गुरुङका अनुसार नगरपालिकाले इशानेश्वर महादेव मन्दिर क्षेत्रको प्रचारप्रसार, संरक्षण र विकासका लागि सहयोग गर्दै आएको छ । ‘इशानेश्वर महादेव मन्दिरको धार्मिक तथा पर्यटकीय विकासका लागि नगरपालिकाको तर्फबाट आवश्यक सहयोग गर्दै आएका छौँ । यस क्षेत्रलाई धार्मिक पर्यटनको आकर्षक गन्तव्यका रूपमा विकास गर्ने प्रयास भइरहेको छ’, गुरुङ भन्नुहुन्छ । उहाँका अनुसार नगरपालिकाले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय उत्पादनको बजारीकरणलाई समेत प्राथमिकता दिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्व बोकेको इशानेश्वर महादेव मन्दिरको संरक्षण, प्रचारप्रसार र योजनाबद्ध विकास गर्नसके यो क्षेत्र धार्मिक पर्यटनको महत्त्वपूर्ण गन्तव्यका रूपमा अझ स्थापित हुनसक्ने देखिन्छ । रासस

 

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker