तनहुँको भिमाद-५ स्थित मिर्छुुलुङ्ग भ्यू टावरको शिलन्यास
भञ्ज्याङ समाचारदाता/भिमाद

तनहुँको भिमाद-५ स्थित मिर्छुलुङ्गमा मिर्छुलुङ्ग भ्यू टावरको सोमबार शिलन्यास गरिएको छ । नागरिक स्तरबाट चन्दा संकलन गरी उक्त भ्यू टावर निर्माण गर्न लागिएको हो । मिर्छुलुङ्ग भ्यू टावरको भिमाद नगरपालिकाका नगर प्रमुख मेखबहादुर थापाले शिलन्यास गर्दै भ्यू टावर बनेपछि मिर्छुलुङ्गको पर्यटन प्रबर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।
‘गाउँमा होमस्टे संचालन छ’, उनले भने, ‘होमस्टेमा आउने पर्यटकलाई भ्यू टावरबाट प्राकृतिक दृश्यालोकनको लागि सहयोगी हुने विश्वास गरेको छु । पर्यटन प्रवर्द्धन गरी स्थानीयको आयआर्जनमा वृद्धि हुन सके मात्र भ्यू टावर निर्माणको औचित्य रहने र स्रोतको पहिचान गरी उत्पादनमा जोड दिन सक्नु नै आर्थिक समृद्धिको मुख्य आधार हो ।’
नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले नेपालको समृद्धिको आधार नै पर्यटन भएको बताए । कोभिडले शिथिल पारेको नेपालको पर्यटन व्यवसाय विस्तारै लयमा जान थालेकाले गाउँ गाउँमा पर्यटन पूर्वाधार बन्न थाल्नु सखुद भएको बताए ।
म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले मिर्छुलुङ्ग सुन्दर बस्ती मात्र नभई मगर समुदायको संस्कृतिमा धनी गाउँ समेत भएको चर्चा गरिन । उनले संस्कृति प्रदर्शन गरेर पर्यटकलाई आकर्षण गर्न सकिन्छ । कृषि, पर्यटन र संस्कृतिलाई जोडेर पर्यटन विकास गर्नु नै ग्रामीण पर्यटनको मुख्य आधार भएको बताइन ।
भिमाद र घिरिङ्गलाई जोडेर समग्र पर्यटन प्रवर्द्धन गनु आबश्यक रहेको घिरिङ्ग गाउँपालिकाका अध्यक्ष रन बहादुर रानाले बताए । गाउँबाट भागेका मनलाई गाउँमा ल्याउन आबश्यक छ भन्दै अध्यक्ष रानाले त्यसको मुख्य आधार भनेको ग्रामीण पर्यटन हो । गाउँमा कृषि र पर्यटन प्रवर्द्धन गरी बसाइ गएका मनलाई गाउँमा पुनः फर्काउन स्थानीय सरकारले विशेष कार्यक्रम ल्याउनु पर्ने बताए ।
नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य एवं कांग्रेस तनहुँका उपसभापति देवकुमार श्रेष्ठले नेपालको आर्थिक समृद्धिमा नीजि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताए । अझै पर्यटन प्रबर्द्धनमा नीजि क्षेत्रको लागनी अपरिहार्य रहेको समेत उनले बताए ।
मिर्छुलुङ्गमा जन्मेका हाल युकेमा रहेका महेन्द्र आलेको परिकल्पनामा गाउँको पर्यटन प्रबर्द्धन गर्नका लागि मिर्छुलुङ्ग भ्यू टावर निर्माण कार्यमा जुटेको मिर्छुलुङ्ग क्षेत्र विकास तथा मिर्छुलुङ्ग भ्यू टावर निर्माण समितिका अध्यक्ष नरेन्द्र थापाले बताए । महेन्द्रको पहलमा प्रवासमा रहेका नेपालीहरुबाट ३० लाख रुपैयाँ भन्दा बढी रकम संकलन भइसकेको अध्यक्ष थापाले जानकारी दिए ।
मिर्छुलुङ्ग सामुदायिक होमस्टेका अध्यक्ष समेत रहेका थापाले भ्यू टावरले मिर्छुलुङ्ग गाउँको पर्यटन प्रबर्द्धनमा टेवा पुर्याउने विश्वास व्यक्त गरे । ३८ लाख ४ हजार ९ सय रुपैयाँमा साराङकोट निर्माण सेवाले मिर्छुलुङ्ग भ्यू टावर २०७९ बैशाख मासन्त भित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको छ । मिर्छुलुङ्गको शक्तिपिठको रुपमा रहेको भैरव मन्दिरको नेपाली कांग्रेसका जिल्ला सभापति जितप्रकाश आलेले शिलन्यास गरेका छन ।










