तनहुँमा उम्मेदवार मनोनयनपत्र दर्ता सुरु, तनहुँ-१ का लागि पूर्व गृहमन्त्री जोशीद्वारा उम्मेदवारी दर्ता
भञ्ज्याङ न्यूज

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फो उम्मेदवार मनोनयनपत्र दर्ता प्रक्रिया सुरु भएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि मुलुकका विभिन्न स्थानमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारहरूले मनोनयनपत्र दर्ता गर्न सुरु गरेका हुन् ।
उम्मेदवारी दर्ता अहिले बिहान १० बजे सुरु भइ अपराहृन ५ बजेसम्म सञ्चालन हुनेछ । मनोनयनपत्र दर्ता उम्मेदवार स्वयं उपस्थित भई वा प्रतिनिधिमार्फ गर्न पाइने व्यवस्था गरिएको आयोगले जनाएको छ ।
तनहुँका २ वटै निर्वाचन क्षेत्रमा पनि १० बजेबाट उम्मेदवारी मनोनयनपत्र दर्ता कार्य सुरु भएको छ ।
दमौली स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगि पूर्व गृहमन्त्री गोविन्दराज जोशीले तनहुँ-१ को प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गरेका छन् ।
जोशीको प्रस्तावकमा रामदेव पन्थ र समर्थकमा कृष्णप्रसाद सोती छन् । २०७४ को निर्वाचनमा पनि उम्मेदवारी दिएका जोशीको उम्मेदवारी रामचन्द्र पौडेलको उजुरीपछि निर्वाचन आयोगले खारेज गरेको थियो ।
यस्तै, नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी लगायत अन्य दल तथा स्वतन्त्रबाट पनि उम्मेदवारी मनोनयनपत्र दर्ता प्रक्रिया अगाडि बढाएका छन् ।










