तनहुँमा एक वर्षमा ४७ वन्यजन्तुको उद्धार

दमौली : डिभिजन वन कार्यालय तनहुँले गत आर्थिक वर्ष २०८२/८३ मा जिल्लाका विभिन्न स्थानबाट ४७ वटा वन्यजन्तुको उद्धार गरेको छ । मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरण तथा जैविक विविधता संरक्षण अभियानअन्तर्गत बस्तीमा छिरेका, घाइते भएका तथा अप्ठ्यारोमा परेका वन्यजन्तुको उद्धार गरिएको डिभिजन वन कार्यालय तनहुँका प्रमुख मनोज रानाभाटले जानकारी दिए ।
डिभिजन प्रमुख रानाभाटका अनुसार उद्धार गरिएका ४७ वन्यजन्तुमध्ये ४२ वटा जिउँदो, एउटा घाइते र चार वटा मृत अवस्थामा फेला परेका थिए । जिउँदो उद्धार गरिएका वन्यजन्तुको प्राथमिक स्वास्थ्य परीक्षण गरी अवस्था सामान्य भएपछि सुरक्षित प्राकृतिक वासस्थानमा छाडिएको उनले बताए ।
कार्यालयका अनुसार उद्धार गरिएका वन्यजन्तुमध्ये सबैभन्दा धेरै विभिन्न प्रजातिका २७ वटा सर्प रहेका छन् । त्यसैगरी चार वटा अजिङ्गरको समेत उद्धार गरिएको छ । एक वर्षको अवधिमा चार वटा चितुवा फेला परेकामा दुई वटा जिउँदो, एउटा घाइते र एउटा मृत अवस्थामा रहेका थिए ।
त्यस्तै, छ वटा मृग उद्धार गरिएकामा पाँच वटा जिउँदो र एउटा मृत अवस्थामा फेला परेका थिए । तीन वटा भार्से, एउटा चरिबाघ र एउटा गिद्धको जिउँदै उद्धार गरिएको डिभिजन प्रमुख रानाभाटले जानकारी दिए । सोही अवधिमा एउटा स्याल मृत अवस्थामा फेला परेको थियो ।
बस्ती तथा सहरी क्षेत्रमा वन्यजन्तु देखा पर्ने क्रम बढेसँगै स्थानीयवासीले समयमै वन कार्यालयलाई खबर गर्ने क्रम पनि बढेको कार्यालयले जनाएको छ । स्थानीयको सूचना र सहकार्यका कारण वन्यजन्तुको उद्धार तथा व्यवस्थापन कार्य थप प्रभावकारी बनेको डिभिजन वन कार्यालयको भनाइ छ ।
वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्नुका पछाडि प्राकृतिक वासस्थानको खुम्चिँदै जानु, आहाराको खोजीमा वन्यजन्तु बस्ती नजिक आउनु तथा वन क्षेत्रमा हुने मानवीय गतिविधि प्रमुख कारण मानिन्छन् । यस्तो अवस्थामा वन्यजन्तुलाई मार्नु वा लखेट्नुको सट्टा सम्बन्धित निकायलाई खबर गरी सुरक्षित उद्धारमा सहयोग गर्नु आवश्यक हुन्छ ।
वन्यजन्तुको संरक्षणसँगै मानव बस्तीमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरणका लागि स्थानीय तह, सुरक्षा निकाय, वन कार्यालय र समुदायबीचको सहकार्य अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता देखिएको छ । समयमै सूचना प्राप्त भए वन्यजन्तुको सुरक्षित उद्धार गरी प्राकृतिक वासस्थानमा पुनःस्थापित गर्न सहज हुने भएकाले कार्यालयले स्थानीयवासीलाई वन्यजन्तु देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन आग्रह गरेको छ ।










