फिरफिरेमा प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु

- भञ्ज्याङ समाचारदाता (दुलेगौंडा)
बराहडाँडामा आईतबारदेखि प्रथम वडाध्यक्ष कप भलिबल प्रतियोगिता सुरु भएको छ । युवा तथा खेलकुद बिकास समिति शुक्लागण्डकी-१२ फिरफिरेको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा भएको प्रतियोगिताको पहिलो दिन तीन खेल सम्पन्न भएको छ । उद्घाटन खेलमा वडा नम्बर ५ को समुहले विजय शुरुवात गरेको छ । वडा नम्बर १२ (ख)लाई १६-२५, २६-२४ र २५-२१ को सेटमा पराजित गर्यो । क्वाटरफाइनल अन्तर्गंतको पहिलो खेलमा वडा नम्बर १० लाई ११ को समुहले पराजित गरेको खेल संयोजक निर्मल गुरुङले जानकारी दिए । उनकाअनुसार २५-१३, २३-२५ र २५-१५ को सेटमा पराजित गरेको हो । यस्तै, दोस्रो क्वाटरफाइनलमा शुक्लागण्डकी १२ (क) ले वडा नम्बर ६ लाई पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।
१९-२५, २५-१७ र २५-१३ को सेटमा पराजित गरेको खेल संयोजक गुरुङले जानकारी दिए । सोमबार क्वाटरफाइनल अन्तर्गतका दुइ खेल हुनेछ । यसअघि प्रतियोगिताको उद्घाटन गर्दै वडाध्यक्ष मनराज गुरुङले खेलकुद क्षेत्रमा युवाहरुलाई अगाडी बढाउनुपर्ने बताए । स्थानियस्तरमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा सघाउने उहाँको भनाई छ । खेलकुदमा राजनीति हावी हुन नहुने उहाँले उल्लेख गरे ।
२८ बजार मेलाको अवसरमा आयोजित प्रतियोगितामा १० समुहको सहभागिता रहेको छ । वडा नम्बर २, ४ र ८ का समुह भने सहभागी भएनन् । २८ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने समुहले नगद ६० हजार रुपैयाँको साथमा प्रमाणपत्र, मेडल र ट्रफी पाउने छन् । दोस्राले ३० हजार रुपैयाँ र तेस्रोले १५ हजार रुपैयाँको साथमा प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछ ।










