विपद् प्रतिकार्य तालिम : विपद् न्यूनीकरणमा सरोकारवाला निकाय र स्थानीयको योग्दान महत्वपूर्ण – मुख्यमन्त्री पाण्डे

भञ्ज्याङ न्यूज

गण्डकी प्रदेश सरकार, नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटर र तनहुँको व्यास नगरपालिका-५ स्थित कालीभञ्जन गण (इ)को संयुक्त आयोजनामा सोमबार व्यास नगरपालिका-१० मादी नदीमा सामुदायिक विपद् प्रतिकार्य तालिम गरिएको छ।

विपद्को अवस्थामा उद्धार एवं खोजका लागि समुदायका व्यक्तिलाई अभ्यस्त बनाउने उद्देश्यसहित आयोजित तालिममा व्यास नगरपालिकाका विभिन्न वडाबाट २८ तथा म्याग्दे गाउँपालिकाका विभिन्न वडाबाट आठ जनाको सहभागिता रहेको कालीभञ्जन गण (इ) चापाघाटका गणपती प्रमुख सेनानी रामज्योती बोहोराले बताए ।

‘तालिमले विपद्का बेला उद्धार तथा विपद्को पूर्वतयारीमा सहयोग पुग्नुका साथै क्षति न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिइएको छ’, उनले भने, ‘वर्षायाममा तनहुँमा हुनसक्ने जोखिमका घटनाबाट बच्ने र बचाउने उपाय अवलम्बन गर्दै दक्ष जनशक्ति तयार गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।’

यस प्रकृतिको तालिमले बर्सेनि बर्सातको समयमा आउने बाढी, पहिरा तथा डुबानले जनधनको क्षति पुर्‍याउने गरेकाले बर्सातको समयमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण तथा बाढीबाट हुने क्षतिको तत्काल उद्धार गर्नका लागि समयमा नै सरोकारवाला निकायसँग समन्वय गरी जोखिमयुक्त इलाकाको पहिचान, उद्धार तथा बाढीमा फसेका व्यक्तिको उद्धार गर्न सिकाई हुने प्रमुख जिल्ला अधिकारी छबि रिजालले बताए ।

यस्तै, कार्यक्रममा व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानले तनहुँ जिल्ला विपद्को सूचीको अग्रस्थानमा रहेकाले नमूना अभ्यासले विपद् जोखिम न्यूनीकरणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले तनहुँ जस्तो भु-बनोट भएको क्षेत्रमा विपद्का घटना न्यूनीकरणका लागि जटिलता रहेकाले सबैको सामूहिक प्रयासको खाँचो रहेकोमा जोड दिइए ।

कार्यक्रममा नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरका पृतनापति एवं उपरथी दीपक बानियाँले नेपाली सेनाले प्राकृतिक घटनामा जनताको जिउधन सुरक्षाका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताएका छन्। गण्डकी प्रदेशमा विगत तीन वर्षा बाढीपहिरा, आगलागी, हिमपहिराबाट २१८ जनाको मृत्यु भएको तथ्याङ्क रहेको बताउँदै उनले विपद्बाट गण्डकी प्रदेश जोखिमको सूचीमा रहेको उल्लेख गरे ।

प्रतिकार्य योजना बमोजिम नेपाली सेनाले सबैसँगको समन्वयमा विपद्का घटनामा सहयोग पुर्‍याउँदै आएको र यस आर्थिक वर्षा १८ वटा सचेतनामूलक अभ्यास सञ्चालन गरिने भएको छ । गण्डकी प्रदेशका गोरखा, मुस्ताङ र मनाङमा हिमपहिरा र अन्य जिल्लामा बाढी पहिराको जोखिम रहनुका साथै प्राकृतिक तथा मानव सिर्जित प्रकोपबाट पनि यी जिल्लाहरु प्रभावित हुँदै आएका छन् ।

यस्तै, विपद् नमूना अभ्यास ‘अभ्यास गण्डक उद्धार-१’ कार्यक्रमको अवलोकन गर्दै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विपद्का घटना न्यूनीकरण, खोज तथा उद्धारमा नेपाली सेनाको भूमिका उच्च प्रशंसनीय रहँदै आएको बताए । उनले विपद्का घटनामा प्रतिकार्यका लागि सुरक्षाकर्मी, विभिन्न सरोकारवाला निकाय र स्थानीयवासीको योग्दान महत्वपूर्ण रहने चर्चा गरे ।

‘वि.सं. २०७२ सालको भूकम्प होस् वा विमान दुर्घटनामा नेपाली सेनाको प्रदर्शन उच्च प्रशंसनीय रहेको र विपद् प्रतिकार्य कुनै व्यक्ति वा संस्थाले मात्र गरेर सम्भव नहुने हुँदा यसका लागि सामूहिक प्रयास आवश्यक छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘विपद् व्यवस्थापनमा प्रदेश सरकारले समन्वयत्मक र अभिभावकीय भूमिका निर्वाह गर्दै आएको र विपद्लाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको, यस वर्ष सुरक्षाकर्मीको क्षमता अभिवृद्धि तथा सामुदायिक प्रतिकार्यका लागि सहयोग गरेको, विद्यालय स्तरको पाठ्यक्रममा पनि विपद् न्यूनीकरणलाई समावेश गर्ने विषयमा छलफल अगाडी बढाइएको छ ।’

उक्त ‘अभ्यास गण्डक उद्धार-१’ प्रदर्शनीमा नेपाली सेनाको एक गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला अस्पताल, नेपाल रेडक्रस सोसाइटी तथा व्यास नगरपालिकाका नगर प्रहरी, एम्बुलेन्स तथा दमकलको प्रयोग गरिएको थियो । उक्त प्रदर्शनीमा सेनाको संयुक्त टोलीले भूकम्प, आगलागी, पहिरा तथा बाढीसम्बन्धी उद्धार प्रक्रियाको प्रदर्शनी प्रस्तुत गरेका थिए ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker