भिमादको हुक्का डाँडामा आँखा शिविर : करिब ४०० जनाले लिए सेवा, १५ जनामा मोतियाविन्दु पहिचान

भिमाद : तनहुँको भिमाद नगरपालिका–१ हुक्का डाँडामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । हुक्का मियाँ गाउँ मुस्लिम समाजले आयोजना तथा हिमालय आँखा अस्पताल, पोखरा घारीपाटनको प्राविधिक सहयोगमा बिहीबार सञ्चालन गरिएको शिविरमा करिब ४०० जनाले सेवा लिएका छन् ।
मदर्शा गौसिया आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित शिविरमा आँखाको परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा निःशुल्क प्रदान गरिएको आयोजकले जनाएको छ । शिविरकै अवसरमा समाजको प्रथम साधारणसभा समेत सम्पन्न गरिएको छ भने इस्लामिक शैक्षिक सामग्री पनि वितरण गरिएको बताइएको छ ।
उक्त शिविरमा १५ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको हिमालय आँखा अस्पतालकी नेत्र अधिकृत तस्बिरन मियाँले जानकारी दिइन्। उनका अनुसार ती बिरामीको शल्यक्रिया आवश्यक रहेको छ भने जटिल समस्या भएका बिरामीको निःशुल्क शल्यक्रियाको व्यवस्था समेत गरिएको छ । शिविरका क्रममा धेरै व्यक्तिमा दृष्टिदोष -भिजन समस्या) पनि देखिएकाले नियमित आँखा परीक्षण गराउन उनले सुझाव दिइन् ।
उनले भनिन्, …बालबालिकालाई लामो समयसम्म मोबाइल, ट्याबलेट तथा अन्य डिजिटल उपकरण प्रयोग गर्न दिनु आँखाको स्वास्थ्यका लागि हानिकारक हुने भएकाले अभिभावक सचेत हुनुपर्ने देखिएको छ ।Ú
कार्यक्रममा संविधानसभा सदस्य टुकराज सिग्देलले उपचारभन्दा रोग लाग्न नदिनु नै सबैभन्दा प्रभावकारी उपाय भएको बताए। दुर्गम तथा पिछडिएको क्षेत्रमा सञ्चालन गरिएको यस्ता स्वास्थ्य शिविरले ग्रामीण नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्दै उनले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेकपा -एमाले) भिमादका अध्यक्ष ईमानबहादुर थापा, नेपाली कांग्रेस भिमादका सभापति अरविन श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी भिमादका सचिव अमृत थापा तथा स्थानीय दिना गोतामेले हुक्का मियाँ गाउँ प्रवास समाजले स्वास्थ्य, शिक्षा र सामाजिक क्षेत्रमा पु¥याउँदै आएको योगदानको प्रशंसा गरे । उनीहरूले आँखा मानव शरीरको संवेदनशील अंग भएकाले समयमै परीक्षण र उपचार गराउनुपर्ने आवश्यकता औंल्याए ।
वक्ताहरूले पछिल्लो समय आन्तरिक पर्यटकको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको लिलिङकोट–हुक्का डाँडाको संरक्षण, प्रवद्र्धन तथा पूर्वाधार विकासमा सम्बन्धित निकायले विशेष ध्यान दिनुपर्ने धारणा पनि राखे ।
हुक्का मियाँ गाउँ मुस्लिम समाजका अध्यक्ष दिन महम्मद मियाँले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै व्यक्ति, संस्था तथा स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि समाज सेवामूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । उनले लिलिङकोटस्थित ईदगाहलाई विवादरहित रूपमा संरक्षण गरी धार्मिक तथा सांस्कृतिक सम्पदाका रूपमा विकास गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको बताए ।
संस्थाका कोषाध्यक्ष जबिरुल्ला मियाँले शिक्षा, स्वास्थ्य र सामाजिक सेवाका क्षेत्रमा समाजको सक्रियता आगामी दिनमा पनि जारी रहने बताए । उनले लिलिङकोट–हुक्का डाँडामा घुम्न आउने पर्यटकले जथाभावी फोहोर फाल्ने प्रवृत्तिले प्राकृतिक सौन्दर्यमा असर परेको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको जिम्मेवारी रहने बताए ।
ग्रामीण क्षेत्रमा विशेषज्ञ स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको उक्त शिविरले स्थानीयवासीमा आँखा स्वास्थ्यप्रति जनचेतना अभिवृद्धि गर्नुका साथै समयमै रोग पहिचान र उपचारमा महत्वपूर्ण योगदान पु¥याएको आयोजकको विश्वास छ ।










