कांग्रेस तनहुँमा भूमि आयोगको अध्यक्ष सिफारिसको विषयले विवाद

दमौली : भूमि आयोगको अध्यक्ष पदका विषयलाई लिइएर तनहुँ कांग्रेसमा विवादको वातावरण सृजना भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गोविन्द सिलवाललाई भूमि आयोगको अध्यक्षको रूपमा सिफारिस गरेपछि पार्टीभित्र असन्तुष्टि र गुटबाजीको स्थिति उत्पन्न भएको छ ।
भूमि आयोगको अध्यक्ष पदका लागि भानुका गोविन्द ढकाल, बन्दीपुरका रेशम गुरूङ, भानुकै गोविन्द सिलवाल, भिमादका पुष्प पराजुली र लक्ष्मी आचार्यको नाम चर्चामा आएका थिए । तर, राष्ट्रपति पौडेलले सिलवाललाई सिफारिस गरेपछि पार्टीका विभिन्न नेताहरू र कार्यकर्ताहरू असहमत देखिएका छन् ।
सिलवालले कांग्रेसका कुनै कार्यक्रमहरूमा भाग नलिने, सदस्यता नविकरण नगर्ने र अरुलाई पनि नगर्न उक्साउने जस्ता कार्य गरेको आरोप लागेकालाई राष्ट्रपति पौडेलले च्यापेको भन्दै पार्टीमा असन्तोषको स्थिति पैदा गरेको स्रोतले उल्लेख गरेको छ ।
राष्ट्रपति पौडेलले सिलवालको नाम सिफारिस गर्दा पार्टीका केही नेताहरू र कार्यकर्ताहरूले अस्वाभाविक र अपारदर्शी निर्णयको आरोप लगाएका छन् । यस विवादले पार्टीभित्रको गुटीय संघर्षलाई थप बल दिएको चर्चा चल्न थालेको छ ।
जिल्लाका शिर्ष नेताहरु शंकर भण्डारी, गोविन्द ढकाल, रेशम गुरूङ र पुष्प पराजुली जस्ता नेता सिलवालको सिफारिसलाई चुनौती दिँदै आफ्ना पक्षमा समर्थन जुटाउने प्रयासमा लागेको बताइएको छ ।
तनहुँ कांग्रेसका कार्यकर्ताहरूले सिलवालको सिफारिसलाई पार्टीका लागि विघटनको कारण बन्न सक्ने चेतावनी दिएका छन् । यस अवस्थामा, कांग्रेसका नेताहरूले पार्टीको आन्तरिक एकता र आगामी निर्णयहरूको बारेमा स्पष्टता प्रदान गर्नुपर्ने आवश्यकता महसुस गरिएको छ ।
यस विवादको आगामी परिणाम भने थप अनिश्चित देखिन्छ र कांग्रेस पार्टीको आन्तरिक समन्वय र नेतृत्वको भविष्यमा गहिरो प्रभाव पार्ने सम्भावना रहेको छ ।
तनहुँमा भूमि आयोगको नेतृत्व नेकपा एमालेको भागमा परेपनि राष्ट्रपति पौडेलले तनहुँको नेतृत्व मेरो मान्छेले पाउनुपर्छ भनि भाग खोजेको भन्नपनि चर्चा चलेको छ ।
राष्ट्रपति पौडेलदेखि शिर्ष नेताहरु शंकर भण्डारी, बैकुण्ठ न्यौपाने लगायत जिल्लाका नेताहरू समेतले आँफु अनुकूलको व्यक्तिलाई अध्यक्ष बनाउन लागि पर्दा यस्तो अवस्था आएको चर्चा चल्न थालेको छ ।










