गोविन्द भट्टराइलाई जिताएर पठाउनुस्, म मन्त्री बनाउँछु : प्रधानमन्त्री दाहाल
भञ्ज्याङ न्यूज

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तनहुँ-१ बाट गोविन्द भट्टराइलाई निर्वाचित गराउन मतदातासंग आग्रह गरेका छन् ।
तनहुँ-१ मा वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा सत्ता गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराइलाई निर्वाचित गरी पठाएमा उनलाई मन्त्री बनाउने उद्घोष गरेका छन् ।
भट्टराइका लागि भोट माग्दै प्रधानमन्त्री दाहालले बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी कोणसभामा उनले भने, ‘आफूले यसअघि रामचन्द्र पौडेललाई भोट माग्दा प्रधानमन्त्री बनाउने घोषणा गरेको, तर पौडेल प्रधानमन्त्रीभन्दा पनि ठूलो पदमा पुग्नु भएको छ ।’
‘अहिले हाम्रै सरकार छ, यो उपचुनावपछि पनि सरकार हाम्रै नेतृत्वमा रहने हो । देशलाई सुशासन, शान्ति र संमृद्धितर्फलैजाने हामीले नै हो’, उनले भने, ‘त्यसैले तपाईंहरू अलमलिनुपर्ने अवस्था छैन, गोविन्द भट्टर्राईलाई जिताएर पठाउनुस्, तपाईंहरूको भावनालाई, मागलाई सम्बोधन गर्न उहाँलाई मन्त्री बनाउँछौं ।’
चुनावीसभामा कांग्रेस सभापति शेरबहादुर देउवाले पहिले नै भट्टराइलाई मन्त्री बनाउने घोषणा गरेका थिए । देउवापछि बोलेका प्रधानमन्त्री दाहालले कांग्रेस सभापति देउवाले भनेको वचन पूरा गर्न आफू प्रतिबद्ध रहेको बताए ।

‘यसअघि मैले तनहुँ आएर रामचन्द्र पौडेलजीको लागि भोट मागेको थिएँ, त्यसबेला मैले उहाँलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सारेको थिएँ । उहाँ मैले भनेकोभन्दा अझै ठूलो पदमा पुग्नुभयो, राष्ट्रपति बन्नुभयो । अहिले फेरि गोविन्द भट्टराइका लागि भोट माग्न तपाईंहरूको अघि उभिएको छु’, प्रधानमन्त्री दाहालले भने, ‘अघि शेरबहादुरजीले भनिसक्नुभयो, तर अहिले म प्रधानमन्त्री छु, अहिले मन्त्री बनाउने मैले नै हो । म गोविन्द भट्टर्राईलाई मन्त्री बनाउँछु । हामी गठबन्धनका सबै शीर्ष नेताहरू यसमा प्रतिबद्ध छौं ।’
प्रधानमन्त्री दाहालले अहिलेको गठबन्धनलाई हलुका रुपमा नबुझन आग्रह गरे । ‘यसअघि मलाई अरु कसैको सहयोग पाएर प्रधानमन्त्री नै भएपनि चैन भएन, मलाई प्रधानमन्त्री बनाउन नपाएपछि शेरबहादुरजीलाई पनि चैन भएन । त्यसैले हामी फेरि एकताबद्ध भयौं । हाम्रो लभ अलि गहिरो भइसकेको रहेछ’, उनले भने, ‘हाम्रै निर्णयले अहिले फेरि राष्ट्रपति, उपराष्ट्रपतिदेखि संघ र प्रदेशका सरकारहरु बनाउने अवस्थामा पुगिएको छ । यसलाई सामान्य ढंगले नबुझिदिनुहोला । हामी अब मुलुकको अर्थतन्त्र सुधार्ने र विकासको बाटोमा देशलाई अघि बढाउनेमा केन्द्रित भइरहेका छौं ।’
प्रधानमन्त्री दाहालले कुनै पनि आँधीहुरी बतासबाट आत्तिनुपर्ने अवस्था नरहेको बताए । ‘भ्रममा नपर्नुहोला, कहिलेकाहीं खहरे उर्लिएर आउँछ, तर छिट्टै सुक्छ । यसपटक खहरे सुक्नेवाला छ’, प्रधानमन्त्री दाहालले भने, ‘गोविन्द भट्टराइलाई रुख चिहृनमा मतदान गर्नुहोस् । रुख चिहृन अब हामी सबैको साझा चिहृन भएको छ ।’










