दमौली–भरतपुर प्रसारण लाइन : ८१ टावर जडान, निर्माण कार्यले गति लिंदै

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्ने महत्त्वपूर्ण पूर्वाधार दमौली–भरतपुर २२० केभी प्रसारण लाइन निर्माणले गति लिन थालेको छ । वन क्षेत्रको रुख कटानमा देखिएको अवरोध क्रमशः हट्दै जानु र आवश्यक निर्माण सामग्री तथा उपकरण निर्माणस्थलमा आइपुगेसँगै आयोजनाले कामलाई तीव्रता दिएको हो ।
करिब ३५ किलोमिटर लामो प्रसारण लाइनको समग्र भौतिक प्रगति ८३.५ प्रतिशत पुगेको छ । कुल ९४ वटा टावर निर्माण गर्नुपर्नेमा हालसम्म ८३ वटाको जग तयार भइसकेको छ । जग निर्माण सम्पन्न भएका टावरमध्ये ८१ वटा खडा गरिसकिएको छ । त्यस्तै, प्रसारण लाइनको करिब २.२ किलोमिटर क्षेत्रमा तार तान्ने काम पनि पूरा भएको छ ।
तनहुँ र चितवन खण्डमा वन क्षेत्रका रुख कटानको काम करिब ५० प्रतिशत सम्पन्न भएको छ। रुख कटानमा देखिएको समस्या समाधान हुँदै गएपछि टावर खडा गर्ने र तार तान्ने काम अघि बढाउन सहज भएको तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध सञ्चालक छविलाल गैह्रेले बताए ।
निर्माणका लागि आवश्यक उपकरण तथा सामग्रीसमेत कार्यस्थलमा आइपुगेकाले बाँकी कामलाई थप तीव्रता दिने तयारी गरिएको उनले जानकारी दिए ।
१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न दमौली–भरतपुर प्रसारण लाइन अपरिहार्य छ । जलविद्युत् आयोजना निर्माणसँगै प्रसारण लाइनको काम पनि सम्पन्न गर्नुपर्ने भएकाले यसलाई आयोजनाको महत्त्वपूर्ण चुनौतीका रूपमा हेरिएको छ । विद्युत् उत्पादन सुरु हुनुअघि नै प्रसारण लाइन तयार पार्नुपर्ने भएकाले निर्माणको समयतालिका व्यवस्थापनमा आयोजनाले जोड दिएको छ ।
आयोजना प्रमुख श्यामजी भण्डारीले वन क्षेत्रको अवरोध क्रमशः हट्दै जाँदा प्रसारण लाइन निर्माणले गति लिएको बताए । टावर खडा गर्ने कामसँगै तार तान्ने कार्यलाई पनि अघि बढाइएको उल्लेख गर्दै उनले आवश्यक उपकरण र सामग्रीको व्यवस्था भइसकेकाले बाँकी काम निर्धारित योजनाअनुसार सम्पन्न गर्ने तयारी रहेको जानकारी दिए ।
यसैबीच, तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणको भौतिक प्रगति ६५ प्रतिशत पुगेको छ। विद्युत् गृह, सुरुङ तथा सम्बन्धित उपकरण निर्माणको काम भने ८० प्रतिशत सम्पन्न भएको आयोजना प्रमुख भण्डारीले बताए।
आयोजनाका अनुसार मुख्य सुरुङसहितका भूमिगत संरचना निर्माण सम्पन्न भइसकेका छन्। अहिले विद्युत् गृहमा टर्बाइन, जेनेरेटर र ट्रान्सफर्मरलगायतका उपकरण जडान तथा परीक्षणको काम भइरहेको छ ।
जलविद्युत् आयोजनाको बाँध, विद्युत् गृह र प्रसारण लाइन निर्माण एकअर्कासँग प्रत्यक्ष जोडिएका पूर्वाधार हुन् । त्यसैले विद्युत् उत्पादनको लक्ष्य हासिल गर्न उत्पादन संरचनासँगै उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा पुर्याउने प्रसारण लाइन पनि निर्धारित समयमै सम्पन्न गर्नु आवश्यक देखिएको छ ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker