ऐतिहासिक र पर्यटकीय महत्वको तनहुँसूर

सानेबहादुर नेपाली

व्यास नगरपालिका-११ स्थित तनहुँसूर ऐतिहासिक र पर्यटकीय सम्भावना हुँदाहुँदै ओझेलमा परेको छ । समुद्री सतहबाट एक हजार २४५ मिटर उचाइमा रहेको तनहुँसूर पहिलेजस्तो भरिभराउ छैन, यहाँका बासिन्दा शहरकेन्द्रित भएका छन् । अर्कातर्फसरकारले पनि यसको ऐतिहासिक र पर्यटकीय महत्वलाई उजागर गर्ने खालका कुनै कार्यक्रम ल्याउन सकेको छैन । यसरी राष्ट्रिय महत्वको यो स्थल यतिखेर ओझेलमा परेको पाइएको छ ।

बाइसे चौबीसे राज्यका पालामा एक समृद्ध र शक्तिशाली राज्यका रूपमा स्थापित नेपालकै एक महत्वपूर्ण ऐतिहासिकस्थल हो तनहुँसूर । यो स्थल सदरमुकाम दमौलीबाट करिब २१ किलोमिटर दूरीमा रहेको छ । विसं १६१० सम्म पाल्पा राज्यअर्न्तर्गत पर्ने तनहुँ राज्य तत्कालीन पाल्पाली राजा मणिमुकुन्द सेन प्रथमले आफ्ना छोरालाई भागवण्डा गरेको समयदेखि विसं १८३९ सम्म एक स्वशासित अखण्ड राज्यका रूपमा तनहुँसूर रहेको थियो। प्रथम राजा भृङ्गी सेनदेखि अन्तिम राजा हरकुमार दत्तसेनसम्म करिब २३० वर्षको अवधिमा विभिन्न नौ सेनवंशी राजाले राज्य गरेको राजधानीको नाम हो तनहुँसूर ।

तनहुँसूरको टुप्पोमा रहेका तीनवटा टाकुरालाई त्रितुङ पनि भन्ने गरिन्छ। त्रितुङबाट अपभ्रंश भई तनुङ हुँदै तनहुँ नामाकरण हुन गएको इतिहासविद्हरूको भनाइ पनि पाइन्छ । ऐतिहासिक, पुरातात्विक एवं प्राकृतिक दृष्टिले महत्व बोकेको प्राचीन स्मारकस्थलका रूपमा तनहुँसूर परिचित रहेको छ । विसं २००७ को क्रान्तिमा बन्दीपुर अड्डा कब्जा गर्ने क्रममा तनहुँसूरका धर्मराज श्रेष्ठ, सन्तबहादुर राना, चन्द्रबहादुर सार्की र उत्तरकुमार श्रेष्ठले शहादत प्राप्त गरेका थिए । त्यसैगरी सोही क्रान्तिमा वसन्तपुरका खड्कबहादुर गोदार र पुलिमराङका धर्मध्वज गुरुङले पनि शहादत प्राप्त गरेपछि उनीहरूको सम्मानमा तनहुँसूरमा छ जनाको पूर्णकदको शालिकसहितको शहीद उद्यान (पार्क) निर्माण गरिएको छ ।

देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र जननिर्वाचित प्रतिनिधिले स्थानीय सरकारमार्फत सेवा प्रवाह पनि गर्दै आएका छन् । सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्न थालेसँगै आफ्नो पालिकाभित्र रहेका ऐतिहासिक, धार्मिक, सांस्कृति पर्यटकीय क्षेत्रहरूको खोजी अनुसन्धान गर्दै संरक्षण र संवर्द्धनका लागि चासो दिन पनि थालेका छन्। यस्ता अभियानले आफ्नो क्षेत्रको विकासका लागि मद्दत पनि गर्न सक्छ । तर तनहुँसूरमा भने यस्तो चासो कमै मात्र पाइएको छ ।

पर्यटकीय दृष्टिकोणले प्रचूर सम्भावना बोकेको भए पनि यसको प्रचारप्रसार हुन नसक्दा यो ऐतिहासिकस्थल भने ओझेलमा पर्दै गएको व्यास नगरपालिका-११ का वडाध्यक्ष नीरबहादुर खड्काले बताउनुभयो । तनहुँसूरको महत्व बुझेर यस क्षेत्रको मुहार फेरिने गरी विकास निर्माणका कार्य तथा प्रचारप्रसारका गतिविधिलाई तीव्ररूपमा अघि बढाउन थालिएको छ। उहाँले भन्नुभयो, “तनहुँसूरको गरिमा र महत्वलाई बुझ्न नसक्दा तनहुँसूर जहाँको त्यहीँ छ, बन्दीपुरले समयमै आफूलाई चिन्न सक्दा पर्यटकीय दृष्टिकोणले फड्को मारेको छ ।”

अहिले भने तनहुँसूरस्थित तनहुँसूर दरबारको पुनःनिर्माणपछि पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा स्थानीय बासिन्दाले गर्न थालेका छन् । जीर्ण बन्दै गएको दरबारको पुरातत्व विभागले उत्खनन गरेपछि पुनःनिर्माण शुरु गरेको हो । यो दरबारको पुनःनिर्माण रु ७० लाखको लागतमा भइरहेको छ । दरबार निर्माणपश्चात पर्यटकहरूको थप आकर्षणको केन्द्र बन्ने विश्वास गरिएको छ। विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसूर अहिले भने उजाडजस्तै बनेको छ ।

यहाँका नेवार समुदायको हटिया रित्तिएको छ भने हाटबजार पनि घटेका छन् । विकास र व्यापारको खोजीमा तनहुँसूरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाइँ सरेर गएपछि तनहुँसूर बस्तीविहीन बन्दै गएको हो । पछिल्लो समयमा तनहुँसूरमा विकास निर्माणका साथै मानिसका लागि आवश्यक पर्ने आधारभूत सुविधा पुग्ने क्रम भने अर्कातर्फ शुरु पनि भएको छ । यसबाट पनि यसअघि छाडेर गएका यहाँका बासिन्दा पुनः गाउँमै फर्किने अभियान पनि शुरु हुनसक्ने यहाँ बसोबास गरिरहेका स्थानीयवासीको आशा छ ।

तनहुँसूर भ्रमणका मुख्य आकर्षण के-के छन् ?

तनहुँसूर भ्रमणका लागि जाने आन्तरिक एवं बाहृय पर्यटकहरूले प्रसिद्ध हिमशृंखलाका साथै हिउँदमा वरिपरि उपत्यकामा लाग्ने कुहिरोको मनोरम दृश्यले त्यहाँ पुग्ने जो कोही पर्यटकको मन सजिलै लोभ्याउनेछ । तनहुँसूर उचाइमा रहेकोले त्यहाँबाट सूर्योदय र सूर्यास्त, तत्कालीन बाइसे चौविसे राजाहरूले प्रयोग गरेका दरबार तथा हातहतियारका अवशेष अझै पनि देख्न सकिन्छ । त्यसैगरी राजपरिवारले प्रयोग गरेका किल्ला, गढी, धारा, तोप, तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा अझै पनि सजिलै देख्न सकिन्छ ।

साउने कुवा, कुँडापानी, बाइस सिँढी चौतारी, ढुङ्गेसाँघु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैँचा, विष्णु शिव मन्दिर, चोरलाई सजाय दिने किल्ला, हात्ती बाँध्ने किल्लालगायतका ऐतिहासिकस्थलले पर्यटकको मन सजिलै आकर्षण गर्दछ । नेवार, मगर र दलित समुदायको बस्ती रहेको तनहुँसूरमा पछिल्लो समय सडक, बत्ती, खानेपानी, सञ्चार, स्वास्थ्यचौकी, सामुदायिक भवन, माध्यमिक विद्यालय, कृषि सहकारी र वाइफाइको समेत सुविधा पुगिसकेको छ । यस क्षेत्रको विकासका लागि व्यास नगरपालिका कार्यालयले प्राथामिकतामा राखेर काम गर्दै आएको छ।

तनहुँसूर इकोट्रेकको व्यवस्था

तनहुँसूर क्षेत्रको वातावरण संरक्षण एवं पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तनहुँसूर पर्यटन सम्पदा तथा वातावरण मेलाको अवसरमा तनहुँसुर इकोट्रेकको परिचयात्मक भ्रमण कार्यक्रम राखिएको छ । यही आउँदो वैशाख ५ देखि ७ गतेसम्म तनहुँसूर पर्यटन सम्पदा वातावरण मेलाको अवसरमा इको ट्रेकको कार्यक्रम राखिएको हो। उक्त ट्रेक व्यास नगरपालिका-११ को मूलपानीस्थित चमेरे गुफाबाट भगवती पानी-तनहुँसूर देवस्थल सामुदायिक घरवास हुदै तनहुँसूरगढीसम्मको करिब सात किलोमिटर दूरीको यात्रा गरिने छ ।

पदयात्रीका लागि गार्डसहितको विशेष भ्रमणको प्याकेज तय गरिएको बताइएको छ। उक्त मेला अवधिभर तनहुँसूर अन्तर्गतका पुरातात्विक सम्पदा एवं जैविक विविधता सम्बन्धी विभिन्न सामग्री फोटो, भिडियो लगायतको प्रदर्शनीकक्ष सञ्चालन गरिने बताइएको छ । ओझेलमा पर्दै गएको तनहुँसूर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविधतायुक्त पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न र तनहुँसूरमा सञ्चालनमा रहेका तनहुँसूर सामुदायिक र तनहुँसूर देवस्थल सामुदायिक गरी दुइ घरवासको प्रवर्द्धन गर्ने उद्देश्यले मेलाको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक एवं इञ्जीनियर धुव्रराज पण्डितले जानकारी दिनुभयो। मानव बस्ती नहुँदा उजाड बन्दै गएको तनहुँसूर क्षेत्रलाई पुनः हराभरा बनाउन र यहाँका विविधताको प्रचारप्रसार गरेर पर्यटकीय गन्तव्य स्थलका रूपमा परिचित गराउने उद्देश्यले मेला महोत्सवको आयोजना गरिएको उहाँले बताउनुभयो ।

सम्पदा तथा वातावरण मेलाको आयोजना

मानवबस्ती बिना गाउँबस्ती उजाड बन्दै गएकाले पर्यटकको चहलपहलमा वृद्धि गराइ यस क्षेत्रको मुहार फेर्ने गरी विभिन्न कार्यक्रमको आयोजना गर्न थालिएको छ । नेपालको पर्यटन प्रकृति र संस्कृतिमा आधारित रहे पनि पर्यापर्यटन वास्तवमा सबै क्षेत्रलाई प्रभाव पार्ने तत्वको रूपमा स्थापित भएको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताउनुभयो । उहाँका अनुसार भावी पुस्ताका लागि यो सुन्दर संसार बचाइराख्नका लागि जैविक विविधताको संरक्षण गर्दै दिगो पर्यटन विकासका लागि अहिलेको आवश्यकता रहेको छ । नेपाल भ्रमण वर्ष २०२० को उद्देश्यअनुरुप उत्साहजनकरूपमा सञ्चालनमा रहेका पर्यटकीय गतिविधीहरू एकाएक विश्वव्यापी महामारी कोरोनाका कारण अन्यालको अवस्थामा पुगेकाले पर्यटन क्षेत्रलाई पुनरुत्थान तथा हौसला प्रदान गर्नका लागि मेला महोत्सवले थप टेवा पुग्ने विश्वास गरिएको उहाँ बताउनुहुन्छ ।

नववर्ष २०७८ विश्व सम्पदा दिवसका अवसरमा राष्ट्रिय वन्यजन्तु सप्ताह र चैतेदशैँको अवसर पारेर तनहुँसूर पर्यटन सम्पदा तथा वातावरण मेलाको पनि आयोजना गरिएको सम्पदा नेपालका अध्यक्ष गुरुङ बताउनुहुन्छ । उक्त मेलामा स्थानीय समुदायको आयोजनामा अर्गानिक खानाको परिकारले पाहुनालाई स्वागत सत्कार गरिनेछ । सेलरोटी, तरुल, भ्याकुर, बटुकी, गुन्दु्रक, भट्ट, मकै, सिस्नोको सूप, लोकल कुखुराको मासु, फापर, मकै, रैथाने खसीबोका, र्टर्की, सुँगुरको अधिकतम प्रयोग गरी पकाइने खानाका परिकार स्टलमा समावेश गरिनेछ ।

फुटबल प्रतियोगिता

चैतेदशैँको अवसरमा बार्षिकरूपमा सञ्चालन गरिने खुल्ला फुटबल प्रतियोगितालाई यस मेलाको आकर्षण रहने बताइएको छ । पर्यटन विकास तथा संस्कृति संरक्षणसम्बन्धी अन्तरक्रिया, स्थानीय विद्यालय, बाल क्लब तथा आमा समूहहरूको सांस्कृतिक कार्यक्रम, ताना तरकारी तथा कृषिजन्य वस्तुको प्रदर्शनी एवं खरिद बिक्रीको व्यवस्था, स्थानीय जडीबुटी तथा कन्दमूलको खरिद बिक्री, आदिवासी जनजातिय वेषभूषा, झाँकी तथा संस्कृति झल्कने विविध कार्यक्रम तय गरिएको छ ।

मेला अवधिभर स्वदेशी तथा विदेशी पर्यटक, उद्योग, व्यवसायी, कृषक, पत्रकार, साहित्यकार, विद्यार्थी एवं शिक्षक तथा खोजकर्ताहरूका साथै विभिन्न पेशामा आवद्ध व्यक्ति गरी कम्तीमा ५० हजार अवलोकनकर्ता आउने अपेक्षा गरिएको छ । तीन दिनको अवधिमा एक हजारभन्दा बढीले सांस्कृतिक कार्यक्रमसहित घरवास र क्याम्पसाइटको अनुभव बटुल्ने विश्वास गरिएको छ ।

मेलाको प्रवर्द्धकमा पुरातत्व विभाग, डिभिजन बन कार्यालय, नेपाल सम्पदा संघ काठमाण्डौ, तनहुँसूर दमौली सम्पर्क मञ्च, भानु शान्ति निकुञ्ज विकास समिति, शहीद धर्मोत्तर सन्तधर्म चन्द्र खड्ग प्रतिष्ठान रहेका छन् । उक्त मेला सम्पन्न गर्नको लागि करिब रु नौ लाख खर्च हुने अनुमान गरिएको छ । व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसूरको शक्तिलाई बुझ्न नसक्दा पर्यटकीयस्थलको खानी तनहुँसूर ओझेलमा पर्दै गएकोले यसको संरक्षण गर्न लागिएको बताउनुभयो ।

सम्पत्तिका रूपमा रहेको तनहुँका पर्यटकीय क्षेत्रहरूको उचित संरक्षण र संवर्द्धन गर्न सकिए पर्यटकलाई आकर्षित गर्दै यस क्षेत्रकै आर्थिक विकास हुने सम्भावना बढी देखिएको उहाँ बताउनुहुन्छ । खेलकूदका माध्यमबाट खेल जगत्को संरक्षण गर्दै पर्यटन पवर्द्धन गर्ने उद्देश्यले व्यास नगरपालिकाले मानुङको-पुलिमराङको पुरुष म्याराथन दौड र दमौलीको व्यासगुफाबाट व्यास-११ तनहुँसुरसम्म महिला हाफ म्याराथन गर्दै आएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रथम व्यासनगर महिला खुला हाफ म्याराथन २०७७ यसै वर्षदेखि शुरुआत गरेको हो। रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker