एक केजी चिनीमा रु १६ नाफा

रासस

चाडपर्व नजिकिएसँगै बागलुङमा उपभोग्य वस्तुको मूल्य वृद्धि हुन थालेको छ । बागलुङमा सरकारले तोकेको नुन, चिनीको मूल्यभन्दा निकै महङ्गोमा खरिद बिक्री भएको उपभोक्ताले गुनासो गरेका छन् । सरकारले तोकेको चिनीको मूल्य रु ७९ र नुनको मूल्य रु १८ छ तर एक किलो चिनीमै रु १६ र नुनमा रु सात बढी मूल्य उपभोक्ताले तिर्दै आएका छन् । अहिले बजारमा भने उपभोक्ताले चिनीको रु ९५ र नुनको रु २५ दिँदै आएका छन् ।

चाडबाडको समयमा सस्तो मूल्यमा नुन, चिनी बिक्री गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेशन डिपो कार्यालय बागलुङले समयमै नुन, चिनी बिक्री नगर्दा उपभोक्ता झनै मर्कामा परेका छन् । कर्पोरेशनले समयमै चिनी ढुवानी नगर्दा उपभोक्ताले चर्को मूल्यमा चिनी खरिद गर्दै आएका छन् । अहिले बजारमा चिनीको मूल्य प्रतिकेजी रु १०० छ । चाडबाड नजिकिए कर्पोरेशनको डिपो कार्यालय बागलुङले नुन, चिनी वितरण गर्ने सुरसार नै गरेको छैन ।

सरकारले असोज १० गतेदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउन भने पनि हालसम्म बागलुङमा त्यस्ता पसल खुल्न सकेका छैनन् । चाडबाडको समयमा अन्य कुरा महङ्गोमा किन्दै आए पनि नुन, चिनी सुपथ मूल्य पसलबाटै खरिद गर्दा उपभोक्ताले राहत महसुस गर्दै आएका थिए तर यस वर्ष सुपथ पसल सञ्चालनमा नआउँदा समस्या भएको उपभोक्ता हरिप्रसाद सापकोटाले बताउनुभयो ।

“विगतका वर्ष किलोमै रु १५ सस्तो र नुन रु चार सस्तोमा पाइन्थ्यो, अहिले चिनीको मूल्य बढेर प्रतिकेजी ९५ पुगेको छ भने नुनको मूल्य रु २५ पुगेको छ”, उपभोक्ता सापकोटाले भन्नुभयो, “उपभोक्ताले चाडबाडको मुखमा महङ्गो मूल्य तिर्दासमेत सरकोकारवाला निकाय मौन छ ।” बिचौलियाले एक केजी चिनीमै रु १६ र एक केजी नुनमा रु सात नाफा खाँदै आएका छन् ।

भारतबाट चिनी आयात नहुँदा दशैँअघि नुन, चिनीको सुथप पसल खोल्ने सम्भावना निकै कम रहेको कर्पोरेशन डिपो कार्यालय बागलुङका प्रमुख मनोज श्रेष्ठले बताउनुभयो । “भन्सार छुट प्रक्रियाले ढिलाइ भएको भन्ने जानकारी पाएको छु, म निरन्तर सम्पर्कमा भए पनि दशैँअघि चिनी आउने सम्भावना निकै कम छ, चिनी आउनासाथ पसल खुल्नेछ”, उहाँले भन्नुभयो । भन्सार छुटका लागि आपूर्तिले अर्थ मन्त्रालय, अर्थ मन्त्रालयले भन्सारमा चिठ्ठी पठाउनुपर्ने र प्रतिस्थापन बजेटले गर्दा केही समस्या भएको बुझिएको उहाँको भनाइ छ । चिनी आए तिहारमा भए पनि सस्तो मूल्यमा उपभोक्तालाई वितरण गर्ने योजना रहेको श्रेष्ठले बताउनुभयो ।

कहिले चिनीको मूल्य निर्धारण नहुँदा गोदाममै चिनी थन्किएको र अहिले चिनीको मूल्य समयमै निर्धारण भए पनि चिनी नआएको डिपो कार्यालयको भनाइ छ । गोदाममा नुन रहे पनि चिनी नआउँदा सस्तो पसल खुल्न नसकेको डिपो कार्यालयको भनाइ छ । डिपोले थोक मूल्यमा उपलब्ध गराएको नुन, चिनी सस्तोमा बिक्री गर्न आग्रहसमेत गर्दै आएको छ।

कर्पोरेशन डिपो कार्यालय बागलुङले चिनी दिन नसकेपछि खुला बजारमा चिनीको मूल्य बढेको हुनसक्ने तर नुनको मूल्य भने बढाउन नपाइने बागलुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो । “सरकारले तोकेको मूल्यमा व्यापारीले चिनी नपाएको गुनासो छ, त्यसैले बजारमा प्रतिकेजी रु ९५ परेको होला तर नुन त रु १८ मा खरिद गरेपछि २० मा बिक्री गर्नुप¥यो”, प्रजिअ कार्कीले भन्नुभयो, “रु २५ मा नुन, बिक्री गरेको गुनासोसमेत आएको छ, यस्तो गर्न पाइँदैन, हामीले त्यस्ता व्यपारीलाई तत्कालै कारबाहीको दायरामा ल्याउने छौँ ।”

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker