स्थानीय निर्वाचन : नेकपा एमाले तनहुँले सुरु गर्यो घरदैलो अभियान
भञ्ज्याङ न्यूज

आसन्न स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गरेसंगै नेकपा एमाले तनहुँले घरदैलो अभियान सुरु गरेको छ । तनहुँका १० वटै पालिकाका उम्मेदवारहरुले मतदातालाई आफ्नो चुनावी प्रतिवद्धताका विषयमा जानकारी गराउँदै मत मागेका छन् ।
तनहुँमा एमालेले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशी समुहसंग तालमेल गरी चुनावी मैदानमा उत्रिएको छ ।
यस्तै, व्यास नगरपालिकामा नेकपा एमालेको घरदैलो अभियान सुरु भएको छ । एमाले-जोशी समूहले बुधबारदेखि घरदैलो अभियान सुरु गरेको हो ।
एमाले-जोशी समूहबाट मेयरका उम्मेदवार दीपकराज जोशी, उपमेयरका उम्मेदवार बसुन्धरा घर्ती लगायत वडाका उम्मेदवारले व्यास-३ देउरालीनगरबाट घरदैलो सुरु गरेका हुन् ।
चुनावी प्रतिवद्धताका विषयमा जानकारी गराउँदै उम्मेदवारहरुले मतदाता भेटघाट गर्दै आफूहरुलाई मत दिन आग्रह गरेका छन् ।

मेयर उम्मेदवार जोशी एमालेको समर्थनमा स्वतन्त्र चुनाव चिन्ह लिएर चुनावमा होमिएका छन् । उपमेयर उम्मेदवार र्घर्ती भने एमालेको चुनाव चिन्हमा मैदानमा छिन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले १७ गते मात्र स्वतन्त्र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्नेछ ।










