बन्दिपुरमा पर्यटकको आगमन बढ्यो : पर्यटकहरु बीच दौड प्रतियोगिता
भञ्ज्याङ न्यूज

बन्दिपुर । पर्यटकीय सिजन सुरु भएसंगै तनहुँको बन्दिपुरमा आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढेको छ । प्रकृति र सँस्कृतिसंग रम्ने पर्यटकका लागि उत्कृष्ट गन्तव्यका रुपमा विकास भएको बन्दिपुरमा अहिले पर्यटकीय गतिविधि हृवात्तै बढेको छ ।
बन्दिपुरको प्राकृतिक र साँस्कृतिक सुन्दरतालाई विश्वमाझ पुर्याउनका लागि बाह्य पर्यटकबिच दौड प्रतियोगिता गरिएको छ । विदेशी क्लबको आयोजना र काठमाडौंस्थित एक ट्रेयाकिङ्ग एजेन्सिको समन्वयमा बाह्या पर्यटकबिच दौड प्रतियोगिता गरिएको हो ।
तीन दिने दौड प्रतियोगिता अन्तरगत शुक्रबार बन्दिपुर बजारबाट करिव ३ किलोमिटर दुरीको र शनिबार करिव ६ किलोमिटर दुरीको प्रतियोगिता भएको छ । आइतबार बन्दिपुर बजारबाट रामकोटसम्म करिव ५ किलोमिटरको दुरीमा दौड प्रतियोगिता गरिने आयोजकले जनाएको छ ।
उक्त दौड प्रतियोगितामा विभिन्न मुलुकबाट आएका करिव ६८ जना पर्यटकहरुको सहभागिता रहेको हेल्लो माउन्टेन ट्रेकका निर्देशक बिकास गुरुङले बताए । उनका अनुसार अमेरिका, ब्रजिल र र्फान्सका पर्यटकहरु दौड प्रतियोगितामा सहभागि भएका छन् । शुक्रबारदेखि यी पर्यटकहरु बन्दिपुरमै छन् र आइतबारसम्म बस्ने छन् ।
आयोजकले बन्दिपुरसंगै पोखरा र काठमाडौंमा पनि यीनै पर्यटकहरुबिच दौड प्रतियोगिता गरी नेपालको सुन्दताको विषयमा जानकारी गराउने र पुनः नेपाल घुम्न आउने वातावरण बनाउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको बताइएको छ ।

‘यीनीहरु नेपाल घुम्नुका साथै यहाँका बालबालिकालाई शैक्षिक सामाग्री वितरण गर्नपनि आएका हुन्’, गुरुङले भने, ‘बन्दिपुरको पर्यटन प्रवर्द्धन साथै यहाँबाट देखिने हिमश्रृंखलाको दृश्य देखाएर पुनः नेपाल घुम्नका लागि आकर्षित गर्ने उद्देश्यले बन्दिपुरमा पनि कार्यक्रम गरिएको हो ।’
‘पर्यटकहरु दौडिदै पुगेको अन्तिम बिन्दुमा रहेका सामुदायिक विद्यालयका बालबालिकालाई शैक्षिक सामाग्री पनि बितरण गरेका छन्’, उनले भने, ‘बन्दिपुरका २ विद्यालयका करिव एक सय विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरिएको छ । आइतबारको दौड प्रतियोगिता पश्चात करिव ४० जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य छ ।’ ३ पर्यटकीय नगरीका कारिव १ हजार ४ सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने पर्यटकहरुको योजना रहेको छ ।
दशैं तिहार लगातै आन्तरिक तथा बाह्य पर्यटकको आगमनले बन्दिपुरको पर्यटन व्यवसाय चलायमान भएको छ । कोभिड-१९ को संक्रमणले थला परेको बन्दिपुरको पर्यटकीय गतिविधिलाई माथी उठ्न यो दौड प्रतियोगिताले थप टेवा पुगेको बन्दिपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बताए ।

‘चार्डपर्व लागेसंगै आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल देखिन लागेको हो’, उनले भने, ‘पहिले पर्यटकले भरिभराउ हुने बन्दिपुर कोभिड-१९ संक्रमण यता बाह्य पर्यटक त परै जाओस् आन्तरिक पर्यटक देख्न पनि मुस्किल हुन्थ्यो । दशैंतिहार पर्व लागेसंगै भने पर्यटकको राम्रो चहलपहल देखिएको छ ।’
तिहारको लामो बिदाका कारण बन्दिपुरमा कोभिडपछि पहिलो पटक पर्यटकको चाप बढेको उनले बताए। प्रधानले भने, ‘दशैमा पनि केही पर्यटकहरु आएका थिए। तिहार लागतै बन्दिपुरमा पर्यटकको राम्रो गतिविधि देखिन थालेको छ। शुक्रबारमात्रै एक सय बढि बिदेशी पाहुँना बन्दिपुर आएका छन् । यो आगमनले थला परेको बन्दिपुरको पर्यटकीय गतिविधि विस्तारै उकासिनेमा आशा जगाएको छ ।’
यस्तै, शुक्रबार र शनिबार गरी बन्दिपुरमा करिव ५/६ हजारभन्दा बढि आन्तरिक पर्यटकको आगमन भएको होटल व्यवसायी बसन्त पौडेलले बताए। उनले भने, ‘तिहार र छठ पर्वका कारण भएको लामो बिदा तथा आन्तरिक पर्यटकमा घुम्ने संस्कृतिको विकास भएकाले पर्यटकको संख्या बृद्धि भएको छ ।’

जाडो मौसम सुरु भएसंगै बन्दिपुरमा पर्यटकको चहलपहल बढ्नेमा व्यवसायी आशावादी छन्। पहिला बन्दिपुरमा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गर्दथे । कोभिड-१९ यता चिनियाँ पर्यटक ठप्प छन् । अहिले बाह्या पर्यटकमध्ये र्फान्स, बेलायतका बढी छन् ।
बन्दिपुरमा निर्माण गरिएका भक्तपुरे शैलीका घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्कदेवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायतका सम्पदाले पर्यटकलाई आकषिर्त गर्ने गरेको छ ।
प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट देखिने अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमश्रुंखलाका दृश्य, धुलोधुवाबाट टाढा रहेको बन्दिपुर बजार, स्थानीय परिकार र प्रकृतिसंग रम्नका लागि पर्यटकहरु बन्दिपुर आउने गर्छन ।











