रत्न मावी मनपाङका विद्यार्थीलाई ट्रयाकसुट वितरण

- भञ्ज्याङ समाचारदाता (म्याग्दे)
तनहुँको म्याग्दे गाउँपालिका-६ स्थित रत्न माध्यमिक विद्यालय मनपाङका विद्यार्थीलाई न्यानो कपडा सहयोग गरिएको छ । शिक्षाका क्षेत्रमा कार्यरत टिच फर नेपालका शिक्षक निर्भाना ठाकुर तथा उनको परिवारले १२० जना विद्यार्थीलाई एक लाख पाँच हजार रुपैयाँ बराबरको ट्रयाक सुट वितरण गरेको हो ।
चिसोका कारण ग्रामीण भेगका विद्यार्थीहरुलाई अनियमित विद्यालय आउन समस्या भएकाले न्यानो कपडा वितरण गरेको सहयोगी ठाकुरले बताइन् । हाल ठाकुर विद्यालयमै टिच फर नेपाल संस्थामार्फत निःशुल्क रुपमा शिक्षण गरिरहेकी छन् ।
विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्दै म्याग्दे गाउँपालिका अध्यक्ष माया रानाले जाडोलाई लक्षित गरी एक व्यक्तिले विद्यार्थीहरुका लागि न्यानो कपडा वितरण गर्नु उदाहरणीय कार्य भएको बताइन् । विद्यालयका प्रधानाध्यापक रमेशबाबु भट्टराइले बालबालिकाका लागि प्राप्त सहयोगले पठनपाठनका लागि सहज वातावरण बनेको बताउँदै सहयोगदातालाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रममा वडा नं. ६ का वडाध्यक्ष बसन थापा, सूर्य नेपालका मानव श्रोत व्यवस्पक अन्जन दवाडी, गाउँ कार्यपालिका सदस्य, बद्रीका घिमिरे, गाउँपालिकाका प्रदीप न्यौपाने, महिला संघ सभापति कुमारी थापा, स्थानीय दिलबहादुर गुरुङ, प्रेमबहादुर गुरुङ, केश बहादुर थापा, शिक्षक पशुपति अर्याल लगायतले आ-आफ्ना विचार व्यक्त गरेका थिए ।










