शुक्लागण्डकी नगरपालिकामा भूमिसम्बन्धी सेवा सञ्चालन गर्ने तयारी

दुलेगौंडा : तनहुँको शुक्लागण्डकी नगरपालिकाले नागरिकलाई आफ्नै नगरपालिकाबाट भूमिसम्बन्धी सेवा उपलब्ध गराउने उद्देश्यसहित सेवा कार्यालय स्थापना गर्ने तयारीलाई तीव्र बनाएको छ । कार्यालय स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने विषयमा बुधबार राजनीतिक दलका प्रतिनिधि, जनप्रतिनिधि, उद्योग वाणिज्य संघका पदाधिकारी तथा विभिन्न सरोकारवालासँग विस्तृत छलफल गरिएको हो ।

नगर प्रमुख कृष्णराज पण्डितका अनुसार नागरिकलाई सहज, पहुँचयोग्य तथा गुणस्तरीय सेवा उपलब्ध गराउने लक्ष्यका साथ कार्यालय स्थापनाको प्रक्रिया अघि बढाइएको छ । छलफलका क्रममा प्राप्त सुझाव, राय तथा धारणालाई समेटेर सबै पक्षलाई स्वीकार्य हुने गरी कार्यालय स्थापना गर्ने उपयुक्त स्थान निर्धारण गरिने उनले बताए ।

छलफलमा भूमिसम्बन्धी सेवा कार्यालय नगरपालिकाको कुन स्थानमा स्थापना गर्दा सेवाग्राहीलाई बढी सहज हुने भन्ने विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए । अधिकांश सहभागीले नागरिकको सहज पहुँचलाई प्राथमिकतामा राख्दै उपयुक्त स्थान छनोट गर्नुपर्नेमा जोड दिएका थिए ।

नगरपालिकाका उपप्रमुख खुमबहादुर विकले सरोकारवालाबाट प्राप्त सुझावहरूको अध्ययन तथा आवश्यक छलफलपछि कार्यालय स्थापना हुने स्थानको अन्तिम टुङ्गो लगाइने जानकारी दिए । उनका अनुसार चालु आर्थिक वर्षभित्रै कार्यालय स्थापना गरी सेवा सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ । त्यसका लागि आवश्यक कानुनी, प्राविधिक तथा प्रशासनिक प्रक्रिया तीव्र गतिमा अघि बढाइएको उनले बताए ।

बैठकमा पूर्वमन्त्री तथा संविधानसभा सदस्य आशा कोइराला, गण्डकी प्रदेशसभा सदस्य श्यामराज महतलगायतका नेताहरूले नगरपालिकाभित्र नागरिकलाई सहज पहुँच हुने स्थानमा कार्यालय स्थापना गर्न सुझाव दिएका थिए । त्यसैगरी अन्य सहभागीहरूले झरौटा वा ढोरफिर्दी क्षेत्रमा कार्यालय स्थापना गर्दा सेवाग्राहीलाई बढी सुविधा हुने धारणा व्यक्त गरेका थिए ।

नगरपालिकाले प्राप्त सुझावहरूको विस्तृत अध्ययनपछि सबै पक्षलाई स्वीकार्य हुने स्थान चयन गरी सेवा कार्यालय स्थापना गर्ने जनाएको छ । कार्यालय सञ्चालनमा आएपछि जग्गा प्रशासन सम्बन्धी सेवा लिन मालपोत तथा नापी कार्यालय धाउनुपर्ने बाध्यता अन्त्य हुने, समय र खर्चको बचत हुने तथा नागरिकले आफ्नै नगरपालिकाबाट सहज रूपमा भूमिसम्बन्धी सेवा प्राप्त गर्न सक्ने अपेक्षा गरिएको छ ।

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker