सम्पादकीय : खाँचो व्यवहारिक शिक्षाको

नारायण खड्का

नेपालमा शिक्षाको इतिहास हजारौं वर्ष पुरानो भए पनि सबैका लागि समान र गुणस्तरीय शिक्षा सुनिश्चित गर्ने यात्रामा हामी अझै थुप्रै मोड र मोर्चाहरूमा संघर्षरत छौं । गुरुकुल प्रणालीमा सुरुवात भएको हाम्रो शिक्षा प्रणालीले लामो समयसम्म धार्मिक र उच्च वर्गसम्म सीमित शिक्षा प्रदान ग¥यो । सर्वसाधारणको पहुँचबाहिर रहेको शिक्षा राणा शासनकालसम्म आइपुग्दा अझ नियन्त्रण र वर्गीय विभाजनको औजार बन्यो । यद्यपि २००७ सालको परिवर्तन, २०१५ सालको संविधान र त्यसपछिका शैक्षिक नीतिहरूले शिक्षा आम जनताको अधिकार बन्ने दिशामा मोडिएको थालनी गरेका थिए ।

२१औं शताब्दीको प्रविधि–प्रवेशसँगै शिक्षा क्षेत्रमा नयाँ अवसरहरू सिर्जना भएपनि ती अवसरहरूलाई समावेशी, सन्तुलित र दीगो रुपमा कार्यान्वयन गर्ने पक्षमा भने हामी पछाडि छौं । नेपालको ग्रामीण र शहरी क्षेत्रमा शिक्षा पहुँच र गुणस्तरमा ठूलो खाडल छ । टाढाका गाउँ–बस्तीका विद्यालय अझैपनि आधारभूत संरचना, आवश्यक विषयगत र दरबन्दीका शिक्षक, पठनपाठन सामग्री र प्रविधिको पहुँचबाट वञ्चित छन् ।

कोभिड–१९ महामारीले शिक्षामा डिजिटल प्रविधिको आवश्यकता र महत्व झनै स्पष्ट गराइदियो। टेलिभिजन, रेडियो र अनलाइन माध्यमबाट शिक्षा दिने प्रयास भए पनि प्रविधिमा असमान पहुँचले फेरि समाजलाई खण्डित बनाउने अवस्था ल्यायो। यसले स्पष्ट गर्यो, प्रविधिमा आधारित शिक्षा प्रणाली बनाउनु भनेको केवल उपकरण पु¥याउनु मात्र होइन, सामाजिक, आर्थिक र संरचनागत तयारीसहितको रूपान्तरण हो । त्यस्तै, उच्च शिक्षा क्षेत्रमा पनि गुणस्तर, पाठ्यक्रमको समयानुकूलता, अनुसन्धानको अभाव र श्रम बजारसँगको सम्बन्ध कमजोर भएकाले शिक्षित बेरोजगारी बढ्दो छ। परम्परागत डिग्रीप्राप्तिमा केन्द्रित शिक्षा प्रणालीले युवाहरूलाई स्वरोजगार वा उद्यमशीलताको बाटोमा अगाडि बढ्न सक्ने बनाएको छैन । फलस्वरूप, उच्च शिक्षा पश्चातको वैदेशिक पलायनको दर पनि हरेक वर्ष तीव्र गतिमा बढिरहेको छ ।

नेपाल सरकारले विगत केही वर्षमा शिक्षा क्षेत्र सुधार गर्न अनेक नीति र रणनीति अघि सारेको छ । २००९ मा लागू गरिएको “नेपाल राष्ट्रिय शिक्षा नीति” र सन् २०२५ सम्मको “शिक्षा विकास रणनीति” ले गुणस्तर, समानता र पहुँचलाई प्राथमिकता दिएको देखिन्छ । शिक्षकहरूको तालिम, पाठ्यक्रम सुधार, सिकाइको वातावरण, जीवन उपयोगी सीप शिक्षामा जोड दिने प्रयास भइरहे पनि व्यवहारिक रूपमा त्यो सबैतिर लागू हुन सकेको छैन । संघीय संरचना लागू भएपश्चात् स्थानीय तहहरूले शिक्षा व्यवस्थापनको अधिकार पाए पनि यसको कार्यान्वयनमा उनीहरू अझै सशक्त बन्न सकेका छैनन्। तनहुँ जिल्लामा रहेका १० स्थानीय तहहरू अन्तर्गत सञ्चालनमा रहेका ४१८ सामुदायिक र १२४ संस्थागत विद्यालयमा हाल ६९ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । तथापि, विगत चार वर्षमा विद्यार्थी संख्या घट्दो क्रममा देखिएको छ, जुन गम्भीर चिन्ताको विषय हो ।

विद्यार्थी संख्या घट्नुका पछाडि जनसंख्या घट्दै जानु मात्र नभएर, शिक्षाको गुणस्तरप्रति आम नागरिकको विश्वास कमजोर हुँदै जानु, निजी विद्यालयतर्फको आकर्षण, वैदेशिक शिक्षातर्फको बढ्दो मोह लगायतका कारणहरू छन् । सामुदायिक विद्यालयप्रति जनताको बढ्दो विमुखता समग्र शिक्षा प्रणालीप्रतिको आस्था घट्दै गएको संकेत पनि हो । एसईई परीक्षामा सहभागिता घट्नु, शिक्षकको पदपूर्ती नहुनु, प्राविधिक र सीपमूलक शिक्षाको पहुँच कमजोर हुनु र श्रम बजारसँग शिक्षा प्रणालीको मेल नहुनुजस्ता पक्षले नेपालको शिक्षालाई आज गम्भीर मोडमा ल्याएको छ । अबको शिक्षा न त केवल परीक्षा केन्द्रित हुनुपर्छ, न त केवल किताबी ज्ञानमा सिमित । अहिलेको आवश्यकता हो– व्यवहारिक, जीवन उपयोगी, रोजगारमुखी र सीपयुक्त शिक्षा प्रणाली । यस्ता शिक्षा प्रणालीमा सबै तहका बालबालिकाको पहुँच सुनिश्चित गर्न विशेष प्राथमिकता दिनुपर्ने हुन्छ । शिक्षा नीति अब ‘के सिकाउने’ मात्र होइन, ‘कसरी सिकाउने’ भन्नेमा केन्द्रित हुनुपर्छ । शिक्षकको छनौट, तालिम र मूल्याङ्कन प्रणालीलाई समावेशी, प्रोत्साहनजन्य र उत्तरदायी बनाउनु जरुरी छ । प्रविधिको सदुपयोग गर्दै ग्रामीण क्षेत्रसम्म गुणस्तरीय शिक्षा पु¥याउने रणनीति बनाउनु आवश्यक छ ।

साथै, उच्च शिक्षा क्षेत्रमा अनुसन्धान, नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धन गर्न विश्वविद्यालय तथा क्याम्पसहरूलाई प्रेरित गर्नुपर्ने देखिन्छ । संघीय संरचनामा स्थानीय सरकारलाई अझ अधिकार सम्पन्न, स्रोत साधन सम्पन्न र नीति कार्यान्वयन गर्न सक्षम बनाउनु जरुरी छ। शिक्षा बजेटको पारदर्शिता, जनउत्तरदायिता र परिणाममुखी कार्यक्रम विकासले मात्रै दीगो सुधार ल्याउन सक्छ । शिक्षा केवल व्यक्तिगत सफलता होइन, सामाजिक रूपान्तरणको मूल आधार हो । शिक्षित, सीपयुक्त र विवेकी नागरिकबिनाको समृद्ध राष्ट्र केवल सपना मात्र हो ।

नेपालको शिक्षा प्रणालीमा भएका सुधारका प्रयासहरू प्रशंसनीय छन्, तर ती सुधारलाई व्यवहारमा उतार्न अझ गहिरो संकल्प र सहकार्य आवश्यक छ । शिक्षा क्षेत्रको समस्यालाई केवल सरकारी योजनाले मात्र हल गर्न सक्दैन। यसका लागि अभिभावक, समुदाय, शिक्षण संस्था, शिक्षक, विद्यार्थी र नीति निर्माताहरूको साझा प्रयास आवश्यक छ । अबको शिक्षा नीति केवल सरकारी दस्तावेजमा सीमित नहोस्, त्यो विद्यालयको कक्षा कोठासम्म, टाढाको गाउँसम्म र प्रत्येक बालबालिकाको जीवनसम्म पुग्न सकोस् । यो नै हाम्रो आजको आवश्यकता हो ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker