माघे संक्रान्ति एवं माघी पर्व मनाइयो, तनहुँको देवघाटमा तीर्थालु कमी
भञ्ज्याङ समाचारदाता (दमौली)

माघे संक्रान्ति एवं माघी पर्व मनाइएको छ । पर्वको अवसरमा विहीबार बिहान स्नान, जप, तप, ध्यान, साधना गरी घ्यू, चाकु खाएर माघे संक्रान्ति पर्व मनाइएको छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति अर्थात माघ १ गते मकर (माघे) संक्रान्तिका नाममा वैदिक सनातन हिन्दू धर्मावलम्बीले सनातनदेखि कूल परम्परामा चलेको चलनअनुसार यो पर्व मनाउँछन् । माघ १ गतेदेखि उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटो हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्यदायक मानिन्छ । यसैले यसदिन देवघाट, त्रिशुली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी लगायतका स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्ने गरेकामा यसवर्ष कोरोनाभाइरसको महामारीका कारण सीमित भक्तजनमात्र स्नान गर्न पुगेका थिए ।
यस्तै, पवित्र तीर्थस्थल देवघाटमा स्नान गर्न आउनेहरूको यसवर्ष कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या थोरै नै रहेको देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरणबाबु घिमिरेले बताए । अघिल्ला वर्षरूमा देवघाटमा स्नान गर्न आउने भक्तजन पाँच लाखभन्दा बढी हुने गरेका थिए । यस वर्षभक्तजन तीन लाख हाराहारी भएको अनुमान गरिएको उनले बताए ।
देशभर र भारतबाट समेत भक्तजन स्नानका लागि यहाँ आउने गर्दछन् । बुधबार बिहान बेनीमा बाँसको लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । कोरोना कहरका कारण यस वर्ष तीर्थालु भक्तजनको संख्यामा कमी आएको हो ।
निर्देशक घिमिरेका अनुसार यस वर्ष बजार लाग्ने मेला नगरी स्नानका लागि मात्र मेला गरिएको हो । विभिन्न उपसमितिमार्फत मेला व्यवस्थापन गरिएको उनले बताए । देवघाट आउने सवारी साधनलाई ठिमुरा, रामनगर र दासढुंगाबाट आउने व्यवस्था मिलाइएको छ भने फर्कदा तिनले आँपटारीको बाटो प्रयोग गर्न लगाइएको थियो । आपत्कालीन उद्धारका लागि सशस्त्र प्रहरी तयारी अवस्थामा राखिएको थियो भने डुङ्गासहितको उद्धार टोली तैनाथ थिए । नेपाली सेना पनि उद्धारमा जुटेको थियो। पुलमा लामबद्ध भएर जान र आउनका लागि स्वयंसेवक र सुरक्षाकर्मी परिचालन गरिएका थिए । नदीमा नुहाउन मिल्ने ठाउँ पहिचान गरी सीमाङ्कन समेत गरिएको थियो ।
त्यस्तै, तराइवासीले माघ १ गतेलाई नहान अर्थात् नुहाउने पर्वका रुपमा मनाउँछन् । वर्षभर ननुहाउनेले पनि आज भने अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन् । यसैगरी थारु समुदायले नयाँ वर्षका रुपमा माघी नामबाट यो पर्व मनाएका छन् । यसैगरी मगर र छन्त्याल जातिका मानिसले पनि आज नयाँ वर्षका रुपमा माघी पर्व मनाएका छन् । थारु समुदायले वर्षभर विभिन्न कामको नेतृत्व गर्ने गाउँको अगुवालगायत विभिन्न पदको चयन लोकतान्त्रिक विधिबाट आजैदेखि गर्छन् । यो समुदायमा यस दिन गरिएको सहमति अकाट्य हुने मान्यतासमेत छ ।
माघ १ गते स्नानको विधि भने सबै क्षेत्र एवं जातिका मानिसमा समान रुपमा रहेको पाइन्छ । बिहानै तीरस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । धर्मसिन्धुमा माघ १ मा घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ । जाडो महीनामा घ्यू, चाकु, तरुल, लड्डु, तिलौरी जस्ता परिकार खाँदा न्यानो हुनुका साथै स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले यो पर्वलाई मानव स्वास्थ्यसँगसमेत जोडेर हेर्ने गरिन्छ ।










