बाढीले बगाउँदा भानुमा एक वृद्ध वेपत्ता
भञ्ज्याङ समाचारदाता/भानु

आइतबार रातीदेखि परेको झरीका कारण आएको बाढीले तनहुँको भानु नगरपालिका-११ मा एक जना वृद्धलाई बगाएर वेपत्ता बनाएको छ । सोमबार बिहान भानु-११ स्थित ढाँडफेदी खोला तर्ने क्रममा स्थानीय ६० वर्षीय चन्द्रबहादुर गुरुङलाई बगाएर वेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । वर्षाका कारण ढाँडफेदी खोलामा आएको बाढीले बगाउँदा गुरुङ बेपत्ता भएका र उनको खोजीकार्य जारी रहेको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।
यस्तै, वर्षाका कारण आएको बाढी पहिरोले भानु नगरपालिकाका विभिन्न ठाउँमा क्षति पुर्याएको छ । अविरल वर्षाका कारण भानु नगरपालिका-९ बाइसजाँगरदेखि लमजुङको पाँचभाई चौतारा जाने मोटरमार्ग समेत भत्किएको छ भने मर्स्याङ्दी नदी माथिको झोलुङ्गे पुलमा समेत क्षति पुगेको छ ।
उक्त पहिरोले स्थानीय राहरी रोक्का (कान्छा दाई)को बंगुर, बाख्रा, हाँस, गाईको गोठ समेत पूर्णरुपमा क्षति पुर्याएको बताइएको छ । भानु मोटर मार्ग अन्तरगत भानु-२ र ५ वडा नं. जोड्ने चुँदी खोलाको बाङ्गेरुअ पुलको पर्खाल भत्काउँदा यातायातका साधन सञ्चालनमा आउन सकेका छैनन् ।
यस्तै, वर्षाका कारण भानु नगरपालिका-७, ८ र ९ का विभिन्न ठाउँमा कृषि बालीमा ठूलो क्षति पुर्याएको स्थानीय कृषक सीताराम बजगाइले जानकारी गराएका छन् । उनका अनुसार बीउ राखेको व्याड, खोलाखेत, कुलाहरुको बाँध वर्षाले क्षति पुर्याएको छ ।