तनहुँसुरको चर्चित बनेको चौतारा संरक्षण गरिने

तनहुँको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा चर्चित बनेको चौतारा संरक्षण गरिने भएको छ । बीचमा रुखसहित दायाँबायाँ कालोपत्र भएको सडक चर्चित भएसँगै नवआदर्श टोल विकास संस्थाले उक्त चौताराको संरक्षण गर्न लागेको हो ।

रुखलाई बीचमा राखेर सडक कालोपत्र गरिएपछि उक्त ठाउँमा घुम्न जाने पर्यटकको सङ्ख्या बढेको छ । त्यसैलाई मध्यनजर गर्दै आज बसेको टोल विकास संस्थाको बैठकले दुई चौताराको संरक्षण गर्ने निर्णय गरेको अध्यक्ष सञ्जय श्रेष्ठले जानकारी दिनुभयो ।

दुवै चौतारा मर्मत सम्भार र निर्माणका लागि स्थानीय सरकार, सङ्घसंस्था र स्थानीयवासीलाई सहयोगको अनुरोध गरिने भएको छ । “रुखलाई संरक्षण गरी सडक कालोपत्र भएपछि यस ठाउँमा एकाएक पर्यटकको चहलपहल ह्वात्तै बढ्यो, अब रुखलाई संरक्षण गर्दै चौतारी निर्माण गर्छौ,” उहाँले भन्नुभयो ।

तनहुँसुरमा वनभोजका लागि पर्यटकको आगमन बढ्न थालेको र खानेपानीको समस्या देखिएकाले तीन दिनभित्र खानेपानीको व्यवस्था मिलाउन लागिएको छ । देउराली डाँडाको मुख्यभागमा रहेको ठाउँमा पाँच मिटरको नेपालको झण्डा एक हप्ताभित्र राखिने श्रेष्ठले बताउनुभयो ।

यसैगरी दुवै चौताराको बीचमा पर्ने क्षेत्रको तल्लो भागमा सार्वजनिक शौचालय एक महिनाभित्र निर्माण गर्ने तयारी गरिएको छ । देउराली डाँडामा उद्यान निर्माणका लागि श्रेष्ठकै अध्यक्षतामा पाँच सदस्यीय गुरुयोजना समिति निर्माण गरिएको छ । सामाजिक सञ्जालमा उक्त सडकले चर्चा कमाएसँगै तनहुँसुर पुग्ने सर्वसाधारणको सङ्ख्या बढेको छ ।

अन्य दिनको तुलनामा शनिबार सर्वसाधारणको बाक्लो भीडभाड हुने गरेको छ । तनहुँसुरसम्म पुग्ने खड्गकाली मोटरमार्ग सङ्घीय सरकार र व्यास नगरपालिकाको साझेदारीमा कालोपत्र गरिएको छ । उक्त मोटरमार्गको ५.६ किलोमिटर खण्डमा कालोपत्र, पक्की नाला, ग्याबिन जाली र पर्खाल निर्माण कार्य पूरा भएको हो ।

अब ऐतिहासिक तनहँुसुर दरबारसम्म पुग्न करिब साढे दुई किलोमिटर सडक कालोपत्र हुन बाँकी रहेको छ । हाल व्यास नगरपालिका–११ को रातमाटाबाट ढाँडखोलेसम्म कालोपत्र भएको छ । कूल रु दश करोडको इष्टमेट भए पनि बोलपत्र प्रक्रियामार्फत् ऋषि शक्ति जेभीले रु सात करोड ५१ लाखमा कालोपत्र र पक्की नाला निर्माण गरेको हो ।

उक्त योजना कार्यान्वयनका लागि सङ्घीय सरकारले ५० प्रतिशत र व्यास नगरपालिकाले ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो । कालोपत्र सडकमार्फत् अब तनहुँसुर दरबार दमौलीबाट आधा घण्टामा पुग्न सकिन्छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker