दमौलीका कुमारमोहनलाई रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार
भञ्ज्याङ न्यूज

पोखरा फोटोग्राफर संघद्वारा संचालित ‘रामलाल श्रीमाया फोटोग्राफी पुरस्कार’ तनहुँका फोटोग्राफर कुमार मोहन श्रेष्ठलाई प्रदान गरिने भएको छ । १८२औं विश्व फोटोग्राफी दिवसको अवसरमा पोखरा फोटोग्राफर संघ पोखरा, नेपालले बिहिवार एक कार्यक्रमका विच उक्त पुरस्कार घोषणा गरेको हो ।
गण्डकी प्रदेश भरीबाट आएका सिफारिशका आधारमा ११ जिल्ला मध्येबाट श्रेष्ठलाई छानिएको पुरस्कार छनोट समिति संयोजक राममणि पौडेलले बताए। पुरस्कार राशि २५ हजार ५५५ सहित सम्मानपत्र रहेको छ । पोखराका फोटोग्राफर गणेश छवि/तिर्थ श्रेष्ठले पिता रामलाल श्रेष्ठ र माता श्रीमाया श्रेष्ठको सम्मानमा १ लाख ५५ हजार अक्षयकोष राखी स्थापना गरेको सो पुरस्कार प्रत्येक २ वर्षमा प्रदान गरिँदै आएको छ ।
फोटोग्राफी व्यवसाय तथा फोटो माध्यमबाट समाजमा उल्लेख्य योगदान दिने फोटोग्राफरलाई प्रदान गरिने सो पुरस्कारबाट यस अघि पोखराका अग्रजफोटोग्राफर विश्वरत्न शाक्य, नारायण बाटाजु, रमा राना र मदन सुब्वा सम्मान भइसकेका छन् । पोखरा फोटोग्राफर संघका अध्यक्ष जनक तिवारीका अनुसार उक्त पुरस्कार आगामी साधारण सभामा प्रदान गरिने छ ।
श्रेष्ठ बिगत ५० वर्षदेखि फोटोग्राफी पेशामा रहेका र उनले सम्झनाफोटो दमौली संचालन गरिरहेका छन । यतिलामो इतिहास बोकेका फोटोग्राफरलाई पुरस्कृतमा छनौट गर्न पाउदा फोटोग्राफरहरुको शिर उँचो भएको छनौट समिति सदस्य दुर्गा प्रसाद पौडेलले बताए ।










