स्वास्थ्य अधिकार सम्बन्धी अन्तरक्रिया

- भञ्ज्याङ समाचारदाता (दमौली)
गण्डकी प्रदेशका विभिन्न जिल्लाका युनेस्को क्लबमा आवद्ध युनेस्को अभियन्ताका लागि बिहीवार दमौलीमा एक दिवसीय युनेस्को नेतृत्व तालिम गरिएको छ । नेपाल युनेस्को संघ संस्था तथा क्लबहरुको राष्ट्रिय महासंघको आयोजना र युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगको सहयोग तथा दमौली युनेस्को क्लबको समन्वयमा तालिम आयोजना गरिएको हो । शिक्षा, संस्कृति विज्ञान लगायतका क्षेत्रमा स्थानीय सरकारसँग सहकार्य गर्दै युनेस्को अभियानलाई थप विस्तारित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको हो । तालिममा गण्डकी प्रदेशका ९ जिल्लाका २० जना युवाहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा युवाहरुलाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले युनेस्को कार्यक्षेत्र, समितिको प्रकृति, युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोग तथा सचिवालयको संगठन तालिका, बजेट तथा कार्यक्रम लगायतका विषयमा जानकारी गराएका थिए । त्यस्तै नेपाल युनेस्को संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघका मानार्थ अध्यक्ष हरिवंश किरातले युनेस्कोको परिचय, युनेस्कोका आदर्श, उद्देश्य, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संरचना लगायतका विषयमा जानकारी गराएका थिए ।
कार्यक्रमको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले मौलिकता र संस्कृति जगेर्नामा युनेस्कोको महत्वपुर्ण योगदान रहेको बताए । पछिल्लो समय आधुनिकताको नाममा लोप हुँदै गएका र लोप हुने अवस्थामा रहेका संस्कृतिक सम्पदा संरक्षण र मौलिकता जोगाउने अभियानमा युनेस्कोको भूमिका प्रशंसनीय छ उनले भने । संस्कृति र मौलिकता मुलुकको इतिहास भएकाले पुराना सम्पदा विस्तापित गर्न नहुने उनको धारणा थियो ।
त्यस्तै युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले युनेस्कोका कार्यक्रम र गतिविधि सबै स्थानीय तहमा विस्तार गर्न चाहेको बताए । सबै भुगोल समेटिने गरी हामी कार्यक्रम र योजना बनाउदै छौँ अधिकारीले भने । युनेस्कोले अहिलेको अवस्थामा कार्यक्रम विकेन्द्रीकृत गर्न लागेको चर्चा गर्दै अधिकारीले सबै क्षेत्रबाट युवाहरुसँग सहकार्य गर्न तयार गरेको बताए । कार्यक्रममा नेपाल युनेस्को संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघका मानार्थ अध्यक्ष हरिवंश किरातले अन्य मुलुकको तुलनामा नेपालमा युवा अभियन्ताहरु युनेस्कोमा सक्रिय रहेको बताए । त्यस्तै वरिष्ठ उपाध्यक्ष दिपक सरकारले युनेस्को क्लब अबको समयमा हरेक स्थानीय तहका विभिन्न विषयगत क्षेत्रसँग सहकार्य गरी अघि बढ्न चाहेको बताए । युवा लक्षित कार्यक्रमलाई प्राथमिकता दिने योजना रहेको चर्चा गर्दै उनले आाईसिएच अभियानमा युवाहरुको सक्रिय सहभागीताको अपेक्षा गरेको बताए ।
नेपाल युनेस्को संघसंस्था तथा क्लबहरुको राष्ट्रिय महासंघका अध्यक्ष आनन्दराज त्रिपाठीको सभापतित्वमा आयोजित कार्यक्रममा महासंघका उपाध्यक्ष एवं दमौली युनेस्को क्लबका अध्यक्ष प्रदीप काफ्लेले स्वागत गरेका थिए भने दमौली युनेस्कोका सचिव ओमकार आचार्यले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त कार्यक्रममा सहभागीहरुलाई युनेस्कोका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा. बाबुराम अधिकारीले प्रमाणपत्र हस्तान्तरण गरेका थिए ।










