पर्यटन प्रवर्द्धनका लागि बन्दिपुरमा मौलिक पराम्परागत घर संरक्षण
भञ्ज्याङ समाचारदाता/बन्दिपुर

तनहुँको पर्यटकीय नगरी तथा पहाडकी रानी उपनामले परिचित बन्दिपुर क्षेत्रमा रहेका मौलिक परम्परागत घर संरक्षण गर्न थालिएको छ। नमूना सहरको रूपमा ख्याती कमाएको यो क्षेत्रको परम्परा जोगाइ राख्न बन्दिपुर गाउँपालिकाले मौलिक घर संरक्षणलाई प्राथामिकता दिँदै आएको हो । आधुनिक घरले मौलिकता गुमाउने हुँदा त्यस्ता घर निर्माणमा प्रतिबन्ध लगाइ परम्परागत घरको जगेर्ना गर्न थालिएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए ।
परम्परागत घरमा काठका बुट्टा भएका झ्याल, ढोका, तथा बरण्डा, इँटा बाहिर देखिने प्यागोडा शैलीका घर बन्दिपुरको मुख्य आकर्षण हुन् । अठारौँ शताब्दीमा भक्तपुर र बनेपाबाट आएका नेवार समुदायले भक्तपुरे शैलीका घर र ढुङ्गा विच्छयाएको बाटो निर्माण गरेका थिए । यहाँ घर बनाउनेलाई सटर तथा च्यानलगेट राख्न र आल्मुनियमका झ्यालढोका राख्न प्रतिबन्ध लगाइएको अध्यक्ष थापाले बताए ।
सालको काठ महँगो पर्ने भएकोले सामुदायिक वनसँग सहकार्य गरी शुलभदरमा काठ खरिद गर्ने व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । परम्परागत तरिकाले घर बनाउन चाहनेलाई सामुदायिक वनबाट काठ खरिदका लागि गाउँपालिकाले पत्र लेखी पाँच गुणा सस्तोमा काठ खरिदको व्यवस्था मिलाइएको छ। च्यानलगेट राख्ने, सटर राख्नेजस्ता नियम विपरीत घर बनाउनेका नक्शापास रोकिदिने गरिएको छ ।
पर्यटकीयस्थल भएकोले मौलिक घरले व्यवसाय वृद्धि गर्न सहयोग पुग्ने हुँदा सहुलियत दरमा काठ खरिदको लागि व्यवस्था मिलाइएको हो । अध्यक्ष थापाले भने, ‘बन्दिपुरमा पर्यटकको आगमन बढेसँगै नयाँ घर बन्ने क्रम पनि बढ्दै गएको छ । बन्दिपुरबाट धौलागिरिदेखि अन्नपूर्ण, माछापुच्छ्र्रे, मनास्लु, बुद्ध, हिमालदेखि पूर्वका गणेश हिमाल, लाङ्टाङ हिमशृंखलाका आकर्षक चुचुरो सजिलै देखिन्छ ।’
प्रमुख आकर्षण मौलिक घरका अतिरिक्त विभिन्न जातजातिको कला, सस्कृति, ढुङ्गा विच्छयाइएका बाटा, विभिन्न मठमन्दिर, फराकिलो टुँडिखेल, शहीदपार्क, बाख्रा अनुसन्धान केन्द्र, रेशम खेती, प्याराग्लाइडिङ आदि हुन् । बन्दिपुरबाट आधाघण्टा ओरालोमा एशियाकै ठूलो मानिने सिद्ध गुफा अवलोकन, मर्स्याङ्दी नदीमा जलविहार, छाङ्दीमा क्यानोनिङ, चुनपहरामा चटयाङ आरोहण र मनोरम दृश्यले पर्यटक आकर्षित हुने गर्छन् ।
यहाँ करोडौंको लगानीमा ठूला ठूला रिर्र्सोट बन्ने क्रम बढिरहेको छ । काठमाडौं घर भई हाल बन्दिपुरमा पर्यटन व्यवसाय गरेका विकास श्रेष्ठले काठमाडौंबाटै आँखीझ्याल, बट्टे ढोका झिकाएर करिब रु १८ करोडको लगानीमा नयाँ रिर्र्सोट निर्माण गरी सञ्चालनमा ल्याइसकिएको बताए । बन्दिपुरको पहिचानको संरक्षणमा टेवा पुर्याउनका लागि महँगो भए पनि मौलिक घर बनाइएको उनले बताए ।
त्यस्तै, बन्दिपुरका पर्यटन तथा होटल व्यवसायीहरुले आफ्नो सेवा सुविधालाई पर्यटनमैत्री बनाउँदै लगेका छन् । पर्यटकलाई आकर्षित गर्ने बन्दिपुर क्षेत्रका धार्मिक, साँस्कृतिक, प्राकृतिक तथा ऐतिहाँसिक स्थलहरुको संरक्षण तथा प्रवर्द्धनमा पनि व्यवसायीहरु जुटेका छन् ।
‘एक गाउँ, एक कृषि पकेट क्षेत्र‘
यस्तै, गाउँपालिका कार्यालयले कृषि क्षेत्रमा प्रोत्साहन गर्ने उद्दश्यले ‘एक गाउँ, एक कृषि पकेट’ को घोषणा गरी विकास गर्न लागेको छ । व्यवसायिक कृषि उत्पादन केन्द्र पकेट विकास कार्यक्रमलाई क्रमशः बिस्तार गर्दै ‘एक गाउँ एक कृषि तथा पशु प्राविधिक’ नीति पारित गरेको छ । उत्पादित कृषि उपजलाई वडागत संकलन केन्द्र मार्फत बितरण प्रणालीमा सबल बनाई बिचौलियाको अन्त्य गर्ने योजना रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले बताए ।
प्रत्येक वडामा कृषि प्राविधिकको व्यवस्था गर्ने लक्ष्यका साथ कृषि उत्पादमा बृद्धि गर्न उचित मलखाद तथा रसायनिक मलको आपूर्तिलाई सहज बनाइने भएको छ । अर्गानिक कृषि उत्पादनमा जोड दिइनेछ । जसका लागि अर्गानिक उत्पादन गर्ने कृषकलाई उचित प्रोत्साहन गर्ने योजना अघि बढाइएको उनले बताए ।
कृषि बिमा तथा पशु बिमा कार्यक्रमलाई थप व्यवस्थित गर्न लागेको सो कार्यालयले जनाएको छ । कृषिमा आधुनिकीरण एवं व्यवसायिक करणका लागि कृषक एवं कृषि प्राविधिकलाई आवश्यक तालिम प्रदान गरिने गाउँपालिकाले नीति बनाएको भट्टले बताए । किसानलाई उन्नत किसिमको बीउ, बिजन र प्रविधि हस्तान्तरण गरिनेछ । उनले भने ‘रैथाने बाली प्रबर्द्धन कार्यक्रम बाली विकास कार्यक्रमलाई निरन्तरता दिइनेछ ।’
कृषि उत्पादनको बिस्तार एवं बजारीकरणको लागि कृषि उपज संकलनको उचित व्यवस्था गरी उत्कृष्ट कृषक पुरस्कार स्थापना गर्ने लक्ष्य गाउँपालिकाको रहेको छ । गाउँपालिका भित्रका कृषकहरुको तथ्याङ्क एकीकृत गर्न किसानको सूचीकरण कार्यक्रम तथा कृषि पशुपंक्षी तथा मत्स्य तथ्याङ्क अध्यावधिक कार्यक्रमलाई समेत निरन्तरता दिइनेछ ।
पशुको नश्ल सुधारका लागि नयाँ प्राविधिको विकास र प्रयोग गर्दै आगामी आर्थिक बर्षमा ६ नं. वडालाई बाख्रा पकेट क्षेत्र घोषणाको साथै अन्य वडामा पनि बिस्तार गरी नयाँ किसान उत्पादन गर्ने लक्ष्य राखेको छ । गाउँपालिकाले दुग्ध उत्पादनलाई प्रोत्साहन गरी सहकारी मार्फत संकलित दुधमा प्रतिलिटर एक रुपैयाँ ५० पैसाका दरले उत्पादनमा आधारित अनुदान दिने व्यवस्था गरेको छ ।










