राजमार्ग विस्तार : सेती र मादीमा आकर्षक पुल निर्माण गरिने
भञ्ज्याङ समाचारदाता/दमौली

सरकारले पृथ्वी राजमार्ग विस्तारका क्रममा सेती र मादी नदीमा आकर्षक पुल निर्माण गर्न प्रक्रिया अघि बढाएको छ । चार लेनमा सडक विस्तार भइरहेकामा पुल पनि सोही चौडाइमा निर्माण गर्न लागिएको सडक विभागले जनाएको छ । मादी नदीमा चार लेनको नयाँ पुल बनाउन प्रक्रिया अघि बढिसकेको विभागका महानिर्देशक अर्जुनजंग थापाले बताए ।
उनका अनुसार हाल रहेको पुल पुरानो भइसकेको र आयु कम भएको छ । नयाँ निर्माण गर्दा आधुनिक प्रविधिसँगै हेर्दा आकर्षक पुल निर्माण गर्न लागिएको हो । यी दुइ स्थानमा पुल निर्माणका लागि दातृ निकाय -एशियाली विकास बैंक) बाट ‘नो अब्जेक्सन लेटर’ आइसकेको छ । उनले भने, ‘उताबाट स्वीकृति आएपछि काम सुरु गरिनेछ ।’
सो योजनाको अवधि आव २०८५/०८६ सम्म रहेको छ । ठेक्का अंकअनुसार योजनाको लागत रु १३ अर्ब ६२ करोड छ । मुग्लिन-पोखरा सडक योजना (पूर्वी खण्ड) अर्थात् आँबुखैरेनीबाट-जामुने भज्याङसम्मको निर्माणको ठेक्का चाइना कम्युनिकेशन कम्पनी लिमिटेडलाई दिइएको थियो । सो ठेक्काको सम्झौता विसं २०७८ वैशाख २ गते भएको थियो । कूल ४१ दशमलव ४५ किमीमध्ये एक दशमलव ५२ किमी सहरी क्षेत्र र गैरसहरी क्षेत्रमा ३९ दशमलव ९३ किमी छ । पहिलो ठेक्कामा वित्तीय प्रगति मोबिलाइजेसन पेश्कीसहित १५ प्रतिशत थियो । सो सडक चार लेनमा विस्तार गरिने भए पनि बजारमा थप दुइ लेन ‘सर्भिस लेन’ निर्माण गरिने सडक विभागले जनाएको छ ।
पश्चिम खण्ड (जामुने भज्याङदेखि पोखरा पृथ्वीचोकसम्म) निर्माणको ठेक्का चिनियाँ कम्पनी ‘एनहुइ केयुयन हाइवे एण्ड ब्रिज’ कम्पनी लिमिटेडलाई विसं २०७८ जेठ ३ गते दिइएको थियो । जम्मा ३८ दशमलव ८८ किमीमध्ये १८ दशमलव ५९ किमी सहरी क्षेत्र र २० दशमलव २९ किमी गैरसहरी क्षेत्र छ । सो खण्डमा एक दशमलव आठ किमी सडकमा माटो काटी सडक विस्तार गर्नुपर्नेछ । पर्यटकीय नगरी पोखरा जाने स्थानमा बन्न लागेका पुलले यहाँको सौन्दर्यता थप गर्ने अपेक्षा गरिएको छ । विभागले पछिल्ला वर्षशहरी क्षेत्रमा आकर्षक पुल निर्माण गर्दै आएको छ ।










