बन्दिपुरका कृषक अर्गानिक खेती तर्फ उत्साहित
डिपि अधिकारी/बन्दिपुर

बन्दिपुर गाउँपालिका र कृषि ज्ञान केन्द्र तनहुँले कृषका खेतबारीमै पुगेर अर्गानिक खेती तर्फ आकर्षित गर्न विभिन्न सचेतना मुलक कार्यक्रमहरु सञ्चालन गर्न थालेका छन् । यही कार्यक्रम अन्तरगत शनिबार वडा नं. ५ को थुम्काका कृषकहरुमा तरकारी खेतीमा विषादीको प्रयोग गर्दा हुने असर र लापरवाही गर्दा मानवीय स्वास्थ्यमा पार्ने असरका विषयमा सचेत गराइएको छ ।
उमेरले ६० को हाराहारीमा पुग्न आँटेका बन्दिपुर-५ थुम्काका द्रोण प्रसाद लामिछानेलाई बारीमा लगाएको तरकारीमा किरा लागेपछि चिन्ताले सतायो । किरा मार्ने औषधी किन्नको लागि छोरीलाई पठाउँछन् । छोरीले किरा मार्ने दबाई भन्दै रातो संकेत गरेको विषादी ल्याई बाबालाई दिन्छिन ।
बाबाको अभिनय गर्ने लामिछानेले हचुवाको भरमा भए भरको विषादी फल्दै र फूल्दै गरेको काउलीमा छर्कन्छन् । विषादी छर्किएर घर फर्किएपछि भोक लाग्यो भन्दै आँफूसँग भएको बिस्कुट हातै नधोई खान्छन् । अन्ततः साँझ पर्दै जाँदा उनलाई टाउको दुख्ने, रिंगटा लाग्ने, जिउ कमजोर भएर थरथर हुन्छ ।
बाबाकै आग्रहमा गाउँकै रिठ्ठे झाँक्री (ताम प्रसाद भट्ट)लाई हेरखोज गरी उपचार गर्न लगाईन्छ । तर, ब्याथाले अझै च्याप्दै गएपछि आखिर डाक्टरले उपचार गरिदिन्छन् । त्यहि क्रममा कृषि प्राविधिक (मञ्जु लामिछाने) आएर बिरामी पर्नुको कारण कडा खालको विषादी र यसको प्रयोग गर्दा अपनाउनु पर्ने सावधानी नअपनाउँदा यस्तो अवस्था भएकाले खेतीबालीमा अर्गानिक खेती प्रणाली र जैविक विषादीको प्रयोग गर्न सुझाईन्छ ।
जब अभिनय सकियो, तब कार्यक्रममा उपस्थित बन्दिपुर गाउँपालिकाका अध्यक्ष पूर्णासिं थापा, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी लगायतकाले ताली बजाउँदै प्रशंसा गर्छन् । अध्यक्ष थापाले विषादीको अनुचित प्रयोगले मानिसमा क्यान्सरको जोखिम बढ्ने भएकाले अर्गानिक खेतीका लागि गाउँपालिकाले सक्दो सहयोग गर्ने र बजार ब्यवस्थापनमा पनि सघाउने प्रतिवद्धता जनाउँछन् ।
ज्ञान केन्द्रका प्रमुख तिवारीले देशको कृषि क्षेत्र धाराशायी हुँदै गएको भन्दै आयात घटाउनु पर्नेमा जोडदिए । उनले किसानलाई अनुदान दिंदा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार बिच तालमेल हुनु पर्ने र किसानका समस्या ठाउँका ठाउँ समाधान गर्न प्राविधिकको दरबन्दीमा वृद्धि गर्न जोड दिए ।









