एमालेले एक वर्षमा गर्ने चार काम

पृथ्वीसुब्बा गुरुङ

दुइ महिने ‘मिसन ग्रासरुट अभियान’ले नेकपा एमालेभित्र देखिएको समस्याको पहिचान गरेको छ । पार्टीभित्र किन अराजकता बढ्दै गयो र चुनावमा अन्तर्घात भयो भन्ने पहिचान गरेको छ । अन्तरविरोधको कारण र प्रवृत्ति पत्ता लगाएको छ । ५०० पार्टी सदस्य भएको ठाउँमा २०० भोट कसरी आयो ? पार्टी सदस्यहरूले नै भोट नहाल्ने कसरी हुन्छ ? अभियानले यी र यस्ता समस्याको कारण पहिचान गरेको छ ।
एकप्रकारले मिसन ग्रासरुट अभियानले चुनावी समीक्षा गरेको छ । अभियानले पार्टी कमिटी र सदस्यहरूमा देखिएको समस्याको समीक्षा पनि गरेको छ । कमिटीहरूको वैधानिक बैठक नबसेको, चुनावको प्रचार नगरेको र वैचारिक काम नगरेकाले पार्टी सदस्यहरू अनुशासनहीन बनेको निष्कर्ष निकालेको छ । र, यसका पछाडि गुटबन्दी, ठेकेदारी या पार्टी सदस्यता वितरणलाई गम्भीर रूपमा नलिएकै देखिन्छ । अतः मिसन ग्रासरुट अभियानको सिकाइबाट आगामी एक वर्षभित्र एमालेले चार वटा मुख्य काम गर्नेछ ।

सदस्यता नवीकरण

पार्टी सुदृढीकरणको काम थालिसक्यौं । त्यो भनेको सदस्यता नवीकरण र नयाँ सदस्यता प्रदान हो । मिसन ग्रासरुट अभियानमा सुरु भएको सदस्यता नवीकरण असार मसान्तभित्र सक्छौं । पार्टी सुदृढीकरण गर्न सदस्यता नवीकरणलाई गम्भीरतापूर्वक लिनुपर्नेछ । अब हामी पार्टी सदस्यता नवीकरण गर्न वर्ष दिन कुर्दैनौं । सदस्यता नवीकरण १५ असारसम्म जिल्लाले प्रदेश कमिटीसम्म र असार मसान्तभित्र केन्द्रीय संगठन विभागमा आइपुग्ने गरी काम गर्र्छौं । यो क्रममा कतिलाई हटाउने र कतिलाई नवीकरण गर्ने भन्ने टुङ्गो लाग्नेछ । वामपन्थी पार्टीबाटै आएकाहरूको सदस्यता अद्यावधिक मात्रै गरे पुग्छ, तर गैरवामपन्थीहरूबाट प्रवेश गरेकालाई आवेदन भरेर केन्द्रमा पठाउनुपर्नेछ ।

नयाँ नेतृत्व चयन

अहिले हाम्रो कमिटीहरू कामै गर्न नसक्ने गरी भद्दा भए । प्रदेश कमिटी त चार/पाँच सय जनाको बन्यो । तीमध्ये आधा त मिसन ग्रासरुटमा सहभागी नै भएनन् । मिसन ग्रासरुट अभियानले पत्ता लगाएको यो अर्को रोग हो । यसलाई नयाँ नेतृत्व चयन गरेर हल गर्न सकिन्छ । यसअघि हामीले एकैदिन वडा, फेरि एकैपटक पालिका र एकैपटक जिल्ला अधिवेशन गरेका थियौं । त्यसरी अधिवेशन गर्दा कमिटी चयनमा ध्यान पुग्न सकेन ।
अधिवेशनमा पार्टी सदस्यले जनवादी -लोकतान्त्रिक) अधिकार प्रयोग गर्नै पाएनन् । प्रतिस्पर्धा गर्न चाहनेले उक्त अवसर नपाउँदा केही न केही समस्या ल्यायो । भन्नलाई त र्सवसम्मत नेतृत्व चयन भन्यौं, तर कमिटी हाँक्नै नसक्ने वा नजान्ने नेता चयन भए ।
त्यसैले संगठन सुदृढीकरणको अभियान अधिवेशनबाट सुरु हुन्छ । प्रतिस्पर्धा गर्न चाहनेले त्यस्तो अधिकार उपयोग गर्न पाउँछन् । प्रतिस्पर्धाबाटै नेतृत्व चयन हुन्छ । अब तलबाट माथि होइन, माथिबाट अधिवेशन सुरु हुन्छ । र मूलतः पार्टी हाँक्ने फौज भनेको प्रदेशभन्दा मुनिको कमिटी भएकाले प्रदेश अधिवेशनबाट संगठन सुदृढीकरण थाल्छौं । प्रदेश, जिल्ला, पालिका हुँदै वडासम्मको अधिवेशन गर्र्छौं ।
त्यही क्रममा पार्टी बैठक भनेको के हो र कसरी काम गर्छ भन्ने सीप कार्यकर्तालाई सिकाउँछौं । पार्टीभित्र अनुशासन कसरी कायम गर्नुपर्छ, जनवादी अधिकारको उपयोग कसरी गर्नुपर्छ भन्ने सिकाउँछौं । गतिशील र इमानदार पार्टी पंक्ति निर्माण गर्नु अधिवेशनको अर्को उद्देश्य हुनेछ ।

राजकीय र पार्टी सम्बन्ध

पार्टीको महत्वपूर्ण क्षेत्र संसदीय र राजकीय हो । पालिका, प्रदेश सभा र प्रतिनिधिसभामा निर्वाचित भएर गएका नेताहरू हुन् । हामी त्यसैमा केन्द्रित हुन्छौं । २०७४ को चुनावमा जितेको ७४ प्रतिशत ठाउँमा यसपटक हार्‍यौं । यसको पछाडि कारण त पक्कै छ । जनतासँग हाम्रो जनप्रतिनिधिको सम्बन्ध राम्रो भएन कि ? सेवा प्रवाह राम्रो भएन कि ? विकास र सुशासनको काम भएन कि ? त्यसैले जनताले विकल्प खोजे ।
त्यसैले अब ‘सुशासनमार्फत डेलिभरी, डेलिभरीमार्फ समृद्धि’ भन्ने नारा लिएर जनप्रतिनिधिलाई व्यवस्थित गर्नेमा ध्यान दिनेछौं । त्यसका लागि पार्टी र जनप्रतिनिधिबीचको अन्तरसम्बन्ध व्यवस्थित गर्ने हो । अहिले कतिपय ठाउँमा पार्टी र जनप्रतिनिधिको सम्बन्ध दुस्मन जस्तो, एकअर्काका विरोधी जस्तो छ । त्यसलाई समाधान गर्न निश्चित संयन्त्र बनाएर पार्टी र जनप्रतिनिधिबीचको सम्बन्ध सुधार गर्नेछौं ।

कार्यालय व्यवस्थापन

हाम्रा कतिपय पार्टी कार्यालय अस्तव्यस्त देखिए । जबकि संसदीय प्रणालीमा पार्टी कार्यालयको अर्थ महत्वपूर्ण हुन्छ । हामीले संगठन र जनताको काम कार्यालयबाटै गर्नपर्छ । जनजीविकासँग जोडिएका काम, विकास निर्माण र शान्ति सुव्यवस्थाका सवाल कार्यालयसँगै जोडिएका हुन्छन् । पार्टीको ‘र्‍याङ्क एण्ड फाइल’ चुस्तदुरुस्त राख्ने, पार्टी नेताहरूको कामको अनुगमन र संरक्षणको योजना कार्यालयबाट बनाउनुपर्छ । अभिलेख प्रणालीलाई व्यवस्थित बनाउने पनि कार्यालयबाटै हो । कार्यालय व्यवस्थित गरेर मात्रै पुग्दैन, नेता-कार्यकर्ता नियमित रूपमा कार्यालय जाने र जनताको काम गर्ने थलोका रूपमा विकास गर्ने हो । यो काम हामी एक वर्षभित्रै गरिसक्छौं ।

छोराछोरी अभियान

मिसन ग्रासरुट अभियानमा हामीले अरू पक्षको पनि अध्ययन गर्‍यौं । हामीले अभियानका क्रममा गरेका धेरै सम्मेलनमा १८ देखि ३५ वर्षसम्मका युवा कम देखिए । यसले पार्टर्ीीत्र जेनेरेसन ग्याप देखायो । भरतमोहन अधिकारीको निधनपछि पार्टीमा पहिलो पुस्ताका नेता नै हुनुहुन्न । अहिले झापा व्रि्रोह, कोके काल, भण्डाफोर अभियानदेखि २०४६ सालको आन्दोलनबाट आएकाहरू नेतृत्वमा छौं ।
अनि, २०५४ को जनप्रतिनिधि, २०६३ सालको आन्दोलन र २०७२ मा नाकाबन्दी विरुद्ध लडेकोसम्म देखिन्छौं । पार्टीमा रहेका यी पंक्तिमा तुलनात्मक गतिशीलता कमी हुँदै गएको छ । उमेरका हिसाबले थाक्दै र पुरानो हुँदै गएका छन् ।
तर अहिलेको चुनौती सामना गर्न पार्टीमा नयाँ पुस्ता आउनुपर्छ । त्यसो गरिएन भने पार्टी दुर्घटनामा जान सक्छ । त्यसैले ‘मिसन योङ र छोराछोरी’ अभियान सुरुवात गर्न लागेका छौं । अहिले पार्टी नेताकै छोराछोरी पार्टीमा छैनन् । बाबुआमा पार्टीको पदाधिकारी छन्, छोराछोरी अखिलमा छैनन्, युवा संघमा छैनन् । किन त्यस्तो हुनगयो ? पहिले पञ्चायतकालमा बाबुआमा पञ्च, छोराछोरी अखिल हुन्थे । अहिले के हुँदैछ ? यो गम्भीर कुरा हो । त्यसैले हामीले छोराछोरी अभियान चलाउने हो ।
यी दुवै अभियान भूगोललाई आधार बनाएर चलाउँछौं । मध्यपहाडी र हुलाकी लोकमार्ग भएर हाम्रो अभियान चल्नेछ । अहिले मध्यपहाडी लोकमार्गले धेरै संख्यामा जिल्लाहरू समेटेको छ । त्यस्तै, पूर्वपश्चिम राजमार्गदेखि तल र दशगजा भन्दा माथिको भूभाग हुलाकी लोकमार्गले समेटेको छ । त्यसैले यी दुइ अभियान हुलाकी र मध्यपहाडी लोकमार्गमा एकैपटक लैजान्छौं ।
अभियानले १८ देखि ३५ वर्षका युवा पार्टीमा ल्याउने हो । अहिले नै प्रदेश र केन्द्रीय कमिटीमा आउन नसक्ला, तर जिल्ला, पालिका र वडामा ३३ प्रतिशत युवाको सहभागिता सुनिश्चित गर्र्छौं । त्यति नगरी पार्टीले नवजीवन प्राप्त गर्न सक्दैन । नयाँ सफलता हासिल गर्न सक्दैनौं । अर्को क्षेत्र जनसंगठन हो । कुनै जाति, क्षेत्र, पेशाको मान्छे आकर्षित गर्न जनसंगठन चाहिएको हो । तर त्यस्ता कमिटी पनि पार्टीका नेताहरूले कब्जा गर्ने भइरहेको छ । नयाँ मान्छे कोही नआउने, पार्टीमा हारेका मान्छेहरू त्यहाँ बस्ने भइरहेको छ । त्यसैले पार्टी सदस्य नभएकाहरू जनसंगठनहरूमा ल्याउनुपर्छ । जनसंगठन एमाले कोरल्ने संगठन बनाइनुपर्छ । (कुराकानीमा आधारित)
Adertisement

सेयर गर्नुहोस्



प्रतिक्रिया दिनुहोस्



सम्बन्धित खवर

सम्बन्धित खवर

Leave a Reply

Your email address will not be published.

छुटाउनुभयो कि?

Close
Back to top button
You cannot copy content of this page.
Close

Ad Blocker Detect

Please consider supporting us by disabling your ad blocker