“गणेशमानको आदर्श र सिद्धान्त भुल्नु हुँदैन”
भञ्ज्याङ समाचारदाता/दमौली

नेपालको प्रजातान्त्रिक आन्दोलनमा स्व गणेशमान सिंहको योगदान अतुलनीय रहेकामा जोड दिइएको छ । नेपाली कांग्रेसका संस्थापक नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व गणेशमानको १०८औँ जन्मजयन्तीका अवसरमा गणेशमान अध्ययन एवं स्मारक पार्क संरक्षण समितिले विहीबार दमौलीमा आयोजना गरेको कार्यक्रममा वक्ताहरुले स्व गणेशमानको योगदानलाई सधैँ सम्मान गर्नुपर्ने बताए
नेपाली कांग्रेसका नेता एवं संविधानसभा सदस्य रामचन्द्र पोखरेलले स्व सिंहको योगदानलाई कसैले पनि भुल्न नमिल्ने उल्लेख गर्दै स्व गणेशमानले देखाएको बाटो अवलम्बन गर्नुपर्नेमा जोड दिए । नेपाली कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले एकदलीय शासन व्यवस्थामा विश्वास गर्ने पार्टीलाई बहुदलीय प्रजातन्त्रमा ल्याउन गणेशमानको महत्वपूर्ण भूमिका रहेको चर्चा गरे ।
समितिका कार्यबाहक सभापति रामचन्द्र बस्नेत, सचिव समुद्र गोदार लगायतले गणेशमान सिंहको योगदानको चर्चा गरेका थिए । सोही अवसरमा व्यास नगरपालिका-२ मा रहेको गणेशमानको अर्धकदको शालिकामा पुष्प अर्पण गरिएको थियो ।










