तनहुँ जिल्ला अदालतद्वारा ७३.२० प्रतिशत मुद्दा फर्छ्यौट, दुई वर्ष नाघेका मुद्दा सून्य

भिमाद : तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष २०८२/०८३ मा ७३.२० प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ । गत भदौ २३ र २४ को जेन्जी पुस्ताको आन्दोलनका क्रममा आगजानीबाट कार्यालय ध्वस्तभई सेवा प्रवाहमा जटिलता पैदा भएपनि अदालतले सो संख्यामा मुद्दा फछ्र्योट गर्न सफल भएको छ ।
कुल २ हजार ४५६ मुद्दामध्ये १ हजार ७९८ वटा मुद्दा फछ्र्योट गरेको अदालतका श्रेस्तेदार नन्दप्रसाद आचार्यले जानकारी गराए। गत आर्थिक वर्षमा अदालतले सम्पादन गरेको विवरण सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा श्रेस्तेदार आचार्यले ६५८ वटा मुद्दा अझै बाँकी रहेका र उक्त वर्ष ७३.२० प्रतिशत मुद्दा फछ्र्योट भएको जानकारी गराए ।
त्यस अवधिमा जिम्मेवारी सरिआएका ७४७ मुद्दा रहेका र १७०९ नयाँ मुद्दा दर्ता भएका थिए। बाँकी रहेका ६५८ मुद्दामध्ये ४२३ वटा ६ महिनाभित्रका, ८९ वटा ६ महिनादेखि १ वर्षभित्रका, १२१ वटा १ वर्षदेखि १८ महिनाभित्रका र २५ वटा १८ महिनादेखि २ वर्षभित्रका रहेका छन् । अदालतमा २ वर्ष नाघेका कुनै पनि मुद्दा बाँकी नरहेको बताइएको छ ।
यस्तै, तनहुँमा पछिल्ला केही वर्ष यता सम्बन्ध विच्छेदका मुद्दाको संख्या बढ्दै गएको जनाइएको छ। तनहुँमा गत आर्थिक वर्ष २०८२/०८३ मा ९५२ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता हुन आएकामा ८१० फर्छ्यौट भई १४२ वटा मुद्दा जिम्मेवारी सरि आएका छन् ।
जिल्ला न्यायाधीश बिष्णु प्रसाद उपाध्यायका अनुसार सम्बन्ध विच्छेदका मुद्दा पछिल्ला वर्षहरूमा बढ्दो क्रममा देखिएका छन् । यसको अर्थ परिवार संस्था कमजोर हुँदै गएको मात्र होइन, समाज, अर्थतन्त्र, शिक्षा र कानुनी चेतनामा आएको परिवर्तनको पनि संकेतका रुपमा लिन सकिन्छ । विशेषगरी महिलाले सम्बन्ध विच्छेदका लागि अदालत जाने संख्या बढेको देखिन्छ। तर यसको एउटै कारण छैन; धेरै सामाजिक, आर्थिक र व्यक्तिगत कारणहरू यससँग जोडिएको जिल्ला न्यायाधीश उपाध्याय बताउँछन् ।
महिलाहरू शिक्षित बन्दै जानुका साथै संविधान र कानुनले दिएको समान अधिकारबारे उनीहरू सचेत हुँदा परिवारमा पहिले सहेर बस्ने अवस्था भएपनि अहिले त्यो अवस्था नरहेको हुँदा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै गएको हुनसक्ने उनले बताए। रोजगारी, व्यवसाय वा वैदेशिक रोजगारीबाट आर्थिक रूपमा सक्षम हुँदा अस्वस्थ वैवाहिक सम्बन्धमा मात्र निर्भर रहनुपर्ने बाध्यता कम हुनुका साथै शारीरिक, मानसिक, आर्थिक वा यौन हिंसा सम्बन्ध विच्छेदको प्रमुख कारण रहेको जिल्ला न्यायाधीश उपाध्यायले बताए ।
‘पहिले सामाजिक दबाबका कारण यस्ता घटना लुकाइन्थ्यो, अहिले महिलाहरू कानुनी उपचार खोज्न थालेका छन्’, उनले भने, ‘श्रीमान् वा श्रीमती लामो समय विदेश बस्दा विश्वासको संकट, भावनात्मक दूरी, आर्थिक विवाद वा नयाँ सम्बन्धका कारण वैवाहिक सम्बन्ध कमजोर हुने गरेको पाइन्छ। मदिरा वा लागूऔषधको लतले पारिवारिक हिंसा, आर्थिक समस्या र विश्वासको संकट सिर्जना गर्दा पनि सम्बन्ध विच्छेदसम्म पुग्ने अवस्था आएको छ ।’
यस्तै, पहिले सम्बन्ध विच्छेदलाई ठूलो सामाजिक कलंक मानिन्थ्यो । अहिले समाज केही हदसम्म खुला भएको छ, जसले असह्य सम्बन्धबाट बाहिरिने निर्णयलाई सहज बनाएको देखिन्छ। यस्तै, महिलाले मात्र नभई पछिल्लो समय पुरुषले पनि सम्बन्ध विच्छेदका मुद्दा दायर गर्ने क्रम बढ्दै गएको छ । तर पछिल्ला वर्षहरूमा महिलाबाट दर्ता हुने मुद्दा बढेको देखिन्छ ।
यस्तै, तनहुँ जिल्ला अदालतका न्यायाधीशहरूमध्ये आर्थिक वर्ष २०८२/८३ मा विष्णुप्रसाद उपाध्यायले सबैभन्दा बढी मुद्दा फर्छ्यौट गरेका छन् । उनले तनहुँ जिल्ला अदालतमा ६५४ र अन्य अदालतमा १०९ गरी कुल ७६३ वटा मुद्दा फछ्र्योट गरेका छन् ।
न्यायाधीश शम्भुप्रसाद बरालले ५५३ वटा मुद्दा तनहुँ जिल्ला अदालतमा र ४ वटा अन्य अदालतमा गरी ५५७ वटा मुद्दा फर्छ्यौट गरेका छन् भने न्यायाधीश राजेन्द्रकुमार कटुवालले ५१३ वटा र न्यायाधीश कमलराज विष्टले ७८ वटा मुद्दा फर्छ्यौट गरेका छन्। चारै जना न्यायाधीशलाई गरी वार्षिक १ हजार ९२६ मुद्दा फर्छ्यौट गर्ने लक्ष्य दिएको अदालतले जनाएको छ ।
यस्तै तनहुँ जिल्ला अदालतमा भएको आगजनीका कारण जलेर नष्ट भएका तीन हजार ८०४ थान मिसिलमध्ये एक हजार ६८ थान पूर्णरुपमा र १५ थान मिसिल आंशिक रुपमा प्राप्त भएको श्रेस्तेदार आचार्यले जानकारी गराए। तनहुँ जिल्ला अदालतका दुई हजार ७५१ थान मिसिल प्राप्त हुन बाँकी रहेको जनाइएको छ ।
अदालतले आगजनिमा जलि खडा भएका मिसिल मध्ये ६१९ मुद्दा फर्छ्यौट गरेको छ भने आगजनी पश्चात नयाँ दर्ता भएका मुद्दाबाट १ हजार १७९ फर्छ्यौट गरेको छ । आगजानिमा जलि खडा भएका मिसिल मध्ये बाँकी संख्या २०२ रहेको छ भने आगजनी पश्चात नयाँ दर्ता भएका मिसिल मध्ये ४५६ मुद्दा बाँकी रहेको बताइएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker