प्रधानमन्त्री रोजगार : बेरोजगारलाई काम
भञ्ज्याङ समाचारदाता/दमौली

तनहुँको म्याग्दे गाउँपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत बेरोजगारलाई काम दिएको छ । न्यूनतम १०० दिनको रोजगारी प्रदान गर्ने उद्देश्यसहित गाउँपालिकाले बेरोजगारलाई काम दिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कार्यक्रम अनुसार म्याग्दे गाउँपालिका-७ मा बाटो मर्मत, नाला निर्माण, पोखरी मर्मत लगायतका काममा बेरोजगारलाई रोजगारी प्रदान गरिएको गाउँपालिकाका रोजगार संयोजक पविन्द्र शाहीले जानकारी दिए । उनका अनुसार उक्त वडामा ८२ जनाले रोजगारी पाएका छन् ।
गाउँपालिकामा चालू आर्थिक वर्षमा २५१ जना बेरोजगार सूचीकृत भएका छन् । त्यसमध्ये १०१ जनालाई न्यूनतम १०० दिनको रोजगारी प्रदान गरिनेछ । म्याग्दे- ३, ४, ६ र ७ मा प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत रोजगारी दिइने उनले बताए । घरआँगनमै रोजगारी पाएपछि सहज भएको मयाग्दे गाउँपालिका-७ का दिपीका वाग्लेले बताइन् ।
“प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् नाला निर्माणको काम गरिरहेको छु,” उनले भनिन्, “काम खोज्दै अन्यत्र जानुपर्थ्यो, घर नजिकै काम पाएपछि सजिलो भयो ।” सोही वडाकी जुनमाया नेपालीले पुरानो मूलबाटो मर्मतको काम गरिरहेको बताउँदै रोजगार कार्यक्रमले कामको खोजी गर्दै हिँड्न नपरेको बताइन् । प्रधानमन्त्री रोजगार कार्यक्रममा दुइ वर्ष अगाडि श्रीमान् सहभागी भएको र गत वर्ष र यस वर्ष आफूले काम गरिरहेको सरिता कार्कीले बताए ।
कार्यक्रममार्फत उनीहरूले प्रतिदिन रु ५१७ का दरले न्यूनतम १०० दिनको काम पाएका छन् । गत वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत गाउँपालिकामा गारेटो बाटो निर्माण, चौतारा निर्माण, पैदलमार्ग, पोखरी मर्मत, खानेपानी आयोजना मर्मतलगायतका काम सम्पन्न भएको थियो ।
रोजगारीको हकसम्बन्धी ऐन २०७५ ले सबै नागरिकलाई रोजगारीको हक सुनिश्चित गरेको छ । मन्त्रालयले सार्वजनिक गरेको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत सूचीकृत हुने नागरिकले न्यूनतम १०० दिनको रोजगारी पाउन सक्नेछन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनका लागि सरकारले तनहुँ जिल्लालाई चालू आर्थिक वर्षमा रु साढे छ करोड बजेट विनियोजन गरेको छ । चालू आव ०७८/७९ मा उक्त कार्यक्रमका लागि सरकारले रु छ करोड ४२ लाख ६१ हजार विनियोजन गरेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आगामी आर्थिक वर्षका लागि जिल्लाका १० स्थानीय तहलाई बजेट विनियोजन गरेको छ ।
उक्त रकमले एक हजार ८४ बेरोजगार युवाले न्यूनतम १०० दिने रोजगारी प्राप्त गर्नेछन् । चार नगरपालिका र छ गाउँपालिकामा हालसम्म तीन हजार २३ जना युवा बेरोजगारका लागि सूचीकृत छन् । पारिश्रमिकमा आधारित आयोजना सञ्चालन गर्न सबैभन्दा बढी आँबुखैरेनी गाउँपालिकालाई रु एक करोड ६ लाख ४५ हजार विनियोजन गरिएको छ । गाउँपालिकामा सात सय सात बेरोजगार सूचीकृत छन् । उक्त रकमले एक सय ८४ जनालाई न्यूनतम एक सय दिनको रोजगारी दिइनेछ ।
सबैभन्दा कम रकम बन्दीपुर गाउँपालिकाले प्राप्त गरेको छ । मन्त्रालयले विनियोजन गरेको पारिश्रमिकमा आधारित आयोजना सञ्चालन गर्न सशर्त अनुदान रकममा बन्दीपुरलाई रु ४२ लाख ३५ हजार विनियोजन गरिएको छ । एक सय ५ बेरोजगार सूचीकृत गाउँपािलकाका ७३ जनाले रोजगारी पाउनेछन् ।
तीन सय ५५ बेरोजगार सूचीकृत भानु नगरपालिकालाई रु ६८ लाख ९७ हजार विनियोजन गरिएको छ । नगरपालिकाका एक सय १९ जनालाई रोजगारी दिइनेछ । व्यास नगरपालिकालाई रु ६६ लाख २० हजार विनियोजन गरिएको छ । तीन सय २९ बेरोजगार सूचीकृत भएकामा व्यासका एक सय १४ जनाले रोजगारी पाउनेछन् ।
शुक्लागण्डकी नगरपालिकालाई रु ४८ लाख ६४ हजार विनियोजन गरिएको छ । नगरपालिकामा एक सय ६४ बरोजगार सूचीकृत रहेकामा ८४ जनाले रोजगारी पाउनेछन् । भीमाद नगरपालिकालाई रु ५९ लाख २० हजार विनियोजन गरिएको छ । नगरपालिकामा दुइ ३५ सूचीकृत रहेकामा ९५ जनाले एक सय दिनको रोजगारी पाउनेछन् ।
देवघाट गाउँपालिकालाई रु ५४ लाख सात हजार विनियोजन गरिएको छ । दुइ सय १५ बेरोजगार सूचीकृत रहेकामा ९३ जनाले रोजगारी पाउनेछन् । म्याग्दे गाउँपालिकालाई रु ५८ लाख ७५ हजार विनियोजन गरिएको छ ।
म्याग्दे गाउँपालिकालाई रु ५८ लाख ७५ हजार विनियोजन गरिएको छ । दुइ सय ५१ सूचीकृत रहेकामा गाउँपालिकाका एक सय एक जनाले रोजगारी पाउनेछन् । ऋषिङ गाउँपालिकालाई रु ८६ लाख १३ हजार बजेट विनियोजन गरिएको छ ।
चार सय ८८ बेरोजगार सूचीकृत रहेकामा गाउँपालिकाका एक सय ३८ जनाले रोजगारी पाउनेछन् । घिरिङ गाउँपालिकालाई रु ५१ लाख ८५ हजार विनियोजन गरिएको छ । एक सय ६६ बेरोजगार सूचीकृत रहेकामा ८३ जनाले रोजगारी पाउनेछन् । रासस










