तनहुँको बन्दिपुर-१ का बाख्रा पालक कृषकलाई अनुदान
भञ्ज्याङ समाचारदाता/बन्दिपुर
तनहुँको बन्दिपुर गाउँपालिका-१ का बाख्रापालक कृषकलाई अनुदान रकम हस्तान्तरण गरिएको छ । व्यवसायीक रुपमा बाख्रा पालनमा कृषकहरुलाई आकर्षित गर्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगतको बाख्राको पकेट व्यवसायिक कृषि उत्पादन केन्द्र बाख्राको पकेट विकास कार्यक्रममा आवद्ध कृषकहरुलाई आइतबार वडा नं. १ नाहालामा एक कार्यक्रमको आयोजना गरी अनुदान रकम वितरण गरिएको हो ।
उक्त कार्यक्रम अन्तर्गत हरियाली कृषक समूहले संचालन गरेको बाख्राको पकेट योजनामा छनोट हुन सफल वडा नं. १ का ४१ जना कृषकलाई लागत सहभागिताको पचास प्रतिशत अनुदानको रकम गाउँपालिका अध्यक्ष पूर्णसिंह थापाले कृषकलाई हस्तान्तरण गरेका छन् ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तरगतको बाख्राको पकेट व्यवसायिक कृषि उत्पादन केन्द्रको रुपमा बिकास गर्न प्रति कृषक २० हजार रुपैयाँ अनुदान दिइएको गाउँपालिका अध्यक्ष थापाले बताए । उनले भने, ‘यहाँका कृषकहरुले बाख्रा पालिरहनु भएको छ । तर, राम्रो खोर नहुनाले विभिन्न समस्य आइरहेको हुँदा परियोजना अन्तरगत ५०/५० प्रतिशत लागत सहभागितामा खोर निर्माणका लागि रकम अनुदान उपलब्ध गराइएको हो ।’
गाउँपालिकाको प्राथमिकतामा पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य रहेको भन्दै अध्यक्ष थापाले भने, ‘कृषि तथा पशुपालनलाई पनि संगसंगै लग्न सकियो भने पर्यटकीय नगरी बन्दिपुरलाई एग्रो टुरिजमका रुपमा विकास गर्ने हाम्रो लक्ष्य छ ।’ समूहका कृषकहरुलाई आवश्यक सम्पूर्ण सहयोग गरी यस क्षेत्रलाई पाँच वर्षभित्र स्थानीय (खरी) तथा बोर जातका बाख्रा उत्पादनको केन्द्र बनाउने लक्ष्य लिएको बन्दिपुर-१ का वडाध्यक्ष भानुभक्त पोख्रेलले बताए । उनले भने, ‘बजारबाट ल्याउने दाना चोकर न्युनिकरण गर्नका लागि घाँसमा आधारित पशुपालन व्यवसायलाई प्रवर्द्धन गर्ने उद्देश्यले बाख्रा पालनक कृषकहरुलाई विभिन्न जातका ३० हजार विरुवा वितरण गरिसकेका छौं ।’
यस्तै, यस परियोजना मार्फत कृषिको आधुनिकरण, व्यवसायीकरण र कृषकलाई पैसासंग जोड्न मद्दत गर्ने गरी कार्यक्रम अगाडि बढाइएको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाका प्रमुख कुलप्रसाद अधिकारीले बताए । उनले भने, ‘यस क्षेत्रको हावापानी बाख्रा पालनको लागि उपयुक्त छ । युवाहरुलाई आवश्यक सहयोग गरी बाख्रा पालन व्यवसाय तर्फ आकर्षित गर्न सकियो भने आर्थिक उपार्जन मात्र होइन् बाख्राको पकेट क्षेत्रका रुपमा विकास गर्ने गरी कार्यक्रम अगाडि बढाइएको छ ।’
निर्वाहमुखी रुपमा बाख्रापालन गर्दै आएका कृषकहरुलाई व्यवसायिक रुपमा बाख्रापालन तर्फ आकर्षित गर्न गाउँपालिकाले उठाएको यो कदम उत्कृष्ट रहेका राष्ट्रिय बाख्रा अनुसन्धन केन्द्र बन्दिपुरका प्रमुख राजु कडेलले बताए । बाख्रा पालनका लागि आवश्यक पर्ने प्रशिक्षण, घाँस, औषधी उपचार तथा अन्य प्राविधिक सेवा उपलब्ध गराउन केन्द्र तयार गरेको र उपलब्ध सेवा उपभोग गरी युवाहरुलाई व्यवसायिक रुपमा बाख्रा पालन गर्न उनले आग्रह गरे ।
कृषकहरुलाई आर्थिक रुपमा सवल बनाउने उद्देश्यले समूह गठन गरी व्यवसायिक रुपमा बाख्रापालनतर्फ आकर्षित गरिएको कार्यक्रमका अध्यक्ष एंव हरियाली कृषक समूहका संयोजक कृष्णप्रसाद पन्थले बताए । ‘धेरै युवाहरु रोजगारीको सिलसिलामा विदेशीनु परेको छ र आफ्नो मेहनत अनुसारको आम्दानी हुन नसक्दा यहि फर्किएर बेरोजगार भएर बस्नुपरेको छ’, उनले भने, ‘सानो लगानी र थोरै मेहनतमै स्वदेशमै राम्रो आम्दानी हुन्छ भने उदाहरण दिनका लागि पनि हामी युवाहरु लागि परेका छौ । हाम्रो संस्थाले स्थानीय कृषकहरुलाई सरकार स्तरबाट उपलब्ध सुविधा उपभोग तथा कृषकको उपजलाई बजारी करण गर्ने गरी सहजिकरण गर्दै आएको छ ।’
यस्तै, बाख्राको बजारीकरणका लागि नाहालामा मण्डी तयार भैसकेको उनले बताए । उत्पादन भएका बाख्रालाई यहि मण्डिमा संकलन गरी बजारीकरणमा सहजिक गर्ने समेत आवश्यक तयार गरिएको छ । बाख्रापालनका लागि प्राप्त अनुदान तथा साहयोगले कृषकहरुलाई व्यवसायिक रुपमा बाख्रा पाल्न उत्प्रेणा मिलेको कृषक लक्ष्मी लामिछानेले बताइन् ।










