नेपालको आधुनिक तोप निर्माण गर्ने प्रथम विशेषज्ञ बन्दे कामी
देव वस्न्यात

विषय प्रवेश
विश्वकै साना देशहरुको सूचिमा नेपालको पनि नाम आउँछ । नेपाल १२६ जातजाति र १२३ भाषाभाषीहरुको साझा फूलवारी हो । तिनै मध्य खससमुदाय भित्रको एक जाति कामी पनि हो । कामीहरु सृजनाका दूतहरु हुन । उनीहरुसंग अपरीमेय सीप छ र त उनीहरुलाई शिल्पकार भनिन्छ। वि.सं. २०७८ को जनगणना अनुसार नेपालमा कामीहरुको जनसंख्या १४ लाख ७० हजार १० अर्थात कुलजनसंख्याको ५.०४ प्रतिशत जनसंख्या रहेको छ । कामीहरु पनि धेरै थरहरु पाइन्छन । त्यही मध्येको एक थर जड्कामी पनि हो । बन्देकामी त्यही वंशको हातहतियार बनाउने नामुद सिपालु कालीगढ थियो ।
को हो बन्दे कामी ?
(बन्दे कामी कामी -विश्वकर्मा) परिवारको एउटा सदस्य थियो । उही बन्देकामीको घर तनहुँको बन्देथोकमा रहेको थियो । उ फलामहरुलाई गालेर बडो मेहनत र कुशलताका साथ कृषि औजार र राज्यलाई आबस्यक हातहतियार निर्माण गर्ने गर्दथ्यो। त्यही बन्देकामी बाइसी चौविसी कालको एक नामुद हतियार विशेषज्ञ पनि थियो । नाम सुन्नासाथ कल्पना गरेर नयाँ हतियार बनाउन सक्ने अदम्य साहस थियो बन्दे कामीमा । हतियार बनाउने सिपालु कालीगढको हैसियत निर्माण गरेकाले बन्देकामीको नामले तनहुँका छिमेकी राज्यहरुमा उस्ले प्रसिद्धि पाएको थियो । बन्देकामी राजाले दिएको आदेश अनुसार कुशलताका साथ सिप लगाएर हातहतियारहरु बनाएर राजालाई सुम्पने गर्दथ्यो । एकपटक बन्देले बनाएको तरवारमा भगवतीको रुप देखियो । भगवतीको रुप देखिने तरवार बनाउने बन्देकामीको नाम यत्रतत्र फैलियो । हुन त बन्दिपुर मगर बाहुल्य बस्ती हो। मगर भाषामा मानव बस्ती बसेको ठाउँलाई थोक भन्ने गर्दछन् । प्रथम वैज्ञानिक बन्दे कामी बसेको बस्ती हुनाले त्यो ठाउँको नाम बन्देथोक रहन गएको थियो। बिस्तारै नेवारहरुको बस्ती बिस्तार हुँदैजाँदा त्यही बन्देथोक क्रमशः हटियाबाट बजारमा रुपान्तरित हुँदै गएपछि बन्देथोक शब्द अप्रभंश भई बन्दिपुर नाम रहेको अनुमान गर्न सकिन्छ ।
गोरखाले आफ्नो शक्ति सुदृढीकरण
दुइ-दुइ पटकसम्मको लडाइमा नुवाकोट माथि विजय प्राप्त गर्न नसकेपछि गोरखाली नरेश पृथ्वीनारायण शाह वडावीर सेनापति शिवरामसिंह बस्न्यात र विश्वासिला सेनाका साथ सैन्य सामाग्री खरिदको उद्देश्य लिएर बनारस पुगेका थिए । बनारसबाट र्फकदा गोर्खाली सेनाहरुले केही हातहतियार संगै हातहतियार बनाउने शेषजरवर, ममतकी, भेषसिं नामधारी मुस्लिम कालीगढहरु समेत संगै लिएर आएका थिए । संगसंगै आएका मुस्लिम कालीगढहरुलाई गोरखा नरेश पृथ्वीनारायण शाहले नेपाली सेनाको अजटनी पदमा समेत नियुक्त गरेका थिए । तिनै कालीगढका सहायताले गोरखाले प्रशस्त हातहतियार निर्माण गरेर आफ्नो सैनिक शक्ति सुदृढीकरण गरेको थियो । आधुनिक हातहतियारले सुसज्जित भएको गोरखा राज्यले बाइसे चौविसे राज्यहरु माथि आक्रमण गरेर नेपाल एकीकरण पथमा लम्कदै गरेको थियो । यही मारमा तनहुँ पनि परेको थियो ।
खड्गदेवी उत्पतीको कथा
वि.सं. १८२८ मा गोरखाले तनहुँसुरलाई आफ्नो कब्जामा लिएपछि राजा कामरीदत्त सेनको माहिलो भाइ हरकुमारदत्त सेनलाई गोरखा अधीनस्थ तनहुँका राजा बनाएका थिए । पश्चिम नेपाल एकीकरणको सिलसिलामा गोरखाली सेनाले तनहुँको सेनाहरुलाई पनि संगसंगै लगेको थियो तर सतहुँसंगको लडाइमा तनहुँङ्गे सेनाले असहयोग गरेका कारण ९६ जना तनहुँका सेनालाई लाइन लगाइ काटेकाले तनहुँ गोरखासंग रिसाएको थियो । यही बेला तनहुँले आफ्नो सैनिक शक्ति सुदृडीकरणमा ध्यान नदिइ सुख्खै पाएनन् । राजाको आदेश अनुसार खाँडेकामीलाई १० धार्नी फलाम दिई तरवार बनाउन लगाए । राजाले दिएको फलाम गालेर बन्देकामीले कुशलतापूर्वक अति राम्रो र सुन्दर तरवार बनाए । उक्त तरवार तनहुँसुर दरवारमा लगेर बुझाइयो । बुझाइएको तरवार पटक पटक बन्देकामीको आरानमा देखिएकोले तनहुँसुर दरवारमा भारदारी सभा बस्यो । तरवारमा दैवीशक्ति प्रवेश गरेकाले भगवतीले रुचाएको स्थानमा मन्दिर बनाई दैवीशक्ति युक्त तरवार (खड्गमाई) स्थापना गर्ने निर्णय भयो । राजाज्ञा अनुसार उक्त तरवारलाई बन्दिपुरमा नै स्थापना गरी आजपर्यन्त पूजाआजा गरिंदै आएको छ ।
अर्को तर्फ पाल्पाको राजा मणिमुकुन्द सेन बन्दिपुरको मुच्चुक डाँडामा मुकाम गरी बसेका थिए । एक दिन मुकुन्दसेन घुम्दै घुम्दै झप्रि पुगे। आफ्नो तरवार भट्राइ थरकी बाहुनीको घर राखेर देवघाट गए। उनी बन्दिपुर कहिल्यै फर्केनन् । त्यसको केही समयपछि तरवार काँपेर बाहुनीको घर पनि काँप्न थाल्यो । आलेथरको मगरलाई झाँक्री बसाइयो । उही झाँक्रीले यो घरमा कपडाले बेरेर राखेको तरवार राखिएको र उक्त तरवारमा देवी चढेकी हुनाले खड्गदेवीको पूजाआजा गर्नुपर्दछ भनेको थियो । कपडाले बेरेर सन्दुस भित्र राखिएको उक्त तरवारलाई झाँक्री स्वयंले बोकेर बन्दिपुरको डाँडामा लगेर स्थापना गरी पूजा गरेको हुनाले तरवारले काँप्न छोडेको हो भनिन्छ। खड्गमाई मन्दिरका पुजारीहरुलाई खाँडे पदबाट सम्वोधन गरिने परम्परा भएकाले यहाँका मगर पुजारीलाई आजपर्यन्त खाँडेमगर र बन्दिपुर निवासी कामी पुजारीहरुलाई खाँडेकामी भन्ने गरिन्छ । खड्गमाईको पूजा निरन्तर चलोस भन्ने ध्येयले वि.सं. १९२१ पौष १४ गतेका दिन नेपाल सरकारबाट जारी गरिएको सनदमा खड्गमाईका पुजारी भट्टर्राई ब्राहृमण, आले मगर खलकका खाँडेमगर र जडकामी खलकका खाँडेकामीलाई २०-२० मुरी खेत खान्की वापत दिएको र उक्त सनदलाई पटक पटक नविकरण गरिएको भेटिन्छ ।

खडगदेवी मन्दिरका पूजारीहरु
खड्गदेवी मन्दिरमा भट्टराइ थरका ब्राहृमण, आलेमगर थरका बास्ते, कामी थरका तरवार मर्दना गर्ने बास्ते, नेवार थरका अमाली, सुनार थरका सुनारी, कसाइ थरका टहलुवा, र्घर्ती थरका कलशी-खवासिनी, सार्की थरका चर्मकार, नगर्चीथरका बानादार, कुमाल थरका भारवाहक, गाइने थरका कटुवाल रहने गर्दछन्। जस्मा बन्दे कामीका सन्तानहरुमा बीरे कामी, टुइके कामी, बुधेकामी, बिल बहादुर कामी र रामबहादुर कामी खांडेकामीको भूमिका निर्वाह गर्दै आइरहेका थिए र छन् पनि । तरवाारमा दैवीशक्ति स्थापित गर्ने कामीहरु दसैंको घटस्थापनादेखि सप्तमीसम्म खड्गमाईको मन्दिर परिसरमा बस्ने, फूलपातीको दिन खोंमगरले मन्दिरबाट भगवती प्रतिमूर्ति तरवारलाई दशैं घरमा लैजाने र खाँडेकामीलाई बुझ्ने, खाँडेकामीले माइतीघरमा लगेर तरवार मर्दना गर्ने, कुखुरोको भोग दिइ पूजाआजा गर्ने, काँधमा तरवार बोकेर शप्तमीको फूलपाती शोभायात्रामा सहभागी हुने, फूलपाती शोभायात्राको अन्तिम स्थान चण्डीस्थान पुगेर तरवार खाँडेमगरलाई बुझाउने गर्दछन् ।
यसैगरी खड्गमाई मन्दिरको हालसालमा हुँदै आएको पूजाआजामा खाँडेमगरको भूमिकामा सहबीर आले, पदमबहादुर आले, तुलबहादुर आले र बाहुन पुजारीको भूमिकामा देवीदत्त भट्टराइको पनाति, केशरीदत्त भट्टराइको नाती होमनाथ भट्टराइको छोरा भरतमणी भट्टराइ, अमालीमा आनन्दमान जोशी, सुनारमा तीर्थलाल विश्वकर्मा, चिरागेमा सुकबहादुर कर्साई, कलशी खवासिनीमा ज्ञानी भूजेल, चामुण्डाको पूजारीमा रामचन्द्र भट्टर्राई चर्मकारमा अर्जुनबहादुर सार्की, बानादारमा चन्द्रबहादुर परियार र कटुवालमा रामबहादुर गान्धारीहरु देखिएका छन् ।
तनहुँसुरमा तोपको निर्माण कहिले भयो ?
तरवार, खुकुरी, खुंडा भाला, धनुषकाँण जस्ता हतियारले मात्र राज्यको सुरक्षा सम्भव हुन्छ भन्ने विषयमा चित्त नबुझेर तनहुँ सरकारले राजा कामारीदत्त सेनको मरणोपरान्त वि.सं. १९२८ को आसपासमा बन्दिपुरे बन्देकामीलाई तोप र बन्दुकहरु बनाउन फलाम र तोप तथा बन्दुकलाई आवश्यक बारुदकारखाना बनाउन सिलखान नामक जग्गा पनि उपलव्ध गराएको थियो । वि.सं. १८३४ मा नेपालले तनहुँका मधेश र तराइ खण्डमाथि आक्रमण गरेर नेपालमा गाभेपछि तनहुँ अझ त्रशित बन्न पुगेको थियो ।
राजाज्ञा अनुसार बन्दे कामीले तनहुँसुरमा दुइवटा ठूला तोप र बोकेर हिंड्न मिल्ने अरु ७ वटा साना तोपहरु पनि बनाएको जनश्रुतिमा रहेको छ । जसमध्ये दुइवटा साना तोपहरु हाल गोरखा संग्राहालयमा र दुइवटा दमौलीको सैनिक ब्यारेकमा राखिएका छन भन्ने चर्चा परिचर्चा रहेको छ । ठूलो मध्येको एउटा तोप अझै पनि तनहुँसुरको गोलाभञ्ज्याङमा बेवारिसे बनेर रहेको छ ।
अन्त्यमा
श्री ३ महाराज वीरशमशेरका छोरा गेहेन्द्रशमशेरले वीरगन, गे-राइफल, देबशमशेरको पालामा देव राइफल र चन्द्रशमशेरको पालामा च-राइफल बनाएर नेपालका प्रथम वैज्ञानिकमा नाम दर्ज भएको इतिहास पाइन्छ । तर वि.सं. १८३५ भन्दा अगाडिदेखि नै बन्देकामीले तनहुँमा तोप बनाएर प्रथम वैज्ञानिकमा आफ्नो नाम दर्ज गरेका थिए । नेपालको परिवेशमा हालसम्मका इतिहास राजामहाराजा र हुनेखानेहरुको मात्र लेखिएकोले बन्देकामी ओझेलमा परेका हुन् भन्न सक्दछौं । तनहुँको भिमाद र बागलुङको गलकोटमा नेपाली प्रविधिमा बनेका साङ्ले झोलुङ्गे पुल बनाउने साभुङका आर्फेकामीहरुको पहिचान गर्न नसक्दा उनीहरुको कुनै सम्मान गर्न सकिरहेका छैनौं ।
तर पहिचान तनहुँसुरको गोलाभञ्ज्याङमा नेपाली प्रविधिको फलामे पत्ताहरुले बनेको तोप र तोप बनाउने हतियार विशेषज्ञ बन्दे कामीको वंशधरहरु बन्दे जडकामी उनका सन्तानहरुमा द्वोन्दे जडकामी, उनका दत्ते जडकामी, उनका मुसे जडकामी, उनका गोरे जडकामी, उन्का टुइके जडकामी, उनका धने जड्कामी, उनका बुधे जडकामी, उन्का इन्द्रबहादुर जडकामी (फर्से), उन्का बिलबहादुर जडकामी, उनका बाबुराम जडकामी, शम्भुलाल जडकामी, उनका सुकबहादुर आले बि.क, उनका छोराहरु रामबहादुर बि.क. (बन्दिपुर खड्गदेवी मन्दिरका कामी पुजारी), श्यामबहादुर आले बि.क., जीवनबहादुर आले बि.क. र प्रेमबहादुर आले बि.क. र नातिहरुमा शिबआले महेश आले बि.क., रोचक आले बि.क. र लक्ष्मण बि.क. बन्दिपुर गाउँपालिकामा भेटिनु गौरवको विषय बनेको छ ।
नेपालका प्रथम हातहतियार विशेषज्ञ -वैज्ञानिक) बन्देकामीको जन्मस्थान बन्दिपुरको खड्गमाई मन्दिरको प्राङ्गढ र तनहुँसुरको गोलाभञ्ज्याङमा निजको सालिक बनाएर सम्मान गर्नुपर्ने देख्दछु। सैनिक दृष्टिकोणले अति महत्वपूर्ण स्थान तनहुँसुरको टुंडिखेलमा सैनिक संग्राहालय बनाउन स्थानीय निकायले पहल गर्न पर्ने जरुरी देखिन्छ ।
अन्त्यमा आफुना परबाजे बन्दे कामीले बनाएको तोपलाई बन्दिपुर निवासी सुकबहादुर आले बि.क.ले एक सिसाघर भित्र तोप राख्ने ठेलागाडा बनाएर सजाएर राख्ने इच्छा व्यक्त गर्नु भएको छ । पूर्खाको पौरखमा आफ्नो इतिहास समेट्न खोज्ने पितृभक्त सुकबहादुर बि.क.लाई हाम्रो तर्फाट मुरी मुरी बधाई ।










