मिर्लुङकोट नै सहकारी पर्यटन मैत्री क्षेत्रको रोजाइ किन ?

देव वस्न्यात

१, विषय प्रवेश :

तनहुँ जिल्ला नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी प्रदेशमा पर्दछ । नेपालमा ७५ जिल्ला कायम रहँदासम्म तनहुँ जिल्लाको पूर्व तर्फ ३६ जिल्ला र पश्चिम तर्फ ३६ जिल्ला रहेकोले यो जिल्ला नेपालको केन्द्र विन्दुमा पर्दथ्यो र अझै पनि पर्दछ । यसैले गण्डकी अञ्चलका ६ जिल्लाहरु मध्ये तनहुँ अन्य जिल्लाहरु भन्दा यातायातको दृष्टिले सुविधा युक्त जिल्लामा गनिन्छ । विश्वका प्रथम गुरु वेदव्यास श्रीकृष्ण द्वैपायन, नेपाली साहित्यका उज्वलतारा आदि कवि भानुभक्त आर्चय र नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता बखानसिंह गुरुङ्गको जन्मथलो र सेनवंशीय राजाहरुको ऐतिहासिक राजदरबारहरु तनहुँमा समेत भएकाले यसलाई पौराणिक, धार्मिक तथा ऐतिहासिक पर्यटन गन्तव्य स्थलको रुपमा विकास गर्न सकिन्छ । यसैले नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता बखानसिंह गुरुङको जन्मथलो मिर्लुङ्गकोटको प्रभावक्षेत्र पुलिमर्‍याङ्गलाई सहकारी पर्यटन मैत्री क्षेत्रको रुपमा विकास गर्न रोजिएको हो ।

बखानसिंह गुरुङको संक्षिप्त परिचय :

सर्वप्रथम वि.सं. २०१३ साल चैत्र २० गतेका दिन चितवन जिल्लाको बखानपुर -हालः शारदानगर) गा.वि.स.मा रहेर स्व. बखानसिंह गुरुङले जनताको तर्फाट जनताहरुको आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानका लागि बखानपुर बचत तथा ऋृण समिति दर्ता गरेर नेपालमा सहकारी संस्था स्थापनाको श्रीगणेश गर्नु भएको थियो ।

सहकारी अभियानबाट आफ्ना सामाजिक, आर्थिक र सास्कृतिक जीवनस्तर सुदृढ गर्न सकिन्छ भनी संखघोष गर्ने गुरुङ सहकारी कर्मीहरुका प्रेरणाका मुल श्रोत हुनुहुन्छ । यसैले स्व. बखानसिंह गुरुङ नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता मानिएको हो। वि.सं. १९५६ साल वैशाख ५ गतेका दिन उहाँ पिता कालु गुरुङको बिज र माता बत्तु गुरुङको कोखबाट रिस्ती गा.वि.स वडा नं ७ पुलिमर्‍याङ्गमा जन्मनु भएको थियो भने वि.सं. २०४० माघ १५ गतेका दिन चितवनको शारदानगरमा उहाँको देहान्त भएको थियो । कालक्रमले नेपाली कांग्रेसका नेता गुरुङ वि.सं. २०३९ सालमा कानुन तथा न्याय एवं भूमिसुधार मन्त्रि बन्नु भएको थियो ।

प्रजातन्त्रका सेनानी स्व. बखानसिंहका पुत्र-रत्नहरुमा धर्मध्वज गुरुङले वि.सं. २००७ सालमा राणाहरुको जहानीय शासन विरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनमा तनहुँको बन्दीपुरमा र बहुदलीय शासन व्यवस्थाको खारेजी तथा पञ्चायती शासन व्यवस्थाको विरुद्ध सशस्त्र क्रान्ति गर्ने वीरयोद्धा लालध्वज गुरुङले वि.सं. २०१८ सालमा तनहुँको कोत्रेमा सहादत प्राप्त गरेका थिए । नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता स्व. बखानसिंह गुरुङको सालिक निर्माण गरेर तनहुँका सहकारीकर्मीहरुले उहां प्रति सम्मान जाहेर गर्न चाहेको हो । उहाँको सालिक निर्माण र सो स्थानमा सहकारी संग्रहालय तथा सहकारी अध्ययन तथा अनुसन्धान केन्द्र स्थापना गर्न सकिएमा मिर्लुङकोटलाई पर्यटन मैत्री क्षेत्रको रुपमा विकास गर्न सकिन्छ भन्ने हाम्रो दृड अठोट हो । यस्को साथसाथै बखानसिंहको जन्मथलो तनहुँको पुलीमर्‍याङदेखि कर्मथलो चितवनको शारदानगर सम्म बृहत सहकारी पर्यटन स्थल घोषणा गर्न सकिन्छ ।

२, मिर्लुङकोटनै सहकारी पर्यटन मैत्री क्षेत्र किन :

क) प्राकृतिक मनोरम स्थलहरुको अबलोकन गर्न सकिने मिर्लुङकोट

विश्वका प्रथम गुरु वेदव्यास श्रीकृष्ण द्वैपायनको जन्मभूमि दमौलीमा उहाँको १०८ फिट अग्लो मूर्ति निर्माण कार्य प्रारम्भ हुन गएकोले र आदिकवि भानुभक्त आचर्यको जन्मस्थल चुंदि भएरै पुलीमर्‍याङ्ग जाने एक प्रमुख नाका भएकाले पनि मिर्लुङ्गको पर्यटन क्षेत्रको भविष्य थप उज्जवलमय देखिन्छ । पूर्वतर्फ मर्स्याङ्गदी नदीले बनाएका फाँट तथा टारहरु, पश्चिम तर्फ रिस्ती खोला र मादी नदीले बनाएका फाँट तथा टारहरु उत्तर तर्फ चाँदीझै टल्किएका माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ्ग हिमाल, मनासलु, वौद्ध हिमालका श्रृंखलाहरु र दक्षिण तर्फचुँदी खोलाले बनाएका फाँट तथा टारहरुको मनोरम दृष्यका साथै दुरदराजका काठमाडौं, पोखरा, छिम्केश्वरी र चितवनका चारकोसे झाडीको झझल्को देख्न र हेर्न सकिने मिर्लुङकोट अत्यन्त रमणीय स्थल हो ।

साथ फलफूल तथा कृषि सहकारी संस्था समजुरका माध्यमबाट मिर्लुङकोटको काखमा रहेका रुपाकोट, रिस्ती र सतिस्वारा गा.वि.स.मा यहाँको परम्परागत कृषि व्यवसायलाई परिवर्तन गरी वैज्ञानिक ढङ्गले हरितक्रान्ति गरी चिया, अलैंची, अमरिसो, बाख्रा तथा कुखुरा पालन, मौसमी तथा बेमौसमी ताजा तरकारी उत्पादन, जडीवुटी लगायतका संभाव्य खेतीहरु प्रवर्द्धन गरी मिर्लुङकोट गा.वि.स.लाई नमुना सहकारी ग्राम बनाउन आफ्नो उर्जा खर्चिएकोले पर्यटन उद्योगमा थप मद्दत पुर्‍याउँछ भन्ने हाम्रो पूर्ण विश्वास रहेको छ । साथ फलफूल तथा कृषि सहकारीको भावानात्मक प्रेरणादायी यस अभियानले तनहुँकै दोश्रो अग्लो (१६५४ मिटर) चुचुरा तथा पहाडकी बैंसले मदन्मत्त उर्वशी मिर्लुङकोट हेर्न जाउँजाउँ नै बनाउँछ । सहकारीका प्रथम अभियान्ता बखानसिंह गुरुङको सालिक निर्माण भएमा यस क्षेत्रको आन्तरिक पर्यटनको विकास हुनगइ मिर्लुङकोटको ग्रामीण अर्थतन्त्रमा कायापलट हुने निश्चित नै छ । मिर्लुङकोटको तामाखानी र ढुङ्गा खानीहरु पनि यस क्षेत्रको पर्यटन विकासका थप प्रमुख आकर्ष श्रोतहरु बन्न सक्दछन भनि किटान गर्न सकिछ ।

ख) विविध धार्मिक तथा सास्कृतिक संगम स्थल मिर्लुङकोट

नेपाल बहुभाषिक तथा बहुधार्मिक देश हो । त्यसै गरी मिर्लुङकोट क्षेत्र पनि यस बाट अछुतो रहन सकेको छैन । मिर्लुङकोट हिन्दु, बौद्ध, बोन र मुस्लिम धर्मालम्वीहरुले बसोबास गरेको तपोभूमि र कर्मभूमि पनि हो। मिर्लुङकोट हिन्दुधर्मालम्वी क्षत्री, बाहुन, मगर, भुजेल, दमै, कामी बौद्ध तथा वोन धर्मालम्वीहरुमा गुरुङ्ग र मुस्लिम धर्मालम्वीहरुमा चुरेटाहरुको गाँसवास सहितको कृडास्थल पनि हो । मिर्लुङ ठूलोढुङ्गा शिद्धगुफा, मिर्लुङकोट, रानीपोखरी, ज्यामरुककोट कालिका मन्दिर, भँयरथान, चन्द्रावती महादेव मन्दिर, लुते बराही मन्दिर चन्द्रावती, महालक्ष्मी मन्दिर कबाचित र महादेव मन्दिर घलेछाप यहाँका प्रमुख धार्मिक र तर्ीथस्थलहरु पर्दछन । प्रत्येक साउने संक्रन्तिका दिन मिर्लुङ रानीपोखरीमा लाग्ने साउने संक्रान्ति जात्राले छिमेकी छिमेकी बीच सदैव मित्रता रहनु पर्दछ भन्ने सन्देश दिएको पाइन्छ ।

यहाँका राजा धर्माङ्गत सेनकी रानीले आफ्ना रैती बीच झैझगडा नहोस भनि वल्लो गाउँलेले बनाएको मिठोपिठो पल्लो गाउँलेलाई खुवाइ सकेपछि मात्र आफुले खाने जात्राको प्रचलन चलाएको जनश्रुति रहेको पाइन्छ । धार्मिक दृष्टिकोणले पवित्र, ऐतिहासिक दृष्टिकोणले धर्माङ्गतसेनको भत्किएको राजदरवारको घडेरी तथा ज्यामरुक स्थित थुमथुमे राजदरवारको भग्नावशेषको रुपमा रहेका कालिका मन्दिर, राजा हम्विर सेन र धर्माङ्गत सेनको युद्ध भएको स्थान सुंगुरेभञ्ज्याङ, अतिथि देवो भवः भन्ने नेपालीहरुको मौलिक संस्कृति, गुरुङ तथा मगर जातिको रोदी, कौरा नाँच, पाउँदुरे नाच, सोरठीनाच, नेवारहरुको लाखेनाच, रोपाइजात्रा जस्ता विभिन्न जात्राहरु यहाँका जीवन्त मौलिक संस्कृतिहरुले मिर्लुङकोट जान नचाहनेहरुलाई पनि जाउँ जाउँ नै बनाउँछ ।

कारणले तनहुँको मिर्लुङकोटलाई बैंसले मदन्मत उर्वशी डाँडा भन्दा अनुपयुक्त नहोला । यो मिर्लुङ पर्वत उर्वशी अप्सरा जस्तै भएकीले पहाडकी महारानी हुन सुहाएकी छे । हामीलाई पनि नेपाल सहकारी आन्दोलनका पिता तथा नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ताको जन्मभूमि मिर्लुङकोटको काखमा अवस्थित पुलीमर्‍याङले कुत्कुत्याएर बुढो र जीर्ण भएको शरिरमा बैंसको उन्माद छरेको महसुस भयो । त्यही अनुभूतिले तनहुँका सहकारीकर्मीहरुलाई पनि त्यही उर्वशी डाँडा मिर्लुङले बोलाएको हो भन्ने महसुस गरायो र सो निम्ता स्वीकार्दै मिर्लुङ्ग पुग्ने प्रेरणा र भावना जागृत गराएको हामीले स्वीकार्नै पर्दछ ।

३, सहकारी मैत्री पर्यटनको सम्भावनाका आधारहरु

यही २०७० जेठ १७ र १८ गतेका दिन तनहुँ जिल्लाका सहकारीकर्मीहरुले मिर्लुङकोटलाई सहकारी पर्यटन मैत्री क्षेत्रको रुपमा विकास गर्न प्रथम सहकारी मैत्री पर्यटन भ्रमण कार्यक्रम पनि सम्पन्न गरी सकेका छन । यो प्रथम सहकारी मैत्री पर्यटन भ्रमणले मिर्लुङ्गकोटलाई सहकारी मैत्री पर्यटन केन्द्र बनाउने विषयमा दुइमत नहोला । नेपाल भरका ३३,००० सहकारी संस्थाका सहकारीकर्मीहरुले सहकारी पर्यटन अभियान कार्यक्रम राखे भने सरदर प्रति दिन ९१ टोली पर्यटन यात्रामा निस्कने सम्भावना देखिन्छ । ९१ टोली मध्ये १० वटा मात्र सहकारी संस्थाहरुले नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता बखानसिंह गुरुङको जन्मस्थल पुलीमर्‍याङ एवं मिर्लुङकोट भ्रमणमा सहभागिता जनाए भने मिर्लुङमा आन्तरिक पर्यटकहरुको खडेरी पर्दैन।

प्रत्येक संस्थाका कमसेकम ३० सदस्यहरुले पुलिमर्‍याङ भिजिट गर्दा प्रतिदिन ३०० पर्यटकहरुलाई आतिथ्यता प्रदान गर्न सक्नेछन् । तनहुँमा स्थापित सहकारी संस्थाका सदस्यहरुलाई पनि मिर्लुङ मैत्री पर्यटन भ्रमणमा सहभागिता जनाउन सकियो भने सहकारी मैत्री पर्यटनलाई निरन्तरता प्रदान गर्न सकिन्छ। नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता बखानसिंहको क्रेडिटलाई क्यासमा परिणत गर्ने प्रयत्न गर्नु तनहुँका सहकारीकर्मिहरुको दायित्व हो भन्ने महसुस गरेको छु ।

४, सालिक निर्माणमा लाग्ने अनुमानित लागत र आम्दानी श्रोतका पहिचान ।

वि.सं. २०१३ सालदेखि हालसम्म नेपालमा ३३,००० भन्दा बढी प्रारम्भिक सहकारी संस्थाहरु स्थापना भइ सक्दा तनहुँ जिल्लामा मात्र पनि करिब ३५० भन्दा बढी प्रारम्भिक सहकारी संस्थाहरु स्थापना भइसकेका पाइन्छन। नेपाल सहकारी आन्दोलनका प्रथम अभियान्ता स्व. बखान सिंह गुरुङको जन्मस्थलमा पुलिमर्‍याङ्गमा सालिक निर्माण र मिर्लुङ्गकोटमा सहकारी अध्ययन तथा अनुसन्धान केन्द्र तथा सहकारी संग्राहालय बनाएर समग्र मिर्लुङकोटलाई सहकारी पर्यटनमैत्री क्षेत्र बनाउन यहाँका जनताहरु आतुर भएका छन् ।

सहकारीका प्रथम अभियान्ता स्व. बखानसिंह गुरुङको ५ फिट ४ इन्चको पूर्णकदको सालिक निर्माण गर्न ८,००,०००।-, सालिक स्तम्भ निर्माण रु ३,००,०००।- खर्च र सहकारी अध्ययन अनुसन्धान तथा संग्राहलय निर्माण गर्न रु ५०,००,०००।- खर्च समेत रु ६१,००,०००।- खर्च लाग्ने अनुमान गरिएको छ । उक्त सालिक निर्माणका लागि खर्चका श्रोतहरु सहकारीकर्मीहरु, सहकारी संस्थाहरु, नेपाल सरकार तथा स्थानीय निकाय र गैरसरकारी संघ संस्थाहरुबाट संकलन गरी लक्ष्य हासिल गर्ने नीति लिन सकिन्छ । यस कार्यक्रमलाई मूर्त रुप प्रदान गर्न तनहुँका ४६००० सहकारीकर्मीहरुले रु १००।- र ३५० भन्दा बढी सहकारी संस्थाहरुले रु १०००।- मात्र आर्थिक सहयोग प्रदान गरे भने सहकारी पर्यटन मैत्री क्षेत्र पूर्वधार निर्माण गर्न सम्भव देखिन्छ । नेपालभर सञ्चालित ३३,००० भन्दा बढी सहकारी संस्थाहरु र ४०,००,००० भन्दा बढी सहकारीकर्मीहरु पनि चुपचाप बस्दैनन् भन्ने हाम्रो भनाइ हो। यस महान कार्यमा नेपाल सरकार स्थानीय निकाय, पर्यटनवोर्ड र अन्य संघ/संस्था र व्यक्तिहरुबाट पनि होस्टेमा हैंसे मिल्दछ भन्ने विषयमा ठोकुवा किन नगर्ने –

