तनहुँको घिरिङले दियो कृषकलाई उत्पादनमा आधारित अनुदान
भञ्ज्याङ न्यूज

तनहुँको घिरिङ गाउँपालिकाले कृषकहरुलाई उत्पादनमा आधारित अनुदान वितरण गरेको छ । गाउँपालिकाले एक हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने कृषकलाई अनुदान बितरण गरेको हो ।
कृषि उत्पादनमा आधारित अनुदान कार्यक्रम अन्तर्गत गाउँपालिकाले १ हजार किलो भन्दा बढी अदुवा उत्पादन गर्ने किसानलाई प्रतिब्यक्ति ५ हजार रुपैयाँको दरले गाउँपालिका अध्यक्ष होम बहादुर थापा र उपाध्यक्ष राधादेवी अधिकारीले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।
गाउँपालिकामा बुधबार एक कार्यक्रम आयोजना गरी अध्यक्ष थापाले १४४ जना अदुवा कृषकलाई ७ लाख २० हजार रुपैयाँ वितरण गरेका छन् ।

कृषकलाई अनुदान रकम हस्तान्तारण गर्दै कृषि क्षेत्रमा प्याज ५ सय किलो, लसुन २५० किलो र बेसार ५ सय किलो भन्दा बढी उत्पादन गर्ने कृषकलाई समेत ५ हजार रुपैयाँनै अनुदान रहेको बताए । उनले भने, ‘कृषकलाई कृषि पेशा प्रति आकर्षित गर्न तथा उत्पादन वृद्धि गर्न गाउँपालिकाले उत्पादनमा आधारित अनुदान कार्यक्रमलाई प्राथमिकतामा राखेको छ ।’
गाउँपालिकाको यस कार्यक्रममा सबै भन्दा बढी वडा नं. ५ का ८९ जना, वडा नं. ४ का २ जना, वडा नं. ३ का ४७ जना र वडा नं. २ का ६ जना कृषकहरुले उत्पादनमा आधारित अनुदान तथा प्रोत्साहन रकम प्राप्त गरेको गाउँपालिकाका कृषि शाखा प्राबिधिक सहायक समीक्षा ढकालले जानकारी गराइन् ।













