चट्याङले एक विद्यार्थीको मृत्यु

लमजुङको क्व्होलासोथार गाउँपालिका–४ भुजुङमा मंगलबार दिउँसो चट्याङ लागेर घाइते भएका ३ विद्यार्थीमध्ये एक जनाको मृत्यु भएको छ ।
हेलिकप्टरमार्फत पोखरा लगेर मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहेका अन्दाजी १७ वर्षीय विनोद विश्वकर्माको साँझ साँढे ५ बजेतिर मृत्यु भएको हो । उपचारस्थलमा रहेका क्व्होलासोथार गाउँपालिका अध्यक्ष प्रेमबहादुर घलेका अनुसार हेलिकप्टरबाट उपचारका लागि ल्याइएका ३ जनालाई तत्काल मणिपाल लगिएकोमा उपचार गर्दागर्दै मृत्यु भएको डाक्टरले घोषणा गरेका थिए ।
भुजुङस्थित त्रिभुवन विद्याश्रम माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत विश्वकर्मासँगै छविन्द्र गुरुङ र रेशबहादुर गुरुङ घाइते भएका थिए । विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर गुरुङका अनुसार मंगलबार दिउँसो सवा ३ बजेतिर परेको छट्याङले छात्राबासमा पढिरहेका विद्यार्थी घाइते भएका हुन् । उनीहरुलाई मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, गाउँपालिका अध्यक्ष घलेको सहयोगमा उपचारका लागि अस्पताल पुर्याइएपनि एक जनाको निधन भएको वडाअध्यक्ष खिमबहादुर गुरुङले बताए ।
उनीहरुलाई उपचारको लागि भुजुङबाट घलेगाउँसम्म जिपमार्फत लगेर घलेगाउँबाट हेलिकप्टरमार्फत पोखरा लगिएको थियो । चट्याङले छात्राबास भवनका साथै विद्यालय र छात्राबास नजिकैको इन्टरनेट डिभाइस र तारमा क्षति पुर्याएको छ ।