५, मिर्लुङकोट पर्यटन क्षेत्र जाने मार्गहरु

मिर्लुङकोट जान डुम्रे र दमौली दुबै नाका उत्तिकै महत्वपूर्ण मानिन्छन । तनहुँको सदरमुकाम दमौलीबाट कलेस्ती ८ कि.मि., कलेस्तीदेखि वीरता ९ कि.मी. वीरता लम्के समजुर हुँदै पोखरीछाप ९ किलोमिटर समेत कुल २६ कि.मि. बस यात्रा गरेर सजिलै पुग्न सकिन्छ भने डुम्रे नाकाबाट भानु सेपाबगैंचा हुँदै चन्द्रावतीसम्म १६.४ किलोमिटर, चन्द्रावती सम्जुर हुँदै पोखरीछाप ८.५ किलो मिटर समेत २५ किलोमिटर बसबाट यात्रा गरेर सजिलै पुग्न सकिन्छ । यसै गरी चन्द्रावती हुँदै कबाचित ६ कि.मि. र चन्द्रावती, घलेछाप हुँदै बयापानी भञ्ज्याङ १० कि.मि. बस यात्रा गरेर पनि मिर्लुङकोट पुग्न सकिन्छ । मिर्लुङ बयापानी भञ्ज्याङ्गबाट पोखरीछाप ३ किलोमिटर दुरीमा रहेको छ । मिर्लुङ पर्यटन सुचना केन्द्रका अध्यक्ष सुशिलचन्द्र भण्डारी, कलेस्ती टुहुरेपसल मार्ग अध्यक्ष चरित्र कार्की, भानु मार्गका अध्यक्ष स्व. रफिक मियाँले मिर्लुङकोटका दुरीहरु बारे हामीलाई जानकारी गराउनु भएको थियो । बैकल्पिक मार्गको रुपमा डुम्रे भानु बाइसजाँगर पाउँदीढिक कुन्छा पुलीमर्‍याङ र दमौली दुइपिप्ले सोतीपसल पुलीमर्‍याङ हुँदै पनि मिर्लुङकोट यात्रा तय गर्न सकिन्छ।

६, सहकारी प्रति मिर्लुङकोटबासीहरुको दृष्टिकोण

नेपालको अन्तरीम संविधान २०७४ ले नीजि, सरकारी, सहकारी तीन खम्बे अर्थ निती अवलम्बन गरेको पाइन्छ । राज्यको तीन खम्बे अर्थ निती मध्ये एक खम्बाको रुपमा सहकारी स्वीकार्नुले सहकारी क्षेत्रमा काम गरेका सहकारीकर्मीहरुलाइ अत्यन्त खुसीको विषय बन्न गएको छ । मुलुकको संविधानले सहकारी क्षेत्रलाइ राष्ट्र विकासको एक प्रमुख खम्बा स्वीकारेता पनि समग्र देश विकासका सर्न्दर्भमा व्यवहारिक जीवनमा हेर्ने हो भने त्यस्तो चाहीँ पाइदैन । समग्रमा नेपालको सरकार तथा यहाँका राजनैत्तिक दलले सहकारी क्षेत्रलाई सदैव उपेक्षा गरेको पाइन्छ । तथापि यहाँका जनता भने सहकारीबाट आफ्नो गाउँको उज्वल भविश्य देखेर मिर्लुङमा पर्यटन मैत्री सहकारी संस्थाहरु खोल्ने बिचार प्रस्तुत गरी सकेका छन । राष्ट्रिय अर्थतन्त्रमा सहकारीलेनै १८ प्रतिसत वित्तिय सुविधा प्रदान गरेको र कुल ग्राहस्थ उत्पादनमा ३ प्रतिशत भन्दा बढी योगदान पुर्‍याएको अवस्थामा सहकारी विकासमा सबैले दुरदृष्टि पुर्‍याउनु पर्ने बेला आएको छ ।

अन्त्यमा समग्र तनहुँको साथै मिर्लुङकोटको पर्यटन विकासमा तनहुँका सबै राजनैत्तिक शक्ति, स्थानीय तह लगायत सबै जनताहरुको प्रत्यक्ष सहभागिताको अपेक्षा गर्दछौं ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker