चौथो व्यास नगर महिला हाफ म्याराथनको उपाधि रोल्पाकी वि.कले जितिन्

जिल्लाको व्यास नगरपालिकाले आयोजना गरेको चौथो खुल्ला व्यास नगर महिला हाफ म्याराथन–२०८१ को उपाधि रोलपाकी आस्मा वि.कले जितेकी छन् ।व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटरको दूरी एक घण्टा ५७ मिनेट ३४ सेकेण्डमा पार गरी उपाधि जितेकी हुन् ।
७८ औं सहिद दिवसको अवसरमा आयोजना गरिएको प्रतियोगितामा ओखलढुङ्गाकी लक्पा ङिमा शेर्पा द्वितीय र उदयपुरकी विमला तामाङ तृतीय भएकी छन् । उनीहरुले उक्त दुरी क्रमशः २ घण्टा ४ मिनेट ५३ सेकेण्ड र २ घण्टा १२ मिनेट ३८ सेकेण्डमा पूरा गरेका थिए ।
यस्तै, व्यास–१० की नम्रता गुरुङ, व्यास–४ की सन्ध्या अधिकारी, व्यास–४ की अस्मिता थापा, व्यास–३ की संगीता रानाभाट र व्यास–११ की युना मजकोटी सान्त्वना भएका छन् ।
३३ जना धावकको सहभागिता रहेको प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ४१ हजार ८१, ३१ हजार ८१ र २१ हजार ८१ रुपैयाँ नगद सहित ट्रफी, प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । यसैगरी सान्त्वना हुने ५ जनालाई जनही ११ हजार ८१ रुपैयाँ नगद सहित ट्रफी, प्रमाणपत्र प्रदान गरिएको छ ।
व्यास गुफाबाट सुरु भएको प्रतियोगिता जिल्ला प्रहरी कार्यालय पछाडिबाट न्यूरोड भेटघाट चोक हुँदै गणेशमान चोक, सत्यवती मावि, मालपोतलाइन, सफा सडक हुँदै पृथ्वी राजमार्गको तालघरे, रानीगाउँ, दरैपाधेरा, पराजुलीचोक, बेलटारी, खड्गकाली मार्गको चिसापानी, अर्चलचौर, धरमपानी, पत्यारथोक, गंगाथोक, चण्डीथान हटिया–धानगोदाम हुँदै व्यास–११ स्थित ऐतिहासिकस्थल तनहुँसुर दरबारमा पुगेर टुङ्गिएको थियो ।
वेदव्यासको जन्मभूमि, पराशर ऋषिको तपोभूमि दमौली र ऐतिहासिक स्थल तनहुँसुरको खेलकुदका माध्यमबाट प्रचारप्रसार गर्ने उद्देश्यका साथ म्याराथन गरिएको व्यासका नगरप्रमुख बैकुण्ठ न्यौपानेले बताए ।










