२०९औं भानुजयन्ती : साहित्यिक पर्यटकीय गन्तव्यका रुपमा विकास हुने पर्खाइमा चुँदीरम्घा
भञ्ज्याङ न्यूज

आज असार २९ गते । आदिकवि भानुभक्त आचार्यको २०९औं जन्मजयन्ती । नेपाली भाषा र साहित्य क्षेत्रमा ठूलो गुन लगाएका आचार्यको जन्मस्थल चुँदीरम्घामा यस वर्ष तीन दिने विविध साहित्यिक कार्यक्रम गरी भानुजयन्ती मनाइदै छ। पछिल्लो समय असार २९ गते अर्थात भानुजयन्ती कर्मकाण्डी जस्तै बनेकोमा यस वर्षभने तीन दिने साहित्यिक कार्यक्रम गरी मनाइएको छ ।
आदिकवि भानुभक्त जन्मस्थल विकास समितिमाले असार २७, २८ र २९ गते तीन दिन विविध साहित्यिक कार्यक्रम गरेको छ। भानुजयन्तीको अवसरमा स्थानीय मठमन्दिरमा पूजाअर्चना र साँझ दीपावली, २८ गते भानुभक्तीय रामायण वाचन प्रतियोगिता, राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता र विद्यालयस्तरीय खुला कविता प्रतियोगिता, आज प्रभातफेरी, भानुभक्तको शालिकमा माल्यार्पण, श्रद्धाञ्जलि सभा, साहित्य तथा सांस्कृतिक कार्यक्रम गरिएको छ।
सोही अवसरमा मंगलबार राष्ट्रियस्तरको खुला कविता प्रतियोगिता समेत गरिएको छ । प्रतियोगिताका लागि ३५ जिल्लाबाट ११२ जनाको कविता प्राप्त भएकामा १५ कविता छनोट गरी प्रतिस्पर्धा गराइएको छ । प्राप्त कवितामध्ये मूल्याङ्कन समितिको निर्णयबमोजिम १५ कविता छनोट गरिएको समितिका कार्यकारी निर्देशक शंकर रानाभाटले बताए । छनोट भएका कविताह स्वयं उपस्थित भई असार २८ गते वाचन गरिएको छ । त्यसका लागि दश पूर्णाङ्क तोकिएको छ । पहिलो र दोस्रो चरणको मूल्याङ्कनबाट प्राप्त अङ्कको योगको आधारमा अन्तिम नतिजा प्रकाशन गरिएको समितिले जनाएको छ ।
प्रतियोगिताका लागि पर्वतका तारानाथ पराजुलीको ‘नजन्माइएका छोरीहरू’, विराटनगरका केशव भण्डारी कञ्चनको ‘देश छाड्नुअघि’, कास्कीका नवराज अधिकारीको ‘नेपाल आमासँग’, नवलपुरका हर्रि्रसाद घिमिरेको ‘नेपाल प्रवृत्ति’, अछामका मीनप्रसाद पाण्डेको ‘मुजारे गुराँस’, रामेछापका विक्रमपवन परियारको ‘सूर्यमुखी फूल’, कविलपस्तुका जोशिका कँडेलको ‘समृद्ध नेपाल’, बाराका अभिषेक ओझाको ‘के छैन नेपालमा’, पोखराका कमलराज ढुङ्गानाको ‘भानु सम्झनामा’, खोटाङका मुकुन्दकृष्ण थापाको ‘आहृवान’, पाल्पाका जनक कार्कीको ‘कागज’, पवर्तका लक्ष्मीदेवी पौडेलको ‘प्रिय कविको सम्झनामा’, रुपन्देहीका शिव खनालको ‘उज्यालोको कथा’, कास्कीका संयोग बस्यालको ‘युवा आहृवान’ र कास्कीकै मदन घिमिरेको ‘मैले देखेको देश’ कविता प्रतियोगिताका लागि छनोट भएका थिए ।
प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्धितीय हुनेलाई १५ हजार, तृतीय हुनेलाई दश हजार र सान्त्वना हुने दुइ जनालाई जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिने भएको छ । भानु जन्मस्थल चुँदीरम्घामा सुस्ताएको साहित्यिक कार्यक्रम यस वर्षभने भानुभक्तले नेपाली भाषा र साहित्य फाँटमा पुर्याएको योग्दानकै चर्चा गर्न तीन दिने कार्यक्रम गरिएको छ।
यस्तै, आदिकवि भानुभक्त आचार्यको नाम उचारण गरेपछि उनको जन्मस्थल चुँदी रम्घा सबैको मानस्पटलमा छाउँछ । वि.सं. १८७१ असार २९ गते पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा जन्मिएका भानुभक्तले नेपाली भाषा र साहित्यमा ठूलो योग्दान दिएका छन्। अध्यात्म-रामायणको भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण तथा भाषिक एकीकरण गरेका भानुभक्तको जन्मस्थल चुँदीरम्घा अहिले बत्तिमुनीको अध्यारो जस्तै बनेको छ ।
घाँसीको प्रेरणाबाट भानुभक्तले रामयणलाई नेपाली भाषामा अनुवाद गरी भाषिक एकिकरण गरेका थिए। यसरी नेपाल र नेपालीलाई भषिक एकतामा बाँधेका भानुभक्तको जन्मस्थल चुँदीरम्घा अहिले पहिचानको खोजीमा रुमलिन थालेको छ ।
त्यस्तै, लाथालिंग र नेतृत्वबिहीन बनेको आदिकवि भानुभक्त बिकास समितिले नेतृत्व पाएको छ । समिति बन्यो अब यो ठाउ्रको बिकासका लागि केही काम हुन्छ कि भन्ने आसा जगाएको स्थानीय उदयनाथ आचार्यले बताए। ‘केही वर्षेखि जन्मस्थलमा भानुजयन्तीलाई कर्मकाण्डी जस्तै गरी मनाउने गरिएपनि यस वर्षभने समितिले एक महिना अघिदेखि नै तयारी गरी तीन दिने साहित्यिक कार्यक्रम आयोजना गर्यो’, उनले भने, ‘अझ पछिका दिनमा पहिलेजस्तै हप्ता दशदिन अगाडिदेखि नै साहित्यिक कार्यक्रम गरी भानुभक्तले नेपाली भाषा र साहित्य फाँटमा पुर्याएको योग्दानको चर्चा गर्न सके भानुको योगदानको कदर हुने थियो ।’
भारत, म्यानमार लगायतका देशहरुमा भानुभक्तको ठुलो चर्चा भएपनि उनकै जन्मस्थल चुँदीरम्घा भने बत्ति मुनिको अध्याँरो जस्तो भएकोमा स्थानीय चिन्तित छन् । यस ठाउँको प्रवर्द्धन तथा आवश्यक भौतिक पूर्वधार निर्माण तथा संरक्षणमा नगरपालिकाले पनि उचित ध्यान दिन सकेको छैन ।
आदिकवि तथा नेपालको राष्ट्रिय विभूतिबाट समेत सम्मानित भानुभक्त रामायणकै कारण विश्वभरका नेपाली भाषीमाझ लोकप्रिय छन् । यीनै नेपाली भाषा र साहित्यफाँटका उज्जवल नक्षेत्र आदिकवि भानुभक्त आचार्यको जन्मस्थलो बिकासका लागि नेपाल सरकारद्वारा २०५२ मा गठनआदेश नै गराएर भानु जन्मस्थल विकास समिति स्थापना गरेको थियो । मुलुक संघीय संरचनामा गएपछि कुन सरकार अन्तरगत राखिने भन्ने विवादमै रुमलिएपनि नेपाल सरकारद्वारा गठनआदेश २०७७ जारी गरी अहिले संघ सरकार मातहत आदिकवि भानुभक्त विकास समिति रहेको छ ।
भानुभक्त र उनको जन्मस्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै चिनाउन र अन्य संरचनालाई निर्माण गरी साहित्यिक पर्यटकीय गन्तव्य स्थलका रुपमा विकास गर्न लक्ष्यका साथ नयाँ समिति गठन भएको समितिका कार्याकारी निर्देशक शंकर रानाभाटले बताए ।
शिखरकटेरीमा करिव ३ करोड रुपैयाँको लागतमा निर्माण भएको रामायण भवन पनि समिति माताहत आएको निर्देशक रानाभाटले बताए। उनले भने, ‘असार २४ गते रामायण भवन समितिको माताहात आउने वित्तिकै भत्किएका संरचनाको पनि मर्मत भइसकेको छ ।’ समिति आवश्यकता अनुसार कर्मचारी उपलब्ध नहुँदा पनि सोचे अनुसारको काम हुन नसकेको उनले बताए ।समितिमा एक कार्यकारी निर्देशक, एक कार्यालय सहयोगी र एक चौकीदार मात्र छन्। कार्मचारी नै कम हुनाले बनिसकेको संरचनाको पनि संरक्षण हुन नसकेको समितिको भनाई छ।
समितिलाई आर्थिक वर्ष२०७८/०७९का लागि संघ सरकारबाट १३ लाख चालु र ३० लाख पुँजिगत गरी ४३ लाख रुपैयाँ बजेट प्राप्त भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विनियोजित गरेको रु ३० लाखको लागतमा जन्मस्थल विकास समितिको कार्यालयमा पूर्वाधार निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा विनियोजन भएको उक्त बजेटबाट कार्यालय परिसरमा, ढुङ्गा छाप्ने, बाटो फराकिलो गर्ने काम भइरहेको समितिका कार्यकारी निर्देशक रानाभाटले बताए । उनका अनुसार यसअघि उजाडजस्तै रहेको कार्यालय भवनमा अहिले रङरोगनको काम पनि गरिएको छ ।
कार्यालय परिसरलाई आकर्षक बनाउन ढुङ्गा छाप्न लागिएको छ । त्यस्तै कार्यालयको सुरक्षाका लागि ‘कम्पाउण्ड’ निर्माणको काम पनि भइरहेको छ । केही वर्षपहिला मन्त्रालयले भानु जन्मस्थल विकास समितिलाई नगरपालिका मातहत राख्ने निर्णय गरेको थियो । नगरपालिका मातहत राखिँदा विकास समितिले सोचेअनुरुपको काम गर्न नसकेपछि पुनः संघीय सरकार मातहत नै समितिलाई राखिएको छ ।
यस्तै, वि.सं. २०५७ मा भानु जन्मस्थल विकास समितिको सहयोगमा यादव खरेलले ‘आदिकवि भानुभक्त’ नामक चलचित्र निर्माणका क्रममा बनाइएको घर वनमा लागेको डढेलोले वि.सं २०६१ जेठमा जलेपछि अहिले खण्डहर बनेको छ ।
साहित्यिक पर्यटकीयस्थलका रुपमा विकास गर्न र उक्त ठाउँलाई भानुग्राम बनाउने उद्देश्यले पश्मिाञ्चल बिकास मञ्च नामक संस्थाले गुरुयोजनासमेत बनाएको थियो । गुरुयोजन अनुसार दुइ तले भानुभक्तको घर निर्माण गर्ने भनिएको थियो तर त्यो बन्न सकेको छैन ।
१० रोपनी क्षेत्रफलमा फैलिएको जग्गाभित्र भानुभक्तको घरसहित पोखरी, फूलबारी, घरबास धर्मशाला, संग्रहालय, भ्युटावर, चौतारी, रामायण भवन, पुस्तकालय, चमेना गृह, पाले घर, शौचालय लगायतका पूर्वाधार निर्माण गर्ने भनिएपनि हाल रामायण भवन निर्माण बाहेक अन्य कुनैपनि काम अगाडि बढेको छैन।
यस्तै, भानु जन्मस्थल बिकासको आफ्नै लालपूर्जाको करिव १४ रोपनी जग्गामा भानु स्मृति पार्क निर्माणाधिन अवस्थामा छ। वि.स. २००९ सालदेखि भानुजयन्ती मनाउन थालिएको हो ।