बन्दिपुरको गाईजात्रा : भक्तपुरका नेवारसँगै भित्रिएको परम्परा

कृष्ण न्यौपाने

आजभन्दा २५० वर्ष पहिला भक्तपुरका नेवार व्यापार गर्न तनहुँको बन्दिपुर बसाइँसराइ गरी आए । भक्तपुरबाट आएका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीले बन्दिपुरलाई थाततलो बनाए । भक्तपुरबाट उनीहरु मात्रै बन्दिपुर आएनन्, सँगै आएको थियो भक्तपुरे नेवारी संस्कृति ।

विसं १८२५ तिर पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दा भक्तपुरका प्रधान, पिया, श्रेष्ठ, मल्ल र जोशीहरु बन्दिपुर पसेको इतिहास छ । व्यापार गर्न बन्दिपुर छिरेका भक्तपुरका नेवारकै कारण बन्दिपुरमा आजसम्म गाईजात्राको परम्परा कायम छ ।

त्यहीबेलादेखि नै बन्दिपुरमा भक्तपुरको शैलीमा विभिन्न जात्रा र पर्व मनाउँदै आएको बन्दिपुर नेवा पुचका अध्यक्ष किसान प्रधान बताउनुहुन्छ । “भक्तपुरबाट बन्दिपुरमा नेवार मात्रै छिरेनन्, जात्रा र संस्कृति पनि छि¥यो । उनीहरुले बन्दिपुरमा व्यापार मात्रै गरेनन् । पर्व र संस्कृतिको पनि संरक्षण गर्दै आए”, प्रधानले भन्नुभयो । साढे दुई सय वर्ष पहिलादेखि नै बन्दिपुरमा भाद्र कृष्ण प्रतिपदाका दिनमा गाईजात्रा पर्व भव्यताका साथ मनाउँदै आएको उहाँले सुनाउनुभयो ।

उहाँका अनुसार बन्दिपुरका नेवारले नयाँ वर्षमा मनाउने बिस्केट जात्रादेखि हरेक संस्कृति भक्तपुरे शैलीमा मनाउँदै आएका छन् । “हाम्रा पुर्खाले मनाउँदै आएका पर्व र संस्कृति बिर्सने कुरा हुँदैन, प्रत्येक वर्ष त्यसलाई निरन्तरता दिँदै आएका छौँ”, प्रधानले भन्नुभयो ।

बन्दिपुरमा बस्ती मगर समुदायले बसालेका हुन् । त्यसैकारण बन्दिपुरको नामकरण मगर भाषामै गरिएको छ । वन भनेको जङ्गल र डि भनेको मगर भाषामा पानी हो । विस्तारै मगर समुदाय यहाँबाट पलायन हुन थाले र नेवार समुदायको उपस्थिति बढ्न थालेको बताइन्छ । कोरोना कहर सुरु भएपछि भने बन्दिपुरमा पहिलाको जस्तो गाईजात्राको रौनक हराउँदै आएको छ । “निकै उल्लासमय रूपमा गाईजात्रा मनाउने प्रचलन रहँदै आएको छ, तर कोरोना महामारीका कारण धेरै भीडभाड गर्न नहुने, संस्कृति जोगाउनका लागि भए पनि सतर्कता अपनाएरै गाईजात्रा मनाउँदै आएका छौँ”, उहाँले भन्नुभयो । प्रधानले आज पनि बन्दिपुरमा गाईजात्रा मनाउने तयारीमा आफूहरु जुटेको बताउनुभयो । बन्दिपुर बजारमा मात्रै १३४ घरधुरी नेवार समुदायको छ ।

बन्दिपुरमा भक्तपुरे शैलीका घर निर्माण गरिएका छन् । बन्दिपुरमा नेवार समुदायले बिस्केट जात्रा, लाखे नाच, गाईजात्रा, बाघ जात्रा, रोपाइँ जात्रालगायत मनाउँदै आएका छन् । भक्तपुरे शैलीमा निर्माण गरिएको आकर्षक घर हेर्नकै लागि बन्दिपुरमा देश तथा विदेशबाट पर्यटकको ओइरो लाग्छ ।

विसं २०२५ सम्म बन्दिपुर तनहुँको सदरमुकाम थियो । त्यसपछि सदरमुकाम दमौलीमा सारिएको थियो । सदरमुकाम दमौली सारिएपछि बन्दिपुर एकाएक खण्डहर जस्तै भयो । बन्दिपुरको व्यापार ओरालो लाग्ने क्रम सुरु भयो । विसं २०४९ मा काठमाडाँैमा बसोबास गर्दै आएका बन्दिपुरे जुर्मुराए । सामाजिक अगुवा चिजकुमार श्रेष्ठको अग्रसरतामा गठन भएको बन्दिपुर सामाजिक विकास समितिले काठमाडौँका भएकालाई कम्तीमा वर्षको एकपटक बन्दिपुर पुग्नैपर्ने नियम बनायो ।

विसं २०५३ मा सरकारको सहयोगमा बन्दिपुर प्रोजेक्ट शुरु गरिएको थियो । बन्दिपुर प्रोजेक्टमार्फत नै बन्दिपुरका पुराना पुरातात्विक महत्वका घरको संरक्षण सुरु भएको श्रेष्ठ बताउनुहुन्छ । भक्तपुरे शैलीमा घर पुनःनिर्माण भएपछि विदेशी पर्यटक फेरि बन्दिपुर भित्रिन थालेको उहाँ सम्झनुहुन्छ । बन्दिपुरका साथै तनहुँका विभिन्न ठाउँमा आज गाईजात्रा मनाइँदैछ । व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, भिमाद नगरपालिका, ऋषिङ गाउँपालिकामा नेवार समुदायको बाक्लो बसोबास छ । वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा गाईजात्रा पर्व मनाउँदै आएको छाङ्गेली नेवा खल दमौलीका पूर्वअध्यक्ष क्याप्टेन तारालाल मल्लले बताउनुभयो ।

राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको ऐतिहासिक तथ्य छ ।

एक वर्षभित्र मृत्यु भएका आफन्तको सम्झनामा आजका दिन नेवार समुदायले गाई वा बाँसको डोकोलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा छ । रासस

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker