तत्कालीन तनहुँ राज्यभित्र पर्ने चितवनका ऐतिहासिक सम्पदाहरू : ओझेलमा परेको गौरव खोज्दै
देव बस्न्यात

नेपालको इतिहासमा चौबीसे राज्यकाल राजनीतिक, सांस्कृतिक, धार्मिक तथा सामरिक दृष्टिले अत्यन्त महत्वपूर्ण मानिन्छ । वि.सं. १८३९ पूर्व अस्तित्वमा रहेका चौबीसे राज्यहरूमध्ये तनहुँ राज्य एक शक्तिशाली, समृद्ध र प्रभावशाली राज्यका रूपमा परिचित थियो। तत्कालीन तनहुँ राज्य जनसंख्या, भूगोल, आर्थिक स्रोत र सामरिक पहुँचका हिसाबले गोरखा राज्यभन्दा पनि सम्पन्न मानिन्थ्यो। यसको सीमाना अहिलेको तनहुँ, चितवन, नवलपुर हुँदै भारतको बिहारस्थित रामनगरसम्म फैलिएको थियो।
इतिहासका यिनै पदचाप पछ्याउँदै अहिले तनहुँ राज्यअन्तर्गत रहेका गढी, कोट, मठमन्दिर र धार्मिक–सांस्कृतिक सम्पदाको खोज, अध्ययन तथा संरक्षण अभियानको आवश्यकता अझ बढ्दै गएको छ। विगत केही वर्षदेखि तनहुँका क्यामिनकोट, गलेखामकोट, थप्रेककोट, मानहुँकोट र भूजिकोटलगायतका ऐतिहासिक स्थलहरूको भ्रमण र अध्ययन हुँदै आएको छ। यसै अभियानअन्तर्गत चितवनमा पर्ने उपरदाङगढी, चिसापानी गढी, परेवाकोट, सोमेश्वरगढी तथा कबिलासपुर गढीको अध्ययनले तत्कालीन तनहुँ राज्यको सामरिक र सांस्कृतिक स्वरूपलाई अझ स्पष्ट बनाउने अवसर दिएको छ।
यी सम्पदाको पहिचान, संरक्षण र प्रचारप्रसारमार्फत तनहुँ–चितवन क्षेत्रलाई ऐतिहासिक तथा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बनाउन सकिने सम्भावना प्रबल देखिन्छ । यही उद्देश्यसहित आगामी आर्थिक वर्षलाई æतनहुँ भ्रमण वर्षÆ घोषणा गर्ने सोचसमेत सकारात्मक कदमका रूपमा लिन सकिन्छ।
उपरदाङगढी : चितवनको पहाडी मुकुट
चितवन जिल्लाको पुरानो सदरमुकामका रूपमा परिचित उपरदाङगढी समुद्री सतहबाट करिब १०४० मिटर उचाइमा अवस्थित छ। भरतपुरदेखि शक्तिखोर हुँदै पुगिने यो गढी तत्कालीन तनहुँ राज्यको प्रशासनिक तथा सामरिक केन्द्रका रूपमा परिचित थियो।
गढीको अग्लो शिखरबाट उत्तरतर्फ हिमालका मनोरम दृश्य र दक्षिणतर्फ चितवनका विशाल फाँट, चारकोसे झाडी तथा चुरे पर्वतमालाको अवलोकन गर्न सकिन्छ। यस्ता प्राकृतिक विशेषताले गर्दा उपरदाङगढी तत्कालीन समयमा सैन्य रणनीतिका हिसाबले अत्यन्त उपयुक्त स्थान रहेको सहज अनुमान गर्न सकिन्छ।
इतिहासकारहरूको अनुमानअनुसार पाल्पाका चक्रवर्ती राजा मणिमुकुन्द सेनले आफ्नो विजय अभियानका क्रममा यस गढीको प्रारम्भिक निर्माण गराएका हुन्। पछि वि.सं. १६१० मा तनहुँका संस्थापक राजा भृङ्गी सेनले तनहुँलाई पाल्पाबाट स्वतन्त्र राज्य घोषणा गरेपछि चितवन क्षेत्रको प्रशासन यही गढीबाट सञ्चालन हुन थालेको थियो।
तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले आफ्ना भाइ विचित्र सेनलाई यहाँको प्रशासक नियुक्त गरेका थिए। तर, तनहुँ राज्यले ब्रिटिस इष्ट इण्डिया कम्पनीसँग मिलेर नेपाल सरकारविरुद्ध आक्रमण गर्ने तयारी गरिरहेको सूचना पाएपछि नायब बहादुर शाहले स्वरूपसिंह कार्की र अभिमान सिंह बस्न्यातको नेतृत्वमा सेना पठाएर वि.सं. १८४५ तिर उपरदाङगढी आफ्नो नियन्त्रणमा लिएका थिए।
गढीको सुरक्षा मजबुत बनाउन शत्रुभञ्जन शाहले चारैतिर खाल्डा खनाई अग्ला ढुंगे पर्खाल निर्माण गराएका थिए। पर्खालमा बन्दुक तथा तोप प्रहार गर्न मिल्ने प्वालहरू समेत बनाइएको पाइन्छ। वि.सं. २०१४ सम्म चितवनको सदरमुकाम यहीँ रहे पनि प्रशासन भरतपुर सरेपछि उपरदाङगढी क्रमशः ओझेलमा पर्दै गएको देखिन्छ। अहिले यहाँ सेनकालीन हतियार, तोप र अन्य सामग्री संरक्षण गरेर राखिएको पाइन्छ।
कबिलासपुर गढी : भग्नावशेषमा बाँचेको इतिहास
मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत दासढुंगाको पूर्वी भेगमा अवस्थित कबिलासपुर गढी समुद्री सतहबाट करिब ११८४ मिटर उचाइमा रहेको छ। अहिले पनि यहाँ सेनकालीन दरबारका भग्नावशेष भेटिन्छन्।
ढुंगा र माटोको प्रयोग गरेर निर्माण गरिएको गढीको पर्खाल अझै मजबुत अवस्थामा देखिन्छ। पर्खालमा शत्रुको गतिविधि निगरानी गर्न तथा बन्दुक प्रहार गर्न बनाइएका प्वालहरूले तत्कालीन सैन्य संरचना र सुरक्षा रणनीतिको झल्को दिन्छन्।
इतिहासका यस्ता भग्नावशेषले तत्कालीन तनहुँ राज्यको शक्ति, प्रविधि र प्रशासनिक व्यवस्थाको स्मरण गराउँछन्। तर, पर्याप्त संरक्षण नपाउँदा यो सम्पदा क्रमशः जीर्ण बन्दै गएको देखिन्छ।
परेवाकोट गढी : सानो आकार, ठूलो महत्व
चितवन जिल्लाका गढीहरूमध्ये परेवाकोट गढीलाई सबैभन्दा सानो मानिन्छ। यो गढी उपरदाङगढीको पश्चिमतर्फको शिखरमा अवस्थित छ। आकारमा सानो भए पनि यसको सामरिक महत्व निकै रहेको अनुमान गर्न सकिन्छ।
तत्कालीन समयमा गढीहरूको सञ्जाल निर्माण गरेर राज्यको सुरक्षा व्यवस्था सुदृढ बनाउने चलन थियो। परेवाकोट गढी पनि त्यही सुरक्षा सञ्जालको एउटा महत्वपूर्ण कडीका रूपमा रहेको देखिन्छ।
सोमेश्वरगढी : इतिहास, धर्म र प्रकृतिको त्रिवेणी
चितवनको माडी नगरपालिकास्थित चुरे पर्वतमालामा रहेको सोमेश्वरगढी ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिले अत्यन्त महत्वपूर्ण सम्पदा हो । विशाल पाल्पा राज्य विस्तार गर्ने अभियानका क्रममा राजा मणिमुकुन्द सेनले यो गढी निर्माण गराएको विश्वास गरिन्छ।
गढी परिसरमा सोमेश्वर कालिका र मुकुन्देश्वर महादेवका मन्दिर अवस्थित छन्। यहाँबाट माडी उपत्यका, राप्ती क्षेत्र तथा भारतीय सीमासम्म अवलोकन गर्न सकिन्छ। सामरिक हिसाबले यो स्थान निकै महत्वपूर्ण रहेको अनुमान गर्न सकिन्छ।
स्थानीय किंवदन्तीअनुसार यहाँ रहेका ढुंगे डुंगाबाट गुरौहरूले रिउ तथा राप्ती उपत्यकाको अवलोकन गर्थे। चैते दशैंमा यहाँ १५ दिनसम्म ठूलो मेला लाग्ने परम्परा अहिले पनि जीवित छ ।
माडी नगरपालिकाले यहाँ पुग्ने गोरेटो मार्ग, ढुंगामा कुँदिएका कलात्मक मूर्ति तथा अन्य संरचना निर्माण गरेर पर्यटन विकासमा चासो देखाएको छ। यद्यपि, दुर्गम भूगोल, सीमावर्ती असुरक्षा र पूर्वाधार अभावका कारण अपेक्षाअनुसार पर्यटन प्रवर्द्धन हुन सकेको छैन ।
नेपाल–भारत सीमाको नजिक रहेको यस क्षेत्रमा सुरक्षाको अनुभूति कमजोर हुँदा स्थानीयवासीले विभिन्न समस्या झेल्नुपरेको गुनासो सुनिन्छ। त्यसैले ऐतिहासिक सम्पदासँगै यहाँको सुरक्षा र पूर्वाधार विकासमा पनि राज्यको ध्यान पुग्न आवश्यक छ।
चिसापानी गढी र इच्छाकामना मन्दिर
चितवनको इच्छाकामना गाउँपालिकास्थित चिसापानी डाँडामा रहेको इच्छाकामना मन्दिर धार्मिक आस्थाको प्रमुख केन्द्र हो। समुद्री सतहबाट करिब १८०० मिटर उचाइमा रहेको यस स्थानबाट हिमाल, चितवन–नवलपुरका फाँट तथा महाभारत पर्वतमालाको मनोरम दृश्य देख्न सकिन्छ ।
स्थानीय किंवदन्तीअनुसार गाईभैंसी चराउन गएका मणिराज गुरुङले भैंसीले टेकेको स्थानबाट रगत र अर्को स्थानबाट दूध बगेको देखेपछि त्यहाँ भगवती र शिवलिङ्ग स्थापना गरिएको थियो। त्यसयता इच्छाकामना देवीप्रति जनविश्वास बढ्दै गएको मानिन्छ।
विशेषगरी सन्तान प्राप्तिको कामना गर्ने दम्पतीहरू यहाँ पूजा गर्न आउने परम्परा अहिले पनि कायम छ। भक्तपुरका भक्तजनहरूको विशेष श्रद्धा रहेको यो मन्दिर हाल पुनर्निर्माणको चरणमा छ।
यस क्षेत्रनजिकै रहेको पुरानो चिसापानी गढी पनि पाल्पाका राजा मणिमुकुन्द सेनले निर्माण गरेको हुन सक्ने अनुमान गरिन्छ। काठमाडौँ उपत्यकाबाट हुन सक्ने आक्रमणको निगरानी तथा प्रतिरक्षाका लागि यो गढी महत्वपूर्ण रहेको देखिन्छ।
संरक्षण र पर्यटन प्रवर्द्धनको आवश्यकता
वि.सं. २०१८ मा नेपाललाई ७५ जिल्लामा पुनर्संरचना गरेपछि तत्कालीन तनहुँ राज्यका ऐतिहासिक सम्पदाहरू विभिन्न जिल्लामा विभाजित भए। त्यसपछि धेरै गढी, कोट र धार्मिक स्थल क्रमशः राज्यको प्राथमिकताबाट बाहिरिँदै गए । आज ती सम्पदाहरू अतिक्रमण, उपेक्षा र विस्मृतिको जोखिममा छन्। कतिपय गढीका पर्खाल भत्किएका छन् भने कतिपय स्थानमा ऐतिहासिक संरचनाको नामोनिसान हराउने अवस्था सिर्जना भएको छ।
यदि यिनको व्यवस्थित संरक्षण, अनुसन्धान र प्रचारप्रसार गर्न सकिए तनहुँ–चितवन क्षेत्रलाई ऐतिहासिक पर्यटन सर्किटका रूपमा विकास गर्न सकिन्छ। यसले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनसँगै स्थानीय अर्थतन्त्रलाई समेत टेवा पु¥याउनेछ।
इतिहास केवल विगतको स्मृति मात्र होइन, भविष्य निर्माणको आधार पनि हो। उपरदाङगढीदेखि सोमेश्वरगढीसम्मका सम्पदाले तत्कालीन तनहुँ राज्यको गौरवशाली इतिहास बोकेका छन्। अब तिनको संरक्षण, अध्ययन र पर्यटन विकासमार्फत नयाँ पुस्तालाई इतिहाससँग जोड्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ।
हाम्रा ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण र संवद्र्धनका लागि राज्य, स्थानीय तह, इतिहासप्रेमी र समुदाय सबै मिलेर अघि बढ्नुपर्ने आवश्यकता टड्कारो रूपमा देखिएको छ। आज संरक्षण गर्न नसकिए भोलिका पुस्ताले इतिहासका यी अमूल्य धरोहर केवल पुस्तकका पानामा मात्र पढ्न बाध्य हुनेछन्। त्यसैले समयमै यस्ता सम्पदाको संरक्षण, पुनर्जीवन र प्रचारप्रसारमा जुट्नु आजको आवश्यकता हो ।










