१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजना : पछिल्लो अवस्थाको फोटोफिचर र प्रगति विवरण

नारायण खड्का/भञ्ज्याङ

तनहुँको ऋषिङ गाउँपालिका-१ काहुँशिवपुरमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको समग्र भौतिक प्रगति ४३ प्रतिशत भएको छ । प्याकेज १, प्याकेज २ र प्याकेज ३ गरी ३ चरणमा वर्गीकरण गरी निर्माण कार्य हुँदै आएको आयोजनाको करिव ४०.२ प्रतिशत आर्थिक प्रगति भएको छ ।

आयोजनाको प्रबर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडले प्याकेज १ अन्तर्गतको बाँध फर्काउने, प्याकेज २ अन्तर्गतको भूमिगत विद्युतगृह निर्माण र प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माण कार्य गर्दै आएको छ ।

आयोजना प्रमुख राजाभाई सिल्पकारका अनुसार आयोजनाको प्याकेज १ अन्तर्गत बाँध निर्माणमा २४.१ प्रतिशत भौतिक र १४.५ प्रतिशत आर्थिक प्रगति, प्याकेज २ अन्तर्गत विद्युतगृह निर्माण, सुरुङ निर्माण लगायतमा ४४.४ प्रतिशत भौतिक र ३६.८४ प्रतिशत आर्थिक प्रगति भएको छ भने प्याकेज ३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ६९ प्रतिशत भौतिक प्रगति भएको छ ।

आयोजनाको प्याकेज १ अन्तर्गत नदी फर्काउने सुरुङ र ड्यामसाइडको बाँध निर्माणको कामलाई तीब्रता दिइएको छ ।

ड्यामसाइटको बाँध निर्माणका लागि ५४० मिटर भित्तो कटान गर्नुपर्नेमा अब २८० मिटर खन्न बाँकी रहेको छ । यो काम आगामी नोवेम्बरसम्म सक्ने गरी काम भइरहेको छ ।

आयोजना प्रमुख सिल्पकारका अनुसार नोवेम्बरसम्म डाइभर्सन टनेलको काम सकेपश्चात नदी डाइभर्ट गरी ड्यामको बाँध निर्माणका काम अगाडि बढाइने छ ।

विद्युत प्राधिकरणका निर्देशक एवं तनहुँ हाइड्रोपावर कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले १४० मेगावट क्षमताको भूमिगत विद्युतगृह निर्माणका लागि ड्यामसाइडमा करिब ४१७ हेक्टर क्षेत्रफल डुबानमा पर्ने हुँदा उक्त क्षेत्रफलमा पर्ने जमिनको मुआब्जाको विषय जटिल बनेको बताएका छन् ।

ड्याम निर्माणस्थलदेखि भिमादसम्म करिब २५ किलोमिटरको दुरी डुबानमा पर्ने हुँदा त्यस दुरीको खोला तथा त्यस आसपासका जग्गाजमिन, रुखको मुआब्जा वन कार्यालयलाई दिनुपर्ने व्यवस्था छ ।

२०७५ सालमा ड्यामसाइटको डुबान क्षेत्रको करिब ५२ करोड रुपैयाँ बराबरको मुआब्जा मूल्याङ्कन भएको छ भने प्रशारण लाईनको करिब ३० करोड रुपैयाँ मुआब्जा मूल्याङ्कन भएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताए ।

स्रोतको सिमितताका कारण सरकारलाई नै दिनुपर्ने क्षतिपूर्ति दिन नसकिएको र वनले पनि क्षतिपूर्ति वापतको रकम प्राप्त गर्न नसक्दा काम गर्ने वातावरण सहज बनाउन सकेको छैन ।

यस्तै, प्याकेज ३ अर्न्तर्गत ९४ वटा टावरका जग निर्माण गर्नुपर्नेमा ६९ वटा टावरका जग निर्माण, ३३ वटा टावर निर्माण र ९८८ मिटर तार बिस्तार गरिएको आयोजनाले जनाएको छ । टावर निर्माणका लागि पनि केही ठाउँमा जग्गा अधि ग्रहणको समस्या देखिएको प्रवन्ध संचालक श्रेष्ठले बताए ।

दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण हुनेछ । प्रसारण लाइन निर्माणका लागि कूल ९४ टावर निर्माण गरिनेछ ।

उनका अनुसार आयोजनाका सम्पूर्ण काम सन् २०२६ को अन्तिमसम्ममा सक्नुपर्ने भएपनि कोभिड-१९, प्याकेज-१ को पुनःठेक्का प्रक्रिया, मुआब्जा तथा विष्फोटक पदार्थको अभाव जस्ता विविध समस्याले केही समय लम्बिन सक्ने अवस्था देखिएको छ ।

तनहुँ जलविद्युत आयोजनाको ३ प्याकेज अन्तर्गत प्याकेज १ को १४० मिटर अग्लो ड्याम निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाम-कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसंगको ठेक्का सम्झौता सन् २०२१ मार्च ३ भएको थियो । सोङ दा-कालिका जेभीले अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउने कार्य गरिरहेको छ ।

आयोजनाको प्याकेज २ अन्तर्गत सुरुङ, विद्युतगृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कामको जिम्मेवारी सिनो हाइड्रोपावर लिमिटेडले सन् २०१८ अक्टुवर १ मा पाएको थियो ।

आयोजनाको प्याकेज ३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माणको ठेक्का भारतीय कम्पनी केइसीले सन् २०१८ डिसेम्बर २५ मा पाएको थियो ।

यस्तै, आयोजनाको समग्र निर्माण सन् २०२६ भित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याजसमेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले आठ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले आठ करोड ६० लाख डलर बेहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

तस्विर : नारायण खड्का/भञ्ज्याङ

आयोजनाको पछिल्लो प्रगति विवरण :

Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker