विभिन्न समुदायको संस्कृति प्रदर्शनका लागि दमौलीमा “बहुजातीय सांस्कृतिक महोत्सव”

तनहुँको व्यास नगरपालिकाभित्र बसोबास गर्ने विभिन्न जातजातिका कला, संस्कृति प्रदर्शन र संरक्षणका लागि दमौलीमा बुधबारदेखि तीन दिने सांस्कृतिक महोत्सव सञ्चालन गरिएको छ ।

व्यास नगर प्रज्ञा प्रतिष्ठानले व्यास नगरपालिका–३ खुल्ला मैदानमा सञ्चालन गरेको सांस्कृतिक महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले तनहुँ कला, संस्कृतिले धनी जिल्ला भएको र यस्ता कार्यक्रमले मौलिक संस्कार संस्कृति जगेर्ना मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

सांसद श्रेष्ठले आफ्नो संस्कृति र संस्कार गुमाए स्वयं व्यक्ति र देशको पहिचान नै गुम्ने चर्चा गर्दै संरक्षणको दायित्व हामी सबैको भएकाले सबैले आ–आफ्नो ठाउँबाट हाम्रा परम्परागत संस्कार संस्कृति संरक्षण तथा प्रवद्र्धन गर्दै लाभ लिनुपर्ने बताए । उनले व्यास नगरपालिकाको यस कदमले पुरानो भाषा, संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तालाई ज्ञान दिन मद्दत पुग्ने बताए ।

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले मेला महोत्सवले विभिन्न जातजातिका संस्कार, संस्कृति, धार्मिक, सांस्कृतिक क्षेत्रको संरक्षणलाई प्रोत्साहन गर्ने चर्चा गर्दै नेपालको पहिचान भनेको संस्कृति र प्रकृति भएकाले यसको संरक्षणमा सरकार तथा सरोकारवाला निकायले ध्यानपुर्‍याउनुपर्ने बताए ।

नगरप्रमुख एवं व्यास नगर प्रज्ञा प्रतिष्ठानका कुलपति वैकुण्ठ न्यौपानेले ओझेलमा परेको कला, संस्कृति र भाषालाई संरक्षण, संवर्धनसँगै विकासका लागि महोत्सव गरिएको बताए । उनले महोत्सवले संस्कृति, इतिहास, पुरातात्विक क्षेत्र लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा टेवा पुग्ने अपेक्ष गरिएको बताए।

नगर प्रमुख न्यौपानेले भने, ‘यस महोत्सवले ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण र विकासका लागि अध्ययन, अनुसन्धान, उत्खनन तथा प्रचारप्रसार गर्न टेवा पुग्ने विश्वास गरेका छौं ।’

व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा विभिन्न राजनीतिक दल, संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुले महोत्सवले विशेषगरी सिर्जनशीलताको प्रवद्र्धन र परिचालन गरी स्थानीय जनसहभागिता अभिवृद्धि गर्दै सामुदायिक विकास गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

समाजमा विद्यमान धर्म, प्रथा, परम्परा, रीति तथा संस्कारका नाममा हुने सबै प्रकारका विभेद, असमानता, शोषण र अन्यायको अन्त्य गर्न यस्ता कार्यक्रमले मद्दतपुग्ने वक्ताहरुले बताएका छन् ।

संस्कृति भनेको देशको मूल परिचय भएको यसको जर्गेना गर्न महोत्सव आयोजना गरिएको कला तथा संस्कृति विभाग संयोजक देवीबहादुर बस्नेतले बताए। नगरपालिकाभित्रका ऐतिहासिक, पौराणिक, पुरातात्विक, पर्यटकीय क्षेत्रका साथै विभिन्न समुदायका कला, संस्कार, संस्कृति लोपोन्मुख अवस्थामा पुगेकाले संरक्षणमा प्रोत्साहन पुग्नेले उनले विश्वास व्यक्त गरे ।

पछिल्लो समय कला, संस्कृति लोप हुँदै गएकाले त्यसलाई संरक्षण गर्दै अहिलेका पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यसहित कला संस्कृतिको संरक्षण गर्न पहल गरिएको प्रज्ञा प्रतिष्ठानका सदस्य बस्नेतले बताए ।

फागुन ९ गतेसम्म सञ्चालन हुने उक्त सांस्कृतिक महोत्सवमा विभिन्न जातजातिका बालन नाच, भजन, चुड्का, कौराहा, सोरठी, स्वराही, पाउदुरे, शंखध्वनि, झ्याउरे, घाँटु नाचका साथै मूर्ति, चित्रकला लगायतको प्रदर्शनी गरिने बताइएको छ।

यस्तै, कार्यक्रममा सहभागी सबै जातीय समूहलाई नगद दश हजाररुपैयाँका दरले सहयोग प्रदान गरिने भएको छ । त्यस्तै झाँकीमा सहभागीमध्येबाट प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः दश हजार, सात हजार र पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने भएको छ ।

भिडियो हेर्नका लागि तलको लिंक खोल्नुहोला ।

https://www.youtube.com/watch?v=-LxkX0giqhU

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker