घिरिङमा भूमि आयोग लगत संकलन कार्यालय
भञ्ज्याङ समाचारदाता (घिरिङ)

तनहुँको घिरिङ गाउँपालिकामा भूमिसम्बन्धी समस्या समाधान आयोगको लगत संकलन एकाइ कार्यालय स्थापना गरिएको छ । गाउँपालिकामा स्थापना गरिएको एकाइ कार्यालयको विहीबार आयोगका केन्द्रीय सदस्य एकबहादुर रानाले उद्घाटन गरेका छन् । लगत संकलन एकाइ कार्यालय उद्घाटनसँगै आयोगले गाउँपालिकासँग भूमिहीन सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीको तथ्याङ्क संकलन गर्ने कार्यको सम्झौता गरेको छ । योसँगै जिल्लाका नौ स्थानीय तहमा लगत संकलन एकाइ कार्यालय स्थापना गरिएको छ ।
आयोगका केन्द्रीय सदस्य रानाले आयोगले बास्तविक भूमिहीनलाई जग्गाको मालिक बनाउने गरी आयोगले काम गरिरहेको बताए । उनले विगतमा आयोग गठनमा त्रुटी भएका कारण अहिले सरकारले ऐन निर्माण गरी अधिकार सम्पन्न आयोग बनाएको बताए । ‘वर्तमान सरकार परिवर्तन भए पनि आयोग विघटन हुँदैन’, सदस्य रानाले भने, ‘भूमि र आवास सम्बन्धी अधिकार संविधानको मौलिक हकमासमेत समावेश भएकाले अब कोही पनि भूमिहीन भएर बस्न पर्दैन् ।’
उनले वास्तविक भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई राज्यले निर्धारण गरेको जग्गा उपलब्ध गराउने र कसैले ढाँटेर, छलेर जग्गा प्राप्त गर्न खोज्छ भने त्यसलाई कानूनी कारवाही गरिने समेत बताए । सदस्य रानाले अहिले स्थानीय तहमा लगत संकलनको काम भइरहेको बताउँदै वास्तविक भूमिहीन, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई समयमै निर्धारित स्थानमा आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरे ।
तनहुँका ब्यास नगरपालिका, शुक्लागण्डकी नगरपालिका, भानु नगरपालिका, भीमाद नगरपालिका, देवघाट गाउँपालिका र बन्दीपुर गाउँपालिकामा पहिलो चरणमा सम्झौता गरी लगत संकलनको कार्य भइरहेको छ । दोस्रो चरणमा म्याग्दे गाउँपालिका र आँबुखैरेनी गाउँपालिकासँग सम्झौता गरी कार्य अगाडि बढाइएको छ भने ऋषिङ गाउँपालिकामा सम्झौता हुन बाँकी छ ।
जिल्लामा भूमिसम्बन्धी समस्या समाधान आयोगको कार्यालय स्थापना भइसकेको छ । सरकारले आयोगको अध्यक्षमा दधिराज सुवेदी, विज्ञ सदस्यमा दीर्घबहादुर दरै र सदस्यमा शान्ति कुँवरलाई नियुक्त गरेको थियो । आयोगको पदेन सदस्यमा डिभिजन वन कार्यालयका प्रमुख, नापी कार्यालयका प्रमुख, मालपोत कार्यालयका प्रमुख रहने व्यवस्था छ भने आयोगको सदस्य सचिवमा जिल्ला समन्वय अधिकारी रहने व्यवस्था छ । लगत संकलन कार्यालय उद्घाटनसँगै प्रत्येक वडामा भूमिहीनको लगत संकलनका लागि ३५ दिने सूचना जारी गरिने घिरिङ गाउँपालिकाका अध्यक्ष रनबहादुर रानाले बताए ।
व्यासमा ६ हजार ८७२ जनाको तथ्याङ्क संकलन
व्यास नगरपालिकाले भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन कार्य सम्पन्न गरेको छ । व्यास नगरपालिका भूमिहीन दलित, भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लागत संकलन इकाईको सुचना अनुसार ६ हजार ८७२ जनाको तथ्याङ्क संकलन गरेको हो । संकलित तथ्याङ्क अन्तरगत वडागत विवरणमा भुमिहीन दलित ७३०, भुमिहीन सुकुम्बासी ४९७ र अव्यवस्थित बसोबासी ६ हजार १४२ समेत गरि जम्मा ६ हजार ८७२ जनाको तथ्याङ्क संकलन गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले २४ जना स्वंयमसेवक मार्फत एक महिनाको अबधिमा उक्त लागत संकलन गरेको हो ।










