बेंसीसहर कारागारका १०८ कैदी र थुनुवालाई दमौली र पोखरा सारियो

लमजुङ : लमजुङ सदरमुकाम बेंसीसहरस्थित कारागारको पर्खाल भत्किएपछि कारागारमा रहेका सबै कैदी र थुनुवालाई छिमेकी जिल्ला तनहुँको दमौली र कास्कीको पोखरास्थित कारागार सारिएको छ ।

कारागार कार्यालय बेंसीसहर, लमजुङमा ६ महिलासहित १०८ जना कैदी र थुनुवा थिए । एक जना थुनामा पठाउनुपर्ने पुरुष जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षमा रहेका छन् । उनीसहित १०९ जना कैदी र थुनुवालाई स्थानान्तरण गरिएको कारागार प्रशासनले जनाएको छ ।

कारागारको पश्चिमतिर रहेको कैदी र थुनुवा प्रवेश गर्ने एक मात्र ढोका (गेट) नजिकैको पर्खाल वर्षाका कारण बुधबार भत्किएको थियो । गेटसमेत भत्किने अवस्थामा पुगेपछि असुरक्षा महसुस गर्दै शनिबार कैदी र थुनुवालाई स्थानान्तरण गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले बताए ।

कारागार प्रशासक बेनीबहादुर मोक्तानका अनुसार कारागार कार्यालय तनहुँ, दमौलीमा ३१ जना र कारागार कार्यालय कास्की, पोखरामा ७८ जना कैदी र थुनुवा पठाइएको हो । तीमध्ये ६ जना महिला दमौली पठाइएको छ । दमौली र पोखरा पठाइएकामध्ये कैदी ५ जना महिला र ५२ जना पुरुष छन् भने थुनुवा १ जना महिला र ५१ जना पुरुष रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहराले पुरुष कैदी र थुनुवालाई ४ वटा ठूला बस र महिला कैदी तथा थुनुवालाई एउटा माइक्रोबसमा राखेर दमौली र पोखरा पठाइएको जानकारी दिए । उनीहरूलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले स्कर्टिङ गरेर पठाइएको हो । प्रहरी निरीक्षकको कमान्डमा कैदी र थुनुवालाई कारागार प्रशासकसहित पठाइएको जनाइएको छ ।

पानी परिरहेको बेला बुधबार अपराह्न पौने ५ बजेतिर कारागारको पश्चिमपट्टि रहेको पर्खाल भत्किएपछि थप क्षति हुन सक्ने सम्भावना देखिएको र तत्काल मर्मत सम्भव नदेखिएकाले कैदी र थुनुवालाई स्थानान्तरण गर्नु परेको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताए । उनका अनुसार कारागार मर्मत नभएसम्म उनीहरू पोखरा र दमौलीमै बस्नेछन् ।

वि.सं. २०२८ मा कुन्छाबाट सदरमुकाम बेंसीसहर सरेसँगै निर्माण गरिएको यो कारागार १० जना महिला र २५ जना पुरुष गरी ३५ जनाको क्षमताको हो। तर अहिले तेब्बर बढी कैदी र थुनुवा राखिँदै आएको थियो। कारागार जीर्ण हुँदा थप समस्या आइपरेको हो। यसअघि पनि कारागारको पर्खाल भत्किने गरेका थिए, तर यस पटक कैदी र थुनुवा स्थानान्तरण गर्नु परेको प्रशासनले जनाएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker