लामो खडेरीले अदुवा उत्पादक कृषक मारमा

समयमा नै पानी नपरेपछि समय घर्किने भयले अदुवा उत्पादक कृषक चिन्तामा परेका छन् । बैशाख दोस्रो साताभित्र अदुवा लगाई सकिने भए पनि यस पटक पानी नपर्दा अदुवा लगाउन नसकिएको देवघाट-३ छिपछिपेका अदुवा उत्पादक कृषक रामबहादुर थापामगरले बताए । अदुवा बिक्रीबाट गत वर्षमात्रै करिब रु दुइ लाख हाता पारे पनि यस पटक समयमा नै पानी नपर्दा चिन्ता थपिएको थापामगरको भनाइ छ ।

“समयमा पानी नपर्दा अहिलेसम्म अदुवा लगाउन पाइएन”, थापामगरले भने, “समय घर्किएपछि लगाएको अदुवाले उत्पादन दिँदैन । त्यसैले हामी कृषक चिन्तामा छौँ ।” आफूहरूको गाउँका करिब २० घरका मानिसले गत वर्ष अदुवा बिक्री गरेर प्रतिपरिवार रु ५० हजारदेखि दुइ लाखसम्म हात पारे पनि यस पटक मकै गोड्ने बेलासम्म पानी नपर्दा चिन्ता थपिएको थापामगरको दुखेसो छ।

अदुवा उत्पादनको लागि देवघाट, ऋषिङ, घिरिङ र भिमाद गाउँपालिकालाई पकेट क्षेत्र मानिन्छ। तनहुँमा उत्पादित अदुवाको बजार भारत हो । अदुवाको सुठो र गाठो किन्न भारतीय व्यापारी घरमै आउने भएकोले पनि आफूहरू अदुवा खेतीतर्फ आकर्षित भएको छिपछिपेका अर्का कृषक इन्द्रबहादुर रानाले बताए ।

भारतीय व्यापारीले तनहुँ र नवलपरासीको पहाडी क्षेत्रबाट संकलित अदुवा नवलपुरको दलदलेमा संकलन डिपो राख्ने र त्यहाँबाट ट्रकमा भारत लैजाने गर्छन् । गत वर्ष प्रतिकिलोग्रामको करिब रु ७० देखि ८० मा अदुवा र बीउको करिब रु सयमा बिक्री गरेकोमा यस पटक पानी नपर्दा रोप्न नपाएको रानाको भनाइ छ।

आर्थिक वर्ष २०७९/२०८० मा जिल्लामा पाँच सय २२ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएकोमा पाँच हजार ६५४ मेटि्रक टन उत्पादन भएको कृषि ज्ञान केन्द्र तनहुँका वरिष्ठ कृषि प्रसार अधिकृत गोपाल शर्मा लामिछानेले जानकारी दिए । केन्द्रले अदुवा उत्पादक कृषक समूह र सहकारीलाई बीउ खरिदमा ७५ प्रतिशतसम्म अनुदानको व्यवस्था गरे पनि पानी नपर्दा अदुवा रोप्ने कार्यक्रम प्रभावित भएको वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले बताए ।

“समयमा पानी नपर्दा अदुवा उत्पादक कृषक प्रत्यक्ष मारमा परेका छन्”, वरिष्ठ कृषि प्रसार अधिकृत लामिछानेले भने, “केही दिन पानी नपरे खडेरीले अदुवा र मकै दुवै खेतीलाई असर पार्ने आंकलन गरेका छौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker