चुनावी सरगर्मी बढ्यो : तनहुँमा रामचन्द्र पौडेललाई गोविन्दराज जोशी नै चुनौती

सविन लामिछाने/तनहुँ

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुइ प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको हो ।

जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि अहिले चियापसलदेखि चोक, चौतारीमा समेत चुनावी चर्चा चल्न थालेको छ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा उत्रिएका छन् ।

वि.सं. २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारसँग पराजित पौडेल यसपटक जसरी पनि निर्वाचित बन्ने दौडमा छन् । गत निर्वाचनमा जनतामा असझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यस पटक तनहुँका जनताले विजयी गराउनेमा विश्वासता बनेका छन् ।

तनहुँबाट यसअघि पाँच वटा चुनाव जितेका पौडेल अहिले सातौं पटक पुनः चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका पौडेललाई २०७४ को चुनावमा वाम गठबन्धनको समर्थन पाएका एमालेका उम्मेदवार कृष्णकुमार श्रेष्ठ (किसान) ले ६ हजार ८०२ मतान्तरले पराजित गरेका थिए ।

तर यसपटक एकीकृत समाजवादीमा रहेका नेता श्रेष्ठले नै पौडेललाई चुनाव क्षेत्र छोडिदिएर बारा-४ मा गएर चुनावी वातावरण सहज बनाइदिएका छन् । तनहुँ-१ बाटै उम्मेदवार सिफारिस भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई तनहुँ-२ मा र त्यहाँबाट टिकटको आकांक्षा राखेका केन्द्रीय सदस्य प्रदीप पौडेललाई काठमाडौं-५ मा पठाएर पौडेलले पार्टीभित्र सहज वातावरण बनाउन त सफल भएका छन् । तर, चुनावी मैदान भने उनलाई त्यति सहज देखिएको छैन ।

यसै क्रममा समानुपातिक पद्धतिको उम्मेदवारको सूचीबाट नाम फिर्ता लिएर तनहुँ-१ मा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराइको मनोनयन रोक्न पनि पौडेल सफल भएका छन् । उम्मेदवारी दर्ताअघि यी केही चुनौती पन्छाए पनि पौडेलविरुद्ध पूर्वसहमहामन्त्री गोविन्दराज जोशी र पूर्व जिल्ला सचिव विश्वनाथ बास्तोलाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएसंगै पौडेलको चुनावी मैदान कत्तिको सहज र असहज भन्ने विषयमा चर्चा चल्न थालेको छ ।

एउटै पार्टीमा रहँदा पनि जोशी जहिल्यै पनि पौडेलको प्रतिस्पर्धी थिए भने बास्तोला गत स्थानीय तहको निर्वाचन अगाडिसम्म सहयोगीका रुपमा थिए । स्थानीय तहको निर्वाचनमा व्यास नगरपालिकाको प्रमुखको टिकट नपाएपनि बास्तोला अहिले पार्टीबाट अलग भएर स्वतन्त्र भूमिका उभिएका छन् ।

जोशी र बास्तोलाले गठबन्धनको राजनीतिलाई अप्रजातान्त्रिक भन्दै यसले व्यक्तिको अधिकारलाई कुण्ठित गर्ने बताउँदै भोट मागिरहेका छन् । पौडेलले आफूहरु संविधान जोगाउने, जनतामा आशा जगाउने अभियानमा लगेको बताउँदै भ्रष्टाचार विकृति, विसंगतिलाई हटाएर आमनागरिकमा आशाको सञ्चार गर्न चाहेको दाबी गरेका छन् ।

जोशी र बास्तोलाले स्वतन्त्र उम्मेदवारी दिए पनि तनहुँ-१ मा पौडेलको मुख्य प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार एकबहादुर राना मगर चुनावी मैदानमा उत्रिएका छन् । भानु नगरपालिकामा जन्मेका र व्यास-२ स्थायी बसोबास गर्दै आएका राना मगरले तनहुँमा एमालेको संगठन कमजोर रहँदा पनि संघर्ष गरेका थिए ।

एमालेको केन्द्रीय सल्लाहकार परिषद सदस्य रहेका राना मगर यसअघिका चुनावमा गोविन्दराज जोशीसँगै पराजित भएका थिए । यसपाली जोशीले कांग्रेसको भोट काटेकै कारण राना मगरले चुनाव जित्नेमा एमालेका जिल्ला नेताहरु ढुक्क छन् ।

नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य बसुन्धरा घर्ती कांग्रेस तीन चिरा भएको र एमाले एक ढिक्का भएकाले आफ्नो मत मात्र जोगाउँदा पनि राना मगरको जित निश्चित रहेको बताउँछिन् । भन्छिन, ‘पहिला कांग्रेसमै रहेका जोशी, बास्तोला र पौडेल तीन जना उम्मेदवार हुनुहुन्छ, उहाँहरुमा कांग्रेसको मत बाडिँदा चुनाव हामीले जित्छौं ।’

बागीले भोट काट्ने खतरालाई बुझेर नै नेपाली कांग्रेसका जिल्ला नेताहरु बास्तोलालाई उम्मेदवारी फिर्ता गराउने अभियानमा लागेका छन् । बास्तोला र जोशी मध्ये एक मात्र उम्मेदवार भएमा पौडेललाई कुनै असर नगर्ने कांग्रेस तनहुँ जिल्ला सचिव लक्ष्मीभक्त खनाल बताउँछन् । ‘जोशी सरको साथ पौडेलले कहिल्यै पाउनु भएन,’ उनले भने, ‘असन्तुष्ट साथीहरुको सधैं असहयोग नै थियो, त्यसैले यसपाली उहाँ उठ्दैमा डराउनु पर्दैन ।’

२०७४ को चुनावमा जोशीले बागी उम्मेदवारी दर्ता गरेका थिए। तर पौडेलले उजुरी गरेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेको थियो । आफ्नो उम्मेदवारी खारेज भएपछि जोशीले एमाले उम्मेदवार श्रेष्ठलाई सहयोग गरे र पौडेललाई हराउन भूमिका खेलेका थिए ।

गत ३० वैशाखको स्थानीय तह निर्वाचनमा तनहुँ-१ मै पर्ने ब्यास नगरपलिकाको मेयरमा जोशीका छोरा दीपकराजलाई नेकपा एमालेले समर्थन गरेको थियो । यसपटक आफ्नै उम्मेदवार भएकाले जोशीले एमालेको साथ पाउने सम्भावना कम छ ।

कांग्रेस नेताहरु जोशी र एमालेका राना मगर उम्मेदवार रहँदा त्रिपक्षीय प्रतिस्पर्धा हुने र बाजी आफूहरुले मार्नेमा ढुक्क छन् । ‘भीडन्त त्रिपक्षीय हुने हो । त्यसमा हामीले बाजी मार्र्छौ’, खनालले भने, ‘किनकि हामीलाई गठबन्धनका साथ छ ।’

स्थानीय तहको मतमा कांग्रेसअघि

गत स्थानीय तह चुनावमा तनहुँ १ का वडाध्यक्षहरुले पाएको मत विश्लेषण गर्दा गठबन्धन अघि छ । कुल ७० हजार ८१९ मतमध्ये कांग्रेस एक्लैले ३३ हजार १०६ मत पाएको थियो । नेकपा माओवादी केन्द्रले ८ हजार ४७४ मत र नेकपा एकीकृत समाजवादीले ८९२ मत पाएका थिए ।

मत संख्याको आधारमा आफूहरु अघि रहेको र यसमा गठबन्धनबाट थपिने १० हजार मतले जोशीले काट्ने मतको भर्ताल हुने कांग्रेस जिल्ला सचिव बताउँछन् । स्थानीय तह चुनावमा एमालले २२ हजार २१० मत पाएको थियो । तर एमाले जिल्ला सदस्य र्घर्ती यो क्षेत्रमा आफूहरुको २५ हजार मत रहेको बताउँछिन् । उनी यो मत कतै विभाजन नहुनेमा ढुक्क छिन् ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker