प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति भएपछि जग्गा अभावमा संरचना निर्माणमा समस्या

दमौली : सदरमुकाम दमौलीमा अवस्थित प्रदेश अस्पताल ५० शय्यामा स्तरोन्नति भएपछि जग्गा अभावमा संरचना निर्माणमा समस्या भएको छ ।
गण्डकी प्रदेश सरकारको गत जेठमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको थियो । अस्पताल ५० शय्यामा स्तरोन्नति भए पनि संरचना निर्माणमा जग्गा अभाव भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा विश्वबन्धु बगालेले जानकारी दिनुभयो ।
डा बगालेले ५० शय्यामा स्तरोन्नति भएसँगै अस्पतालमा आठ विशेषज्ञ चिकित्सकको दरबन्दी स्वीकृत भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विगतमा १५ शय्याको अस्पताल हुँदा विशेषज्ञ डाक्टरको परिकल्पना गरिएको थिएन, ५० शय्यामा स्तरोन्नति भएपछि विशेषज्ञ डाक्टरको दरबन्दी कायम भएको छ, त्यो कुनै न कुनै दिन परिपूर्ति हुनेछ ।” डा बगालेले गण्डकी प्रदेशमा १०० विशेषज्ञ चिकित्सक थप्ने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, “नर्सिङ स्टाफ पनि १०० भन्दाबढी दरबन्दी थपिएको छ, फार्मेसी र ल्याबको पनि दरबन्दी थपिएको छ ।”
सात–आठ वर्षदेखि हुन नसकेको निर्णय वर्तमान सरकारले गरेको भन्दै उहाँले थप्नुभयो, “पचास शय्यामा स्तरोन्नति भएको यो काम अब घट्ने कुरा भएन, पेचिलो काम थियो, तर हामीले टुङ्ग्याएका छौँ, पद दर्ताको काम अन्तिम चरणमा पुगिसकेको छ ।” जेठको अन्तिम ताका भएकाले यो वर्ष बजेट विनियोजन गर्न नसकिएको बताउँदै डा बगालेले भन्नुभयो, “चाँडै गर्न पाएको भए यसै वर्ष विज्ञापन खुलाएर नियुक्ति गर्ने प्रक्रिया अगाडि बढिसक्थ्यो ।”
गत वर्ष नै विस्तृत परियोजना प्रतिवेदन टुङ्गिएको भए केही न बजेट व्यवस्थापन गरेर निर्माणको प्रक्रियामा जानसक्ने उहाँले जानकारी दिनुभयो । अस्पतालका नाममा थप जग्गा व्यवस्थापन हुन सकेका खण्डमा भवन निर्माण गर्न बजेट व्यवस्थापनका लागि सहज हुने उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, “कागजी हिसाबमा अस्पतालको जग्गा छैन, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालय हुँदा विस्तृत परियोजना प्रतिवेदन भए पनि त्यो अपूर्ण भएकाले टुङ्गिएको छैन ।”
पृथ्वीराजमार्गमा रहेको र सेवाग्राहीको चाप बढी भएका कारण दमौली अस्पतालको स्तरोन्नतिको कामलाई सरकारले प्राथमिकतामा राखेको उहाँको भनाइ छ ।
विसं २०३४ मा स्वास्थ्यचौकीका रुपमा स्थापना र विसं २०५५ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्तरोन्नति भएको यो अस्पताल विसं २०५९ मा अस्पतालका रुपमा स्तरोन्नति भएको थियो ।
अस्पतालमा फोहर पानीको व्यवस्थापन, फोहरमैला व्यवस्थापनका लागि अटोक्लेप्ससहितको भवन निर्माण, आँखा विशेषज्ञसहितको सेवा सञ्चालन, अत्यधुनिक दाँत सेवा, यनेस्थेसिया सेवा, भेन्टिलेटरसहित आइसियु कक्ष, अत्याधुनिक ल्याब सेवा, डिजिटल एक्स–रे, निःशुल्क औषधि कक्षलगायत सेवा विस्तार भइसकेको छ । साथै शव राख्नका लागि दुई तह भएका दुई मर्चरी चेम्बरको पनि अस्पतालमा व्यवस्था गरिएको छ ।
अस्पतालले आकस्मिक सेवा, फार्मेसी, एआरटी, ल्याब्रोटोरी, दन्त, आँखा सेवाका अतिरिक्त मानसिक उपचार र डायलासिस सेवासमेत प्रदान गर्दै आइरहेको अस्पताल प्रमुख डा परिवर्तन बरालले जानकारी दिनुभयो ।
यहाँबाट प्रदान गरिने सेवालाई सहज बनाउन विभिन्न विशेषज्ञ चिकित्सक थप भएको अस्पतालका प्रमुख डा बरालले बताउनुभयो । उहाँका अनुसार हाडजोर्नी तथा नशारोग विशेषज्ञ, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ, पेट, मुटु तथा छातीरोग विशेषज्ञ (फिजिसियन), बालरोग विशेषज्ञ थप गरिएको छ ।
विशेषज्ञ सेवा लिनका लागि यसअघि पोखरा, भरतपुर, काठमाडाँै जानुपर्ने बाध्यता रहेकामा दमौली तथा आसपासका सर्वसाधारणले दमौली अस्पतालबाट उक्त सेवा लिनसक्ने बरालको भनाइ छ । अस्पतालमा प्रत्येक मङ्गलबार र बिहीबार रेडियोलोजिष्ट सेवासमेत प्रदान भइरहेको छ । अस्पतालले आव २०८१/८२ मा एक लाख सात हजार ९८३ जनालाई सेवा दिएको थियो ।
त्यस्तै, आव २०८०/८१ मा ९८ हजार ३५६ जनाले सेवा लिएका थिए । आव २०७९/८० मा अस्पतालले ७३ हजार २५३ लाई सेवा दिएको थियो । आव २०७८/७९ मा ६४ हजार ५९४ लाई सेवा दिएको थियो ।
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